आजकै दिन : बोइङ-७४७ को पहिलो उडान- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आजकै दिन : बोइङ-७४७ को पहिलो उडान

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९६९ मा आजकै दिन (फेब्रुअरी ९) मा बोइङ–७४७ ले आफ्नो पहिलो उडान गरेको थियो । अमेरिकी बहुराष्ट्रिय कम्पनी बोइङले ७४७ मोडलका विमान सन् १९६८ देखि उत्पादन गर्न थालेको हो । लामो यात्राका लागि भरपर्दो ठानिएका बोइङ–७४७ ‘वाइड बडी’ विमानहरू हुन् । यी विमानमा चारवटा इन्जिनहरू हुने गर्छन् । 

१९६८ को सेप्टेम्बर ३० मा निर्माण सकिएको बोइङ–७४७ ले १९७९ को फेब्रअरी ९ मा पहिलो उडान भरेको हो । उक्त विमान ३६६ जनाले यात्रा गर्न सक्ने गरी बनाइएको थियो । त्यसयता बोइङ कम्पनीले ७४७ का विभिन्न मोडलहरू निर्माण गरिसकेको छ ।

तीमध्ये १९८२ मा ७४७–३००, १९८९ मा ७४७–४०० र २०११ मा निर्माण गरिएका ७४७–८ मुख्य छन् । पछिल्लो समय डिजाइन गरेका विमानले भने ५ सयजना यात्रुसम्म बोक्न सक्ने जनाइएको छ । बोइङले अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका लागि ७४७–१०० मोडलका दुईवटा एयरक्राफ्ट निर्माण गरेका थियो । त्यसैगरी यसले अमेरिकी सेनाका लागि समेत विभिन्न सैन्य विमान बनाइसकेको छ ।

बोइङ कम्पनीले पछिल्लो समय यात्रुवाहक विमान, रोटरक्राफ्ट, रकेट, स्याटेलाइट्स, दूरसञ्चार उपकरण तथा क्षेप्यास्त्रहरूको डिजाइन, निर्माण तथा बिक्री गर्ने गर्छ । अमेरिकाको वासिङटनस्थित सियाटलमा विलियम बोइङले सन् १९१६ को जुलाईमा कम्पनीको स्थापना गरेका हुन् । कम्पनी पछि १९९७ को अगस्ट १ मा म्याकडोनेल्स डग्लससँग मर्ज भएको थियो ।

विश्वकै ठूलो यात्रुवाहक विमान भने ‘एयरबस ए–३८०’ हो । उक्त विमान सन् २००५ को जनवरी १८ निर्माण गरिएको थियो । ‘सुपरजम्बो’ नाम दिइएको विमान २००२ को जनवरीदेखि निर्माण सुरु गरिएको थियो । युरोपेली कम्पनीले बनाएको विमानले २००५ को अप्रिल २७ मा पहिलो उडान भरेको थियो । ‘एयरबस ए–३८०’ ले सामान्यतया ५ सय ७५ यात्रु बोक्ने गर्छ ।

एयरबसले योभन्दा करिब एक सय जना बढी यात्रु बोक्ने ‘ए ३८०–८००’ जहाज निर्माण गर्ने योजना अघि सारेको थियो । तर कुनै पनि एयरलाइन्सबाट अर्डर नपाएपछि भने कम्पनीले उक्त योजना स्थगित गरेको एरोटाइमले जनाएको छ । हालसम्म कुनै पनि निर्माण कम्पनीले एयरबस ए ३८० भन्दा ठूलो विमान बनाउने घोषणा गरिसकेका छैनन् ।

प्रकाशित : माघ २६, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्

आधारभूत विज्ञानको महत्त्व

सरसर्ती हेर्दा बुझ्नुभन्दा बदल्नु महत्त्वपूर्ण लागे पनि कुनै कुरालाई बदल्न त्यसलाई बुझ्न जरुरी हुन्छ । त्यसकारण बुझ्नु र बदल्नु अन्तरसम्बन्धित हुन्।
उत्तमबाबु श्रेष्ठ

१९८३ मे महिनाको एक दिन जीव रसायन वैज्ञानिक केरी म्युलिस आफ्नी केटी साथीसँग कार यात्रामा थिए । उनको हात होन्डा सिभिक कारको स्टेयरिङमा र आँखा क्यालिफोर्नियाको मनोरम भूदृश्य चिर्ने सडकमा भए पनि दिमाग भने प्रयोगशालामा थियो । त्यतिखेर उनी क्यालिफोर्नियामा रहेको सिटस कर्पोरेसन नामक जैविक प्रविधि सम्बन्धी अनुसन्धान गर्ने निजी कम्पनीमा काम गर्थे ।

उक्त कम्पनीको प्रयोगशालामा डीएनए (डिअक्सी राइबो न्युक्लिकएसिड) सम्बन्धी अनुसन्धान गर्नु केरीको प्रमुख जिम्मेवारी थियो, यद्यपि आणविक जीवविज्ञानमा उनको खासै पूर्वअनुभव थिएन । पृथ्वीको प्रत्येक जीवको शरीरमा पाइने सूक्ष्म अणु डीएनए त्यति बेला सबैको चासो र जिज्ञासाको विषय थियो । गाडी चलाउँदै सोचिरहँदा उनको दिमागमा डीएनएको सानो अंशबाट असंख्य डीएनएका प्रतिलिपिहरू निकाल्न सकिन्छ भन्ने विचार आयो । मानौं कुनै प्रलयकारी घटना घटेजसरी उनले गुडिरहेको गाडी रोके । र, केही लेख्न हतारिए । गाडीमा लेख्नका लागि खाम र पेन्सिल मात्रै भेटिए, उनले सोही खाममा उक्त नवीन विचारको टिपोट गरे ।

आफूले ‘पत्ता लगाएको’ उक्त विधि पछि प्रयोगशालाका सहकर्मीहरूलाई सुनाउँदा साथीहरूले अविश्वास गरे र उनी त्यसको प्रमाण जुटाउन लागे । आफ्नो विधिले कसरी काम गर्छ भन्ने देखाइएको अनुसन्धान लेख तयार पारे, जुन सुरुमा प्रसिद्घ वैज्ञानिक जर्नल ‘नेचर’ मा पठाइयो, तर रिजेक्ट भयो । त्यसपछि अर्को प्रतिष्ठित जर्नल ‘साइन्स’ मा । त्यसले पनि रिजेक्ट गरिदिएपछि अन्त्यमा सन् १९८७ मा ‘मेथड्स इन इन्जाइमोलोजी’ जर्नलमा प्रकाशित भयो ।

एउटा रासायनिक इन्जाइम (डीएनए पोलिमरेज) मार्फत डीएनएका दुई त्यान्द्रा (डबल हेलिक्स) लाई अलग्याएर त्यसको सानो अंशबाट असंख्य डीएनए बनाउन सकिने केरीको विधिलाई पोलिमरेज चेन रियाक्सन अर्थात् पीसीआर भनिन्छ, जसका लागि उनले सन् १९९३ को नोबेल पुरस्कार पाए । पछिल्लो समयमा पीसीआर विभिन्न वैज्ञानिक विधाका अनुसन्धानहरूमा प्रयोग गरिन्छ । कोभिड–१९ लागे–नलागेको पत्ता लगाउन संसारभर उक्त विधिको सर्वाधिक प्रयोग भयो । र, सर्वसाधारणको मुखमै झुन्डियो— पीसीआर टेस्ट ।

उत्सुकताले डोर्‍याउने अनुसन्धान

आफ्नो आत्मकथा ‘डान्सिङ नेकेड इन द माइन्ड फिल्ड’ मा केरी म्युलिसले डीएनए अनुसन्धानप्रतिको आफ्नो लगावका बारेमा लेखेका छन्, ‘संसारमा कैयौं बच्चाहरू आनुवंशिक त्रुटि बोकेर जन्मेका हुन्छन्, जसका कारण उनीहरू विकलांग हुने मात्रै होइन, मर्ने पनि गरेका छन् । डीएनएलाई पढ्न सकियो भने त्यस्ता आनुवंशिक त्रुटिहरूको अनुमान गर्न र तिनलाई रोक्न सकिन्छ ।’ जीवनको आधारभूत तत्त्व डीएनएनको संरचना बुझ्ने उत्सुकताले डोरिएका केरीले पीसीआर विधि भेटे, जसको प्रयोग हाल अपराध–अनुसन्धानदेखि औषधि निर्माणसम्म, कृषिको विकासदेखि उद्विकास खोजसम्म गरिन्छ ।

जीवन र जगत्को रहस्यलाई बुझ्ने उत्सुकताले डोर्‍याउने यस्ता वैज्ञानिक अनुसन्धानहरूलाई आधारभूत अनुसन्धान (बेसिक रिसर्च) भनिन्छ । परिवेश अनुसार, यसलाई उत्सुकता–अभिप्रेरित अनुसन्धान, ब्लुस्काई रिसर्च, विशुद्घ विज्ञान (पियोर साइन्स), आधारभूत विज्ञान आदि भनिन्छ । यसले जीवन र जगत्को जटिलता पहिल्याउने क्रममा नवीन ज्ञानको उत्पादन गर्छ । उपलब्ध ज्ञानमा विद्यमान रिक्तताबाट यस्ता अनुसन्धानहरूको सुरुआत हुने गर्छ । यस्ता अनुसन्धानहरूबाट उत्पादित ज्ञानहरूले समाजका तत्कालीन समस्याहरूलाई हल गर्न सक्ने वस्तु वा सेवाको उत्पादन गर्दैनन् अपितु थप प्रश्न खडा गर्छन् वा विधागत ज्ञानका क्षेत्रमा आमूल परिवर्तन गरिदिन्छन् । जस्तै— जीवको उत्पत्ति सम्बन्धी अनुसन्धान सृष्टिमाथिको ईश्वरीय देनको पुरानो मान्यतालाई भत्काएर नयाँ मान्यता स्थापित गर्न सफल भयो ।

जीवन र जगत्लाई बुझ्नेबाहेक यथास्थितिलाई बदल्ने अभिप्रायले पनि वैज्ञानिक अनुसन्धान गरिन्छ । समाजका समस्या र चुनौतीहरूको हल खोज्ने उद्देश्यले गरिने अनुसन्धानलाई व्यावहारिक अनुसन्धान (एप्लाइड रिसर्च) भनिन्छ । उदाहरणका लागि, कोरोना भाइरसको बनोट कस्तो हुन्छ; भ्याक्सिनले मानव शरीरमा कसरी काम गर्छजस्ता प्रश्नहरूबाट थालिने अनुसन्धान आधारभूत अनुसन्धान हो भने विभिन्न विधिबाट भ्याक्सिनको निर्माण गरिने अनुसन्धान व्यावहारिक अनुसन्धान । सरसर्ती हेर्दा बुझ्नुभन्दा बदल्नु महत्त्वपूर्ण लागे पनि कुनै कुरालाई बदल्न त्यसलाई बुझ्न जरुरी हुन्छ ।

कोरोना भाइरसको बनोट र त्यसले मानव शरीरका कोषसँग गर्ने अन्तरक्रियाका बारेमा थाहा नभएको भए यति छोटो समयमा कोभिडको भ्याक्सिन बनाउन असम्भव थियो । त्यसकारण बुझ्नु र बदल्नु अन्तरसम्बन्धित हुन् ।

छायामा आधारभूत विज्ञान

व्यावहारिक अनुसन्धानले उत्पादन गर्ने वस्तु वा सेवा शून्यबाट पलाउँदैन वा त्यसै आकाशबाट खस्दैन । आधारभूत अनुसन्धानले दशकौंदेखि उत्पादन गरेका ज्ञानको गठजोडबाट मात्रै व्यावहारिक विज्ञानले कुनै वस्तुको सफल उत्पादन गर्न सक्छ । उदाहरणका लागि, औद्योगिक क्रान्तिपछिकै सबैभन्दा सफल उपभोग्य वस्तुमा गनिने आईफोन २००७ जनवरी ९ मा एक समारोहबीच स्टिभ जब्सको खल्तीबाट फुत्त निस्कियो । आईफोनको उत्पादनले संसारभर चर्चा र प्रशंसा मात्रै कमाएन, त्यसले एप्पललाई विश्वकै नम्बर एक कम्पनी बनायो । तर आईफोन बनाउन प्रयोग गरिएका टचस्क्रिन, लिथियम ब्याट्री, इन्टरनेट, जीपीएस, सिरी लगायतका उपकरणहरू दशकौंदेखि विभिन्न विश्वविद्यालय र सरकारी अनुसन्धान संस्थाले गरेका अनुसन्धानका नतिजाहरूमा टेकेर बनेका थिए । टचस्क्रिनको आविष्कारका बारेमा एरिक जोन्सनले सन् १९६५ मा ‘इलेक्ट्रोनिक्स लेटर्स’ जर्नलमा लेख छपाएका थिए । इन्टरनेटको सुरुआत टिम वर्नर लीको नेतृत्वमा भएको थियो, जसका पछाडि सन् १९६० मा प्रतिपादित आधारभूत गणितमा आधारित प्याकेट स्विचिङ सिद्घान्तको हात थियो । त्यसै गरी लिथियम ब्याट्रीको आविष्कारको सुरुआत एक्जोन मोबाइल कम्पनीको प्रयोगशालामा भएको थियो ।

त्यसैले आईफोनमा प्रयोग गरिने टचस्क्रिन, लिथियम ब्याट्री, इन्टरनेट मात्र होइन; जीपीएसदेखि माइक्रोप्रोसेसर, माइक्रो हार्डड्राइभ र सिरीसम्मको उत्पादनमा आधारभूत विज्ञानको अभिन्न र महत्त्वपूर्ण हात छ । ‘साइन्टिफिक अमेरिकन’ मा प्रकाशित एउटा लेख अनुसार, एप्पलले आईफोनको पहिलो पेटेन्ट दर्ता गर्दा त्यसमा संलग्न फिचरहरूसँग अन्तरसम्बन्धित वैज्ञानिक लेखहरूको सञ्जाल केलाउने हो भने त्यो संख्या ४ लाख कट्छ । तर ती लेख आईफोनको चमकधमकमा कतै देखिएनन्, न त आईफोन चलाउने अधिकांशलाई तिनका बारेमा जानकारी नै छ । आईफोन मात्रै होइन, कोभिडकालमा पनि कोभिड भ्याक्सिन बनाउनेहरूलाई मात्र मानिसले हिरो ठाने; भाइरसको जिनोम सिक्वेन्स गर्नेहरू छायामा परे । त्यसकारण चमकधमक नहुने, चर्चा पनि नपाइने र आर्थिक फाइदा पनि त्यति नहुने आधारभूत अनुसन्धानप्रति विश्वभर रुचि कम हुँदै गएको पाइन्छ । त्यस्ता अनुसन्धानका लागि छुट्याइने बजेट पनि निरन्तर घट्दो छ । अनुसन्धान सहायता गर्ने संस्थाहरूले पनि आधारभूतभन्दा प्रयोगात्मक अनुसन्धानमा नै जोड दिएको पाइन्छ, जसका कारण आधारभूत अनुसन्धानको महत्त्व घट्दै गएको मात्रै होइन, समग्र विज्ञानको विहंगमता पनि साँघुरिएको छ ।

आधारभूत विज्ञानको महत्त्व

मानिस जन्मजात जिज्ञासु स्वभावको प्राणी हो । त्यही स्वभावका कारण मानिसले जन्मेदेखि मृत्युसम्म अनेकौं क्षमता, दक्षता, ज्ञान र सीप हासिल गर्छ । जबकि मानिसजस्तै अन्य स्तनधारी जनावरहरूले जन्मँदा हासिल गरेका दौडने, खाने, भाग्ने, बोल्नेबाहेक अन्य गुण मर्ने बेलासम्म पनि सिकेका हुँदैनन् । जिज्ञासु स्वभावकै कारण मानव प्रजातिले अभिनव (इनोभेसन) गर्न सक्यो र उद्विकासको छोटो समयमै सिंगो पृथ्वीकै सबैभन्दा प्रभावशाली प्रजाति बन्न सफल भयो । त्यसकारण उत्सुकताले डोर्‍याउने अनुसन्धान आविष्कारको जननी हो । नयाँ पुस्ताहरूमा मानवनिहित उत्सुक स्वभावलाई बचाइराख्न, नयाँनयाँ खोज र ज्ञान उत्पादन गर्न आधारभूत अनुसन्धान आवश्यक छ ।

दोस्रो, समाजको समस्या हल गर्न गरिने व्यावहारिक अनुसन्धानको आधारशिला आधारभूत अनुसन्धान भएकाले व्यावहारिक अनुसन्धानलाई सघाउन र अघि बढाउन पनि आधारभूत अनुसन्धानको निरन्तरता चाहिन्छ ।

तेस्रो, हामीले जीवन र जगत्को रहस्यलाई बुझ्न अझै धेरै बाँकी छ । मानिसले अहिलेसम्म उत्पादन गरेका ज्ञानहरू प्रकृति र जीवनको जटिलताको सामु छिपछिपे मात्रै छन् । हामीसँग उपलब्ध कतिपय विधि, उपकरण र पद्घति त्यसका लागि अपर्याप्त छन् । मानव सभ्यतालाई थप उचाइमा पुर्‍याउन चाहिने नवीन ज्ञानको उत्पादनका लागि पनि आधारभूत अनुसन्धान जरुरी छ ।

आधारभूत अनुसन्धानको यही महत्त्वलाई बुझेर नै राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले सन् २०२२ लाई ‘दिगो विकासका लागि आधारभूत विज्ञान वर्ष’ का रूपमा मनाउने घोषणा गरेको थियो, जसलाई राष्ट्रसंघको साधारणसभाले समेत अनुमोदन गरेको थियो । युनेस्कोले २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म संसारभर आधारभूत विज्ञानसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर आधारभूत विज्ञान वर्ष मनाउन विज्ञानसँग सम्बन्धित निजी सार्वजनिक संघसंस्था सबैलाई आह्वान गरेको छ । उक्त घोषणा र अनुमोदनबाट संसारका राष्ट्रहरूले सन् २०३० सम्म पूरा गर्ने भनेर राखेका दिगो विकासका १७ लक्ष्य हासिल गर्नका लागि आधारभूत विज्ञानको महत्त्व झल्कन्छ । नयाँ ज्ञान र प्रविधिको उपयोगबिना चरम गरिबी र भोकमरी उन्मूलन; शिशु मृत्युदरको न्यूनीकरण; रोग नियन्त्रण; खानेपानी, सरसफाइ र ऊर्जाको सुनिश्चितता; वातावरण संरक्षण र जलवायु परिवर्तनको प्रभावको सामनाजस्ता दिगो विकासका लक्ष्यहरू हासिल गर्न सकिन्न । त्यसैले त्यस्ता लक्ष्यप्राप्तिका लागि पनि आधारभूत वैज्ञानिक अनुसन्धानमा जोड दिन जरुरी छ ।

थुप्रै सामाजिक समस्या एवं सीमित स्रोत र साधन भएको हाम्रो जस्तो देशमा तत्कालै फाइदा हुने खालको नतिजा नदेखिने आधारभूत अनुसन्धानमा लगानी गर्नु भनेको महँगो र जोखिमयुक्त काम हो । तर पनि व्यावहारिक विज्ञानको उपलब्धि हासिल गर्न, नयाँ पुस्तामा विज्ञानप्रति उत्सुकता जगाइराख्न, भविष्यका लागि चाहिने ज्ञानको उत्पादन गर्न पनि आधारभूत विज्ञानमा सकेको लगानी गर्न जरुरी छ, जुन कुरा यहाँका राजनीतिक नेतृत्व, नीतिनिर्माता र वैज्ञानिक संस्थाका नेतृत्वहरूले बुझेको देखिँदैन । उनीहरू सबैको ध्येय आफ्नै पालामा सबैको ध्यान खिच्ने आकर्षक कामहरू गर्नमै छ । त्यसकारण केही हजार रुपैयाँका वैज्ञानिक अनुसन्धानहरूको प्रस्ताव माग्दा पनि ‘समाजलाई फाइदा हुने,’ ‘नीतिनिर्माणमा उपयोगी हुने’ जस्ता अनेक पदावली झुन्ड्याइएका पाइन्छन् ।

संसारभरका वैज्ञानिक एकेडेमीहरू आधारभूत विज्ञानको अनुसन्धान र प्रवर्द्धनमा विश्वविद्यालय लगायतका अनुसन्धान संस्थाहरूसँग मिलेर काम गरिरहेका हुन्छन् तर नेपालको विज्ञान तथा प्रविधि एकेडेमी नास्ट एकल रोबोट उत्पादन, इ–स्कुटरको प्रदर्शनी, विज्ञान सहरको परिकल्पना, जडीबुटी खेतीजस्ता पपुलिस्ट कुराहरू गरिरहेको हुन्छ । विज्ञान नबुझेका वा गैरवैज्ञानिक क्षेत्रका व्यक्ति वा संस्थाहरूबाट हुने–गरिने यस्ता कुराहरू स्वाभाविक लागे पनि विज्ञानको विकासका लागि जन्मिएका र राज्यको ठूलो स्रोत खर्च गरिरहेका संस्थाहरूबाट आधारभूत विज्ञानप्रतिको यो बेवास्ता उदेकलाग्दो छ । विश्वभर आधारभूत विज्ञान वर्ष मनाइरहँदा नेपालमा पनि यसको महत्त्वका बारेमा सबैले सोचून् ।

प्रकाशित : माघ २६, २०७९ ०७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×