कलामा समर्पित परिवार

दीपक परियार

पोखरा — दुईतले घरको चोटा, कोठा, भर्‍याङ, भित्ताभरि सजाइएका एक्रेलिक र पानी रङका चित्र । कला सिर्जना गर्ने छुट्टै कोठा । पोखराको रानीपौवामा कलाकार बुद्धि गुरुङले आफ्नै घरलाई आर्ट ग्यालरी बनाएका छन् । ‘बुद्धिज् एटलियर’ मा उनका तीन छोरी ज्योति, कृति र हेमकान्ति चित्र कोरिरहेका भेटिन्छन् ।

कलामा समर्पित परिवार

स्थापित कलाकार गुरुङको पानी रङलाई चलाउने आफ्नै मौलिक शैली छ । पानी रङमा पातलो ब्रसको प्रयोग गरेर मसिनो प्याच चलाउने चिनियाँ र भारतीय शैली हो । गुरुङले मसिनो ब्रसले नै मोटो प्याच चलाउँछन्, जसलाई ‘बोल्ड प्याच’ भनिन्छ । यही ‘बोल्ड प्याच’ शैलीको अनुकरण तीन छोरीले गरेका छन् । रङको पारदर्शी प्रयोग, सन्तुलित रङ संयोजनको माध्यमबाट सशक्त प्रभाव उत्पन्न गर्न सक्ने खुबी यो शैलीमा देखिन्छ ।

कलाकार दुर्गा बराल ‘बात्स्यायन’ सँग चित्रकला सिकेका गुरुङले ०३६ बाट व्यावसायिक कलाकारिताको यात्रा सुरु गरे । पानी रङमा बढी खेल्ने बरालकै सिको गर्दै उनले आफ्नो कला यात्रा अघि बढाए । दुर्गा बराल, यादवचन्द्र भुर्तेल, कृष्णप्रसाद श्रेष्ठ, गोपाल श्रेष्ठ, बुद्धि गुरुङ, हरेराम जोजिजु, आलोक गुरुङलगायत कलाकारको प्रयासले पोखरा पानी रङको माध्यमबाट कला क्षेत्रमा चिनियो । पोखराले ‘पानी रङको पाठशाला’ को उपमा पायो ।

गुरुङले पोखराको नागढुंगामा कलाकार यादवचन्द्र भुर्तेलसँग मिलेर १५ वर्ष फाइन आर्ट ग्यालरी चलाए । त्यसपछि राजदुर जोशीसँग सहकार्य गरेर नागढुंगा कन्टेम्पोररी आर्ट ग्यालरी चलाए । ०४२ देखि एसओएस हर्मन माइनर स्कुलमा कला शिक्षक नियुक्त भए । कलाकारिताबाटै आर्जित रकमले ०५६ मा रानीपौवामा घर बनाएर बुद्धिज् एटलियर खोले । ‘अरू कलाकार पनि आवश्यक पर्दा यहाँ बसेर काम गर्न सकुन् भनेर एटलियर भनिएको हो,’ उनले भने, ‘यो कला सिक्ने थलो पनि हो ।’

उनी कला शिक्षक भएपछि तीन छोरी एसओएसमै पढे । विद्यालयमा बुबासँगै कलाकारिता सिके । कलाकार नै बन्ने अठोट भने घरको माहोलले बनायो । यादवचन्द्र भुर्तेल, गोपाल श्रेष्ठ, विश्वरत्न शाक्य आफ्नो घरमा आउजाउ गर्दा कलाका विषयमा हुने कुराकानी छोरीहरूले चाख मानेर सुन्ने गरेको गुरुङ सम्झन्छन् । ‘कलाकार बन्न वातावरण र संगत चाहिने रहेछ, जुन छोरीहरूले पाए,’ उनी भन्छन्, ‘मसँग आएका कलाकारसँगको सम्पर्क, संगतले छोरीहरूले पनि कलायात्रा सुरु गरे ।’

आमा हरिमायाको चाहनाले पनि तीन जनाले नै कलाकारिता अँगालेको कान्छी छोरी हेमकान्ति बताउँछिन् । तीन जना नै एउटै क्षेत्रमा स्थापित भएको हेर्ने इच्छा आमाको रहेको उनले सुनाइन् । ‘चित्र नकोरे पनि गहिरो गरी बुझ्ने र सुझाव दिने गर्नुहुन्छ,’ आमाबारे उनले भनिन्, ‘उहाँको प्रेरणाले पनि हामीले कलाकारितालाई निरन्तरता दिइरहेका छौं ।’ विभिन्न चित्रकला प्रतियोगितामा पुरस्कृत हुँदा व्यावसायिक कलाकारिता अँगाल्न थप बल पुगेको उनले सुनाइन् । बुबाले चित्रकलामा लाग्नुपर्छ भनेर कहिल्यै दबाब दिएनन् ।

बुद्धि गुरुङ आफ्ना छोरीहरूमा फरक–फरक खुबी देख्छन् । ठूली छोरी ३७ वर्षीया ज्योति आफ्नो अन्तर्मनको भावनालाई चित्रको माध्यमबाट अभिव्यक्त गर्छिन् । बिक्रीका लागि भनेर कहिल्यै चित्र बनाइनन् । ‘आफ्नो भित्री मनमा जे आउँछ त्यसलाई सिर्जनामा उतार्नु खास कलाकारिता हो,’ आफूतिर हेरेर बुबाले यसो भनेपछि ज्योति मख्ख भइन् ।

कलामा नयाँनयाँ प्रयोग गर्ने खुबी हेमकान्तिमा भएको गुरुङले बताए । ‘ऊसँग नेतृत्व गर्ने, निर्धक्क भएर बोल्ने खुबी पनि छ,’ एटलियर बसिरहेका तीन छोरीतिर फर्किएर उनले भने, ‘त्यसैले उसको चित्र अलि बढी बिक्छ ।’ हेमकान्तिको सोचलाई पूरा गर्न ज्योतिले मेरुदण्डको भूमिका खेलेको बुबाले बताइरहँदा तीन जनाले एकअर्कालाई हेरे । माइली छोरी कृति भने विवाह गरेर ६ वर्षअघि जापान पुगिन् । ३४ वर्षीया उनी अहिले बिदामा नेपाल आएकी छन् । पोखराका विद्यालयमा कला शिक्षकका रूपमा काम गरिरहेकै बेला उनले नेपाल छोड्नुपर्‍यो । जापान पुगे पनि कलाकारितालाई भने निरन्तरता दिइन् । नेपालमा हुने चित्रकला प्रदर्शनीमा आफ्ना सिर्जना पठाइन् । तीन दिदीबहिनीको सामूहिक चित्रकला प्रदर्शनी भने सिर्जनशील कलाकार समूहले ०६९ असोजमा गरेको थियो । पोखरामा भएको ‘थ्री सिस पानी रङ चित्रकला प्रदर्शनी’ ले उनीहरूलाई व्यावसायिक कलाकारका रूपमा स्थापित गर्‍यो ।

जापान हुँदा कृतिलाई सुत्केरी भएपछि मानसिक रूपमा अस्वस्थ हुने अवस्था ‘पोस्ट–पार्टम डिप्रेसन’ भयो । ‘छोरीलाई हेर्न सक्दिनँ कि, आफ्नो कारण उसलाई केही हुन्छ कि भनेर आत्तिएँ,’ तातेताते गर्दै एटलियरको कोठामा यताउता गरिरहेकी छोरीतिर हेरेर उनले भनिन्, ‘आत्महत्या गर्नेसम्मको सोच आयो ।’ श्रीमान्को सहयोगले छोरीलाई केयर सेन्टरमा राखेर उनी उपचारका लागि डेढ महिना मानसिक अस्पतालमा बसिन् । त्यतिबेला उक्त अवस्थाबाट निस्किन चित्रकलाले सहयोग पुर्‍यायो । ‘पहिला मैले पेन्टिङ गर्छु भन्दा डाक्टरले पत्याएनन्,’ मुहारमा खुसी ल्याउँदै उनले भनिन्, ‘पछि माछापुच्छ्रेको चित्र बनाएर डाक्टरलाई दिएँ । अहिले पनि अस्पतालमा त्यो चित्र झुन्डिरहेको छ । आफ्नो पोखरालाई प्रस्तुत गर्न पाउँदा खुसी लाग्यो ।’ अब जापानमै चित्रकला प्रदर्शनी गर्ने उनको इच्छा छ । ‘नेपालमै बसेको भए यिनीहरूभन्दा अगाडि पुग्थें,’ ठट्यौली पारामा उनले यसो भन्दा एटलियर हाँसोले गुञ्जियो ।

ज्योति र हेमकान्तिले पोखराकै विभिन्न विद्यालयमा कला शिक्षकका रूपमा काम गर्छन् । एटलियरमै पनि कला सिकाउँछन् । हेमकान्ति अन्तर्राष्ट्रिय जल रङ समाज (आईडब्ल्यूएस) ग्लोबलको नेपाल प्रतिनिधि हुन् । दुई जनाले फ्रान्स, युक्रेन, बुल्गेरिया, भियतनाम, पोल्यान्ड, बोलिभिया, टर्की, बंगलादेशलगायत देशमा भएका सामूहिक चित्रकला प्रदर्शनीमा आफ्ना चित्र पठाएका छन् । ३२ वर्षीया हेमकान्ति सन् २०१७ मा एकल चित्रकला प्रदर्शनी ‘यात्रा, द जर्नी’ मा प्रस्तुत भइन् । नेपालभित्रै सामूहिक चित्रकला प्रदर्शनीमा भने दुवै जना धेरैपल्ट सहभागी भएका छन् ।

छोरीहरूको चित्रमा मौलिक नेपालीपन हुने भएकाले विदेशमा छनोटमा पर्ने गरेको बुद्धि गुरुङको भनाइ छ । हिमाल, गाउँ, चिटिक्क परेका घर, गोठ, टौवा, बाटोलगायतका ल्यान्डस्केप शैलीको प्रभाव पोखराबाट देशभर फैलिएको उनी मान्छन् । ‘पानी रङमा यहाँको ल्यान्डस्केप चित्र नेपालको मौलिक पहिचान हो,’ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानअन्तर्गत परम्परागत शिल्पकला विभागका प्रमुख भइसकका ६६ वर्षीय उनी भन्छन्, ‘छोरीहरूले अन्तर्राष्ट्रिय प्रदर्शनीमा त्यसलाई निरन्तरता दिऊन् ।’

आईडब्ल्यूएस ग्लोबलको प्रतिनिधि भएपछि हेमकान्ति र ज्योतिले बुद्धिज् एटलियरसँगको सहकार्यमा चित्रकलालाई फेसनसँग जोडेर कार्यशाला गरे । ०७७ असारमा कार्यशालामा बनाइएका चित्र, फेसन डिजाइनर, नेल आर्ट, फेस पेन्ट, प्रतिस्थापन कला समेटेर ‘नो गट्स, नो स्टोरी’ कार्यक्रम गरे । गत वर्ष चैतमा पहिलो पोखरा अन्तर्राष्ट्रिय कला महोत्सव भयो ।

महोत्सवमा ३५ देशका कलाकारको चित्र प्रदर्शनीमा राखिएको थियो । अब अन्तर्राष्ट्रियस्तरको एकल चित्रकला प्रदर्शनी गर्ने लक्ष्य रहेको हेमकान्तिले सुनाइन् । बुबाको ‘बोल्ड प्याच’ शैलीलाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्ने तीन छोरीको धोको छ । भन्छन्, ‘बुबालाई मास्टर अफ बोल्ड प्याचका रूपमा स्थापित भएको हेर्ने हो ।’

प्रकाशित : माघ २७, २०७९ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?