गण्डकी — कुनै बेला ‘ब्यान्डहरूको सहर’ का रूपमा चिनिन्थ्यो पोखरा । आधुनिक नेपाली संगीत क्षेत्रमा पोखराकै ब्यान्डले सास भरेका थिए भन्दा फरक पर्दैन । नमस्ते, लेकाली, कन्दरा, नेपथ्यलगायत ब्यान्ड तिनैमध्येका हुन् ।
नेपाली ‘पप’ संगीतमा तीन दशकभन्दा लामो इतिहास बोकेको नमस्तेले पोखरामा झन्डै ९० गायक उपस्थित गराउने भएको छ । ३४ औं वार्षिकोत्सवका अवसरमा नमस्तेले फागुन ५ र ६ गते स्थानीयसँगै अन्य चर्चित ब्यान्डहरू ल्याएर महाशिवरात्रि विश्वसंगीत महोत्सव आयोजना गर्न लागेको हो ।
कोरोना र आर्थिक अवस्थाका कारण ३ वर्षपछि मात्र नमस्तेले महोत्सव गर्न लागेको हो । महोत्सवमा नमस्तेले मंगोलियन हार्ट, मुक्ति एन्ड रिभाइभल, लेकाली जस्ता ब्यान्डले प्रस्तुति दिनेछन् । अमेरिकाको पिजे एन्ड पिस जोएन्ट, वनशिवा मिनामी, मर्करी, तिब्बतको हिटा ब्यान्डको पनि प्रस्तुति रहने महोत्सवका संयोजक तथा नमस्ते ब्यान्डका ईश्वर गुरुङले बताए । त्यसका साथै, युवा पुस्तामाझ चर्चित सुगम पोखरेल, राजेशपायल राई, प्रताप दास, रवि ओड, सुजन चापागाईंलगायत गायकसँगै केही र्यापरको पनि उपस्थिति रहने जनाइएको छ । पछिल्लो समय ‘के लत बस्यो मलाई...’ गजलबाट चर्चा कमाएका तिलकसिंह पेला पनि महोत्सवमा आउने बताइएको छ । पेलालाई नमस्ते ब्यान्डले गजल विधामा सम्मान पनि गर्न लागेको छ ।
