काठमाडौँ — सन् १८०९ मा आजकै दिन (फेब्रुअरी १२) मा प्रसिद्ध वैज्ञानिक चार्ल्स डार्बिनको जन्म भएको थियो । डार्बिनले जैविक विकासवादको सिद्धान्त (थ्योरी अफ नेचुरल सेलेक्सन) प्रतिपादन गरेका थिए ।
डार्बिनको सिद्घान्तअनुसार जुन जीव प्रकृतिसँग संघर्ष गर्छ त्यो बाँच्नुका साथै आफ्नो सन्तति कायम राख्दै पृथ्वीमा रहिरहन्छ । तर जसले प्रकृतिसँग संघर्ष गर्न सक्दैन, लोप भएर जान्छ । खानाको प्रकृति र चराको चुच्चोको प्रकृतिमा समानताका आधारमा उनले क्रमिक विकासवादको सिद्घान्त प्रतिपादित गरेका हुन् । डार्विनको प्राणी विकासको सिद्धान्तलाई सबैभन्दा पहिलो र प्रामाणिक सिद्धान्त मानिन्छ ।
उनले सन् १८५९ मा डार्बिनले ‘ओरिजिन अफ स्पिसिज’ नामक पुस्तक प्रकाशित गरे, जसमा मानव जाति र प्रजातिको बिस्तृत वर्णन गरेका थिए । १८७० मा वैज्ञानिक समाजले डार्बिनको वैज्ञानिक आविश्कारलाई स्वीकार गरेपछि भने उनको सिद्धान्तको व्याख्या र ख्याति चुलियो । जीव विज्ञानका पिता डार्विनको १८८२ अप्रिल १९ का दिन ७४ वर्षको उमेरमा मृत्यु भएको हो ।
