काठमाडौँ — सन् १९९६ मा आजकै दिन (फेब्रुअरी १०) मा विश्व चेस च्याम्पियन ग्यारी कास्पारोभ र ‘डिप ब्लु’ कम्प्युटरबीच खेल सुरु भएको थियो । अमेरिकी कम्पनी आईबीएमले निर्माण गरेको ‘डिप ब्लु’ चेस खेल्ने कम्प्युटर हो । ६ सेटको खेल कास्पारोभले ४–२ ले जितेका थिए ।
त्यसको अर्को वर्ष भएको खेलमा भने उनी ‘डिप ब्लु’ सँग पराजित भएका थिए । १९९७ को मे ११ मा भएको खेलमा भने विश्व च्याम्पियन कास्पारोभले एकमात्र खेलमात्र जितेका थिए । ‘डिप ब्लु’ ले एक खेल जितेका थियो भने तीन खेल बराबरीमा टुंगिएका थिए । कैयौं दिनसम्म चलेको खेलका विषयमा विश्वका प्रमुख सञ्चारमाध्यमहरूले समाचार तथा रिपोर्टहरू प्रकाशन/प्रसारण गरेका थिए ।
आईबीएमको आरएस–६०००/एसपी कम्प्युटरमा एकअर्कासँग जोडिएका २ सय ५६ वटा प्रोसेसर प्रयोग गएिको थियो । र उक्त कम्प्युटरले चेस खेल्ने क्रममा २० करोडवटा विभिन्न चाल चल्ने जनाइएको थियो । अजरबैजानको बाकु (तत्कालीन सोभियत संघ) मा सन् १९६३ को अप्रिल १३ मा जन्मिएका ग्यारी कास्पारोभ १९८५ मा २२ वर्षको उमेरमा चेसको विश्व च्याम्पियन बनेका थिए । कास्पारोभ कम्प्युटरसँग पराजित हुने पहिलो विश्व च्याम्पियनसमेत हुन् ।
६ वर्षको उमेरबाट चेस खेल्न सुरु गरेका उनी १६ वर्षको उमेरमा सोभियत युनियनको च्याम्पियन बनेका थिए । उनले सन् १९७९ मा १६ वर्षको उमेरमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता जितेका थिए । उनी १९८० मा अन्तर्राष्ट्रिय ग्रान्डमास्टरसमेत भएका थिए ।
