काठमाडौँ — सन् १९९० मा आजकै दिन (फेब्रुअरी १३) नेल्सन मन्डेलाले विशाल र्यालीलाई सम्बोधन गरेका थिए । स्वेटोस्थित एफएनबी रंगशालमा आयोजित ‘वेलकम होम र्याली’ मा लाखौं समर्थकहरू सहभागी भएका थिए ।
२७ वर्ष लामो जेल जीवनपछि १९९० को फेब्रुअरी ११ मा जेलबाट रिहा भएपछिको यो मन्डेलाको पहिलो औपचारिक कार्यक्रम थियो ।
दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति मन्डेलाले उनले देशमा रंगभेदी शासन अन्त्य गर्न नेतृत्वदायी भूमिका खेलेका थिए । जसका कारण उनलाई सन् १९९३ मा नोबल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । मन्डेला १९१८ को जुलाई १८ मा दक्षिण अफ्रिकाको पूर्वी क्षेत्र मभेजोस्थित थेम्बु समुदायमा जन्मिएका थिए । कानुनको अध्ययनका क्रममा उनी अफ्रिकी नेसनल कंग्रेस (एएनसी) सँग आबद्ध भए र पछि अर्को साथीसँगै एएनसी युथ लिग स्थापना गरे ।
सन् १९६० मा एएनसीलाई बन्देज लगाइएपछि मन्डेला भूमिगत भए । रंगभेदी शासकविरुद्धको संघर्षका क्रममा १९६० को शार्पभिल्ल हत्याकान्डमा ६९ जनाको ज्यान गएपछि मन्डेलाले राज्यलाई आर्थिक रूपमा धराशायी बनाउने अभियान घोषणा गरे । त्यसपछि गिरफ्तारमा परेका उनलाई सरकार ढाल्न हिंसा र ध्वंसको सहारा लिएको अभियोग लगाइएको थियो । सन् १९६४ मा आजीवन कारावास पठाइएको थियो । एएनसीले सन् १९८० मा रंगभेदविरुद्धको अन्तर्राष्ट्रिय अभियान सुरु गर्यो । उक्त अभियानमा मन्डेलाको रिहाइलाई मुख्य मुद्दा बनाइएको थियो । अन्तर्राष्ट्रिय दबाब पनि बढ्दै गएपछि १९९० मा दक्षिण अफ्रिकाका राष्ट्रपतिले एएनसीविरुद्धको प्रतिबन्ध हटाएको घोषणा गरे र मन्डेलालाई रिहा गरियो ।
त्यसपछिको चुनावमा दक्षिण अफ्रिकाको इतिहासमै पहिलोपल्ट सबै जातिहरूले मतदान गर्न पाएका थिए र मन्डेला अत्यधिक मतसहित राष्ट्रपति निर्वाचित भए । सन् १९९९ मा राष्ट्रपतिको जिम्मेवारी छाडेयता मन्डेला दक्षिण अफ्रिकाका सबैभन्दा सम्मानित व्यक्तिका रूपमा थिए । देशको सक्रिय राजनीतिबाट अलग भएपछि पनि उनले द्वन्द्वग्रस्त देशहरू कंगो, बुरुन्डी, अफ्रिकाका अन्य देशमा शान्ति स्थापनाका लागि विभिन्न वार्तामा संलग्न थिए । उनको २०१३ को डिसेम्बर ५ मा निधन भएको हो ।
