प्रेमिल बन्यो पोखरा

प्रेमिल जोडीका लागि पोखराका लेकसाइड, सराङकोट, काहुँ धरहरा, पुम्दीकोट, रुपाकोट खास ठाउँ हुन्

फाल्गुन २, २०७९

अनिश भट्टराई

गण्डकी — झिलिमिली सडक, संगीतका सुमधुर धुन । उत्साहजनक भीड । कोही गुलाब बेच्न त कोही हातमा गुलाब लिएर मन्द मुस्कानसाथ हिँडिरहेका जोडी । अस्ताउँदो घामले फेवातालमा बिछ्याएको पहेंलो च्यादरलाई पृष्ठभूमिमा पारी अँगालिएर फोटो खिचिरहेका प्रेमीप्रेमिका । 

छचल्किरहेको ताल हेर्दै दुबोमा सुस्ताइरहेका देखिन्छन् कोही । सोमबार साँझ फेवा किनार पुग्दा वातावरण प्रेममय देखिन्थ्यो । 

यही परिवेशमा भ्यालेन्टाइन्स डे (प्रेम दिवस) मनाउन आसपासका मात्र होइन, काठमाडौं, चितवन, बुटवलसम्मका जोडी आइपुग्छन् पोखरा । फेवा किनारका रेस्टुरेन्ट, फुटट्र्याक, बार, क्लब भरिन्छन् प्रेमिल जोडीले । ठेलमठेल हुन्छ उपस्थिति । यिनैमध्येका एक हुन्, काठमाडौंबाट आएका केबल रिसाल । श्रीमती युकी पौडेलसँग २ दिन पोखरामा बस्ने योजना बनाएका छन् ३५ वर्षीय रिसालले । ‘दैनिक कामका कारण बाहिर गइराख्ने मौका मिल्दैन, यस्तै इभेन्ट्समा जाने हो । रिफ्रेस पनि हुने र सम्बन्ध पनि मजबुत हुने हुँदा इभेन्टहरूमा बाहिर गइराख्छौं,’ उनले भने । 

काठमाडौं बाहिर भ्यालेन्टाइन्स डे मनाउन रिसाललाई पोखरा सहज लाग्छ । रिसाल सडक महोत्सव तथा पोखराका अरू कार्यक्रमहरूमा पनि सकेसम्म पोखरा आइपुग्छन् । पोखरा आउँदा सबैभन्दा बढी उनले प्याराग्लाइडिङ गर्न रुचाउँछन् । डुंगा सयर गर्न पनि उनलाई कम्ता रमाइलो लाग्दैन । ‘कुनै ठाउँ गएर मात्र अनुभव हुँदैन, म आफैं डुंगा लिएर सयर गर्न मन पराउँछु,’ फेवा किनारमा भेटिएका उनले सुनाए । 

भ्यालेन्टाइन्स  जस्ता दिवसहरू सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्ने भएकाले उनी पोखरा आएका हुन् । कुनै उपहार दिनुले केही समयका लागि याद हुने भए पनि यस्ता दिवसमा कतै गएर घुम्दा सम्बन्धमा वर्षौं याद रहने उनको अनुभव छ । ‘क्षणिक याद रहनेभन्दा लामो समयसम्म याद रहने गरी घुम्न ठीक लाग्छ, घुम्नु भनेको याद रहिरहने उपहार हो भन्ने मान्छु,’ उनले थपे । रिसालले पोखरा घुम्न आउनका लागि पहिले नै कोठा बुक गरिसकेका थिए । 

पोखरामा विवाहित जोडीसँगै प्रेम जोडी धेरै देखिन्छन् । लेकसाइड, सराङकोट, काहुँ धरहरा, पुम्दीकोट, रूपाकोट उनीहरूका लागि खास ठाउँ हुन् । बाहिर खुलेर घुम्न निस्कँदा परिवारका सदस्यले देख्ने डरले उनीहरू भीड नहुने ठाउँ रुचाउँछन् । पोखराका नारायण बराल भ्यालेन्टाइन्स डेका दिन घुम्ने, खाजा खाने योजना बनाएका छन् । लेकसाइड, पामेजस्ता भीड हुने ठाउँभन्दा काहुँ धरहरा आफूलाई सहज लाग्ने गरेको उनले बताए । 

पोखराका मात्र होइन, अन्य स्थानका जोडीहरू पनि भ्यालेन्टाइन्स मनाउन आउँछन् यहाँ । जसका कारण लेकसाइडका होटल र रेस्टुरेन्ट व्यवसायी पनि उत्साहित छन् । भ्यालेन्टाइन्स डेका लागि पोखराका होटल, क्लब, रेस्टुरेन्टले ‘प्याकेज’ छुट पनि दिन लागेका छन् । कलाकारहरू निम्त्याएर जोडीका लागि सांगीतिक माहोल बनाउन लागिएको छ । डुंगा रेस्ट्रोले तृष्णा गुरुङको शो राखेको छ भने ट्रेजर लाउन्जले ‘द इलिमेन्ट्स ब्यान्ड’ को प्रस्तुति । भ्यालेन्टाइन साँझका लागि किंग्स लाउन्जमा राजु लामा, रोलिङ स्टोनमा नरेन लिम्बूलाई बोलाइएको छ । यस्तै पोखरामा ओपन हाउसले जोडीहरूका लागि ‘गिफ्ट ह्याम्पर’ दिने जनाएको छ । हालै खुलेको क्याट वाक क्लबले जोडीहरूका लागि निःशुल्क प्रवेशको अफर दिएको छ । 

पोखरा लेकसाइडस्थित होटल ल्यान्डमार्कका सञ्चालक राजु पाण्डेले भ्यालेन्टाइन्स डेका कारण व्यापार बढेको बताउँछन् । भ्यालेन्टाइन अघि होटलमा दैनिक १७/१८ कोठा बुकिङ हुने गरेकामा भ्यालेन्टाइनमा ७० वटा कोठा बुक भइसकेका छन् । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका उपाध्यक्ष विश्व पौडेल भ्यालेन्टाइनका दिन रेस्टुरेन्टमा अकुपेन्सी बढ्नेमा आशावादी छन् । ‘स्टार्टर, मेन कोर्स, डेसर्ट सबैमा आकर्षक प्याकेज छन्, अघिल्ला वर्ष कोरोनाले असर पुग्यो, अहिले राम्रो हुने देख्छु,’ उनले भने । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले यस वर्ष भ्यालेन्टाइन्स डेका लागि विदेशी पर्यटक धेरै नआएका भए पनि आन्तरिक पर्यटकले आशावादी रहेको बताए ।

युवा ग्यालरी

अनिश

Link copied successfully