बियोन्सेका फ्यानलाई टिकटकै चिन्ता- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बियोन्सेका फ्यानलाई टिकटकै चिन्ता

एजेन्सी

लस एन्जल्स — पप सुपरस्टार बियोन्से आगामी १० मेबाट विश्वव्यापी म्युजिकल टुर गर्दै छिन् । यसैक्रममा उनी सात वर्षपछि पहिलो पटक मे १७ मा यूकेको कार्डिफमा कार्यक्रम गर्दै छिन् ।

सन् २०१६ पछि आफ्नी सर्वप्रिय गायिकालाई नजिकैबाट हेर्दै गीतमा झुम्न चाहने दर्शकका लागि भने कार्यक्रमको टिकट टाउको दुखाइको विषय भएको छ । कारण, बियोन्सेका फ्यानहरूले कार्यक्रमको अग्रिम टिकट पाएका छैनन् । कार्यक्रमको टिकट बिक्रीको जिम्मा लिएको ‘टिकटमास्टर’ को वेबसाइटमा समस्या उत्पन्न भएको छ ।

टिकट लिन चाहने दर्शक, स्रोताहरूको अभूतपूर्व ट्राफिकका कारण वेबसाइटमा प्राविधिक समस्या देखापरेको जनाइएको छ । यद्यपि, कम्पनीले उत्तर अमेरिकाको टुरका लागि भने टिकट लिने प्रक्रियामा हेरफेर गरेको बीबीसीले उल्लेख गरेको छ ।

बियोन्सेले कार्डिफसँगै एडिनवर्ग, सन्डरल्यान्ड र लन्डनमा मे र जुनमा कार्यक्रम गर्दै छिन् । टिकटको माग बढेपछि लन्डनमा तीनवटा कार्यक्रम मंगलबार मात्र थपिएको जनाइएको छ । मे १० मा स्विडेन पुग्नै गायिकाले बेल्जियमको ब्रसेल्समा कार्यक्रम गरी यूके पुग्ने जनाइएको छ ।

मे २० मा उनले एडिनबर्गको मुरेफिल्डमा, मे २३ मा सन्डरल्यान्डको ‘स्टेडियम अफ लाइट’ मा र लन्डनको टोटनहाम हटस्पर स्टेडियममा मे २९ र ३० मा आफ्नो प्रस्तुति दिँदै छिन् । टिकट लिन चाहनेको संख्या निकै बढेपछि टोटनहाम हटस्पर स्टेडियममा जुन १, ३ र ४ मा गरी तीनवटा कार्यक्रम थपिएको हो । त्यसपछि उनले फ्रान्स, स्पेन, नेदरल्यान्ड्स, जर्मनी, पोल्यान्ड, क्यानडा र अमेरिकाका विभिन्न सहरमा कार्यक्रम गर्दै छिन् ।

‘रेनेसाँस’ नाम दिइएको कर्न्सटको टिकटको मूल्य ५६ देखि २५२ पाउन्ड स्टर्लिङ तोकिएको छ । भीआईपी प्याकेजका लागि भने कम्तीमा २ हजार ३ सय राखिएको छ । बिलबोर्ड म्यागेजिनले ५ महिने कार्यक्रमबाट वियोन्सेले २७ करोड ५० लाख अमेरिकी डलर कमाउने अनुमान गरेको छ ।

४१ वर्षीया गायिकाले सोमबार मात्रै सबैभन्दा धेरै ग्रामी अवार्ड जित्ने कीर्तिमान कायम गरेकी छन् । ६५ औं संस्करणको अवार्डमा बियोन्सेले ३२ औं ट्रफी उचाल्दै यस्तो रेकर्ड बनाएकी हुन् । ‘रेनेसाँस’ बाट उत्कृष्ट डान्स/ इलेक्ट्रोनिक एल्बमको विधामा यस वर्षको ग्रामी अवार्ड जितेसँगै उनले ३१ अवार्डको रेकर्ड बनाएका हंगेरियन–ब्रिटिस अर्केस्ट्रल जर्ज सल्टीको रेकर्ड २० वर्षपछि तोडेकी हुन् ।

‘म आज धेरै भावुक नहुने प्रयासमा छु,’ अवार्ड उचाल्दै गर्दा बियोन्सेले भनेकी छन् । ९ विधामा मनोनीत भएकी उनले ४ अवार्ड उचालिन् । ह्यारी स्टाइल्सले ह्यारिज हाउसबाट ‘एल्बम अफ दि इयर’ अवार्ड जिते । त्यस्तै, समायरा जोयले ‘बेस्ट न्यु आर्टिस्ट’, लिज्जोले ‘रेकर्ड अफ दि इयर’ जित्दा बोनी रेयटको ‘जस्ट लाइक द्याट’ सङ अफ दि इयर बन्यो ।

प्रकाशित : माघ २५, २०७९ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्

जापानी सेना सिंगापुरमा

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९४२ मा आजकै दिन (फेब्रुअरी ८) मा जापानले सिंगापुरमा आफ्ना सेना उतारेका थियो । त्यसपछिको एक साता लामो भीषण संघर्षपछि जापानी फौजले सिंगापुरलाई आफ्नो नियन्त्रणमा लिन सफल भएको थियो ।

फेब्रुअरी १५ मा बेलायतको नेतृत्वको सेनाले अन्ततः तोमोयुकी यमासिता कमान्डको जापानी सेनासमक्ष आत्मसमर्पण गरेको थियो । युद्धका क्रममा बेलायती सेनाको कमान्ड लेफ्टिनेन्ट जर्नेल आर्थर ई पर्सिभलले सम्हालेका थिए ।

पहिलो विश्वयुद्ध (१९१४–१९१८) को अन्त्यसँगै बेलायतले जापानी सेनाबाट खतरा महसुस गरेसँगै सिंगापुरमा प्रतिरक्षा निर्माण गर्न थालेको थियो । फलस्वरूप सेम्बावाङमा जलसेनाको सैन्य शिविरसमेत बनाइनुका साथै सम्भावित आक्रमण रोक्ने उद्देश्यले तटीय क्षेत्रमा भारी हतियारसहितका सेना तैनाथ गरिएको थियो ।

तत्कालीन समयमा सिंगापुरमाथि विजय हासिल गर्न सम्भव नभएको कतिपयको दाबीबीच पहिलो आक्रमणका रूपमा जापानी सेनाले सन् १९४१ को डिसेम्बर ८ मा जहाजबाट पहिलो बम खसालेको थियो । घटनामा ६१ जनाको ज्यान जानुका साथै करिब डेढ सय घाइते भएका थिए ।

पछि १९४२ को फेब्रुअरी ८ मा जापानले सिंगापुरको तटीय क्षेत्रमा गोलाबारी गरेपछि युद्ध सुरु भएको थियो । फेब्रुअरी १३ मा जापानले थप सैनिक सिंगापुरमा उतारेको थियो । यद्यपि, जापानका जम्मा ३५ हजार मात्र सैनिक थिए । तर पनि बेलायतको नेतृत्वका ८५ हजार सेनाले पराजय स्वीकार्दै आत्मसर्मपण गरेका हुन् । यो बेलायती नेतृत्वको सेनाले गरेको इतिहासकै सबैभन्दा ठूलो आत्मसमर्पण हो ।

पछि सन् १९४५ मा जापानी सेनाले आत्मसमर्पण गरेपछि सिंगापुर ब्रिटिस सैन्य प्रशासनलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि १९४६ देखि सिंगापुर ब्रिटिस उपनिवेशका रूपमा रह्यो । १९५९ मा आफ्नै सरकार गठन हुनुपर्ने आन्दोलनसँग गराइएको पहिलो चुनावमा ली कुआन यु प्रधानमन्त्री बनेका थिए । १९६३ मा मलाया, सिंगापुर, सरवाक र उत्तरी बोर्नियो (हालको सबह) मिलाएर मलेसिया बनेको थियो । तर उक्त एकीकरण असफल भएपछि १९६५ को अगस्ट ९ मा सिंगापुर स्वतन्त्र र सार्वभौम राष्ट्र बनेको हो ।

प्रकाशित : माघ २५, २०७९ ०६:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×