माया दर्शाउन उपहार

फूल, चकलेट र टेड्डी सबैजसो युवायुवतीले मन पराउने गिफ्ट आइटम हुन्

फाल्गुन २, २०७९

बुनु थारु

काठमाडौँ — दुई वर्षयता प्रेम सम्बन्धमा छिन्, टीना शाही । भ्यालेन्टाइन सप्ताहका सातै दिन उनका लागि विशेष दिन हुन् । उनी आफ्नो गच्छेले भ्याएअनुसारको गिफ्ट किनेर प्रेमीलाई दिने गर्छिन् । यो पालि उनले कम्बो गिफ्ट मगाएकी छन्, जसमा विभिन्न गिफ्ट एकै बक्समा छन् । २३ वर्षीया टीना भन्छिन्, ‘उसलाई मनपर्ने चीजहरू मात्र समेटेर गिफ्ट तयार पार्न लगाएको छु । उसलाई मन पर्छ होला ।’

आज भ्यालेन्टाइन्स डे । अर्थात्, प्रेमको उत्सव । धेरैले आफ्ना प्रियजनहरूलाई सुन्दर उपहार दिने सोच बनाएका होलान् । उपहार केवल वस्तु मात्र होइनन्, तिनीहरूले माया अभिव्यक्त गरिदिन्छन् र मायालु भावना पनि जगाइदिन्छन् । सम्बन्ध प्रगाढ बनाइदिने पुलको काम गरिदिन्छन् ।

भ्यालेन्टाइन्स डेकै छेकोमा गिफ्टहरूको फोटो तथा भिडियोसहितका फेसबुक तथा इन्स्टाग्राम पेज छ्यापछ्याप्ती भेटिन्छन् । पसलमा गएर खरिद गर्नुभन्दा अनलाइनबाटै गिफ्ट अर्डर गर्नेहरू बढेका छन् पछिल्लो समय । सामान्यतया फूल, चकलेट, टेड्डी सबैले मन पराएका गिफ्ट हुन् । त्यसबाहेक अहिले पर्सनलाइज्ड (आफूले अर्डर गरेर बनाउन दिएको) गिफ्ट बढी रुचाइएको पाइन्छ । विशेषगरी १८ देखि ४० वर्ष उमेरसम्मकालाई टार्गेट गरी गिफ्टहरू तयार पार्ने गरिएका छन् । भ्यालेन्टाइन्स साताभर विभिन्न उपहार दिने ट्रेन्ड चलेसँगै अनलाइन पेजहरू पनि व्यस्त रहन्छन् । आकर्षक प्याकेजिङका साथ उपलब्ध यी गिफ्टहरूमा नलोभिने को होला र ?

पर्स, चकलेट्स, फूल, प्लान्ट, पर्फ्युम, ज्वेलरी, कपल रिङ, कि चेन, टेड्डी, कुसन, मग, कपल ब्रासलेट, केक सबैभन्दा बढी रुचाइएका गिफ्टमा पर्ने गरेका छन् । 

‘द ट्राभल ट्रक अफिसियल’ पेजकी सञ्चालक अदिति र आदित्य बुब्नालाई भ्यालेन्टाइन्स डे आएसँगै ग्राहकहरूको अर्डर पुर्‍याउन भ्याइनभ्याई छ । यो गिफ्ट अग्रिम बुकिङ प्याक भइसकेका छन् । विराटनगरबाट व्यापार सम्हाल्दै आएकी उनलाई देशभरबाट अर्डर आउने गर्छन् । गिफ्टहरू बढी बिक्री हुने पिक सिजन रहेको बताउँदै अदिति भन्छिन्, ‘कपल वालेट, चकलेट, लकेट, फूल, फोन कभर धेरै रुचाइएका गिफ्टहरू पर्छन् । ८० प्रतिशत गिफ्टहरू पर्सनलाइज्ड हुन्छन् ।’ 

उनले युवाहरूले विशेष गरी क्युट खालका गिफ्ट रुचाउने बताइन् । यी गिफ्टका अर्डर ९० प्रतिशत इन्स्टाग्रामबाट आउने उनले बताइन् । अर्डर गर्नेमा ६० प्रतिशत युवतीहरू हुन्छन् । नाम कुँदिएको बोतल, पर्स, ह्यान्ड ब्याग, मग, पर्फ्युम, लकेट, कि–चेन, पाइजामा सेट्स, टेडी बियर, पासपोर्ट कभर, टोट ब्याग, बिन ब्याग, फ्रेम पनि ग्राहकको रोजाइमा पर्ने गरेका छन् । भ्यालेन्टाइन सप्ताहमा दिनकै सयभन्दा बढी अर्डर आइरहेका छन् । यी गिफ्टहरूको मूल्य २ हजारदेखि ११ हजारसम्म छ । ‘पसलमा गिफ्ट रोज्ने झन्झट पनि भएन । विभिन्न प्रकारका गिफ्टहरू एकै ठाउँमा भेटिने भएकाले माग बढी हुन्छ,’ उनले भनिन् ।

‘गिफ्ट कार्ट नेपाल’ का प्रदीप नेपालले नाम लेखिएका गिफ्टको माग बढी रहेको बताए । ‘नाम तथा फोटो प्रिन्ट गरिएको गिफ्ट बढी जान्छ । सामानमा आफ्नो नाम भएको देख्दा माया लाग्ने रहेछ, विशेष महसुस गराउँछ,’ उनले भने । भ्यालेन्टाइन्स डेका बेला सबैभन्दा बढी बुकेहरू बिक्री हुने प्रदीपको भनाइ छ । त्यसैगरी नाम लेखिएको कपल वालेटको अघिपछि पनि धेरै माग आउने गरेको छ । गिफ्ट कार्टमा एक हजार पाँच सयदेखि पाँच हजार मूल्यका गिफ्टहरू पाइन्छन् । यी गिफ्ट विशेष गरी टिनएजर तथा युवालाई लक्षित गरी बनाइएको उनले बताए । उनका अनुसार विभिन्न अवसरपिच्छे विभिन्न गिफ्ट कम्बो लन्च गरिन्छन् । उदाहरणका लागि केटीका लागि बनाइएको गिफ्ट कम्बोमा पर्स, चस्मा, लिपिस्टक, आइस्याडो, क्लिप, लकेट, हेयरब्यान्ड, चकलेट, गुलाब, कप, बोटल, पर्फ्युम, कि–रिङ आदि समेटिएको हुन्छ । 

‘चकलेट चोकोमरी’ की सञ्चालक शैली डंगोलले भ्यालेन्टाइन्स डेका बेला ग्राहकहरूको ढोकासम्म चकलेटको अर्डर पुर्‍याउन भ्याइनभ्याई भइरहेको बताइन् । ५० भन्दा बढी भेराइटीका चकलेट यहीं नेपालमै बनाइने उनको भनाइ छ । उनका अनुसार अरू बेला अर्डर आउने भए पनि भ्यालेन्टाइन सप्ताह व्यस्त हुने समय हो । ‘झन् ‘चकलेट डे’ मा त अर्डर निकै नै आउँछ । सप्ताहभर चार सयभन्दा बढी अर्डर आउने अपेक्षा छ,’ उनले भनिन्, ‘हामीकहाँ ६ सयदेखि ४ हजार २ सयसम्मका चकलेट बक्सहरू पाइन्छन् । ती सबै हामी नै बनाउँछौं ।’ उनीकहाँ सबैभन्दा रुचाइएका चकलेट ट्रफल्स, ब्राउन्टी, बनबन आदि हुन् । यी चकलेट ग्राहकको फ्लेभरको अर्डरअनुसार बनाइन्छ । चकलेट चोकोमरीमा विभिन्न मेसेजसहितका चकलेट बक्स उपलब्ध छन् । जस्तै– कसैलाई फकाउन ‘आई एम सरी’ लेखिएको होस् वा माया अभिव्यक्त गर्न ‘आई लभ यू’ लेखिएको चकलेट । मेसेजसहितका चकलेटले भावना जोडिने शैलीको भनाइ छ ।

‘सिस्टर्स डट डीआईवाई’ पेज सञ्चालन गर्दै आइरहेका अस्मिता र अनिता भुसाल घरमै हातैले गिफ्टका आइटम बनाउने गर्छन् । उनीहरूले भ्यालेन्टाइन्स डेका लागि ‘स्याडो बक्स’, ‘मेसेज इन अ बोटल’, ‘चकलेट जार’ हरू बनाएका छन् । जसमा मेसेज इन अ बोटल सबैभन्दा बढी रुचाइएको छ । अस्मिताका अनुसार भ्यालेन्टाइन्स डे पिक सिजन नै हो । उनीहरूले पोहोर साल यी सामान बेचेरै १ लाखको कारोबार गरेका थिए । उनीहरूले बर्थडे, एनिभर्सरी, अन्नप्रासनलगायतका ब्यानरहरू बनाउने गरेका छन्, जुन निकै रुचाइएको छ । 

‘ह्यान्डमेड मन पराउनेले मगाउनुहुन्छ । टाढा भएका प्रियजनलाई दिन मेसेज लेखिएको बोतल रुचाइएको छ,’ अस्मिताले भनिन् ।

केक पनि कुनै समारोहमा छुटेको देखिँदैन । जन्म दिन तथा कुनै शुभ कार्यमा मात्र नभई भ्यालेन्टाइन डेमा विभिन्न खालका केकहरू खुबै रुचाएको बताउँछिन् ‘द यारा बेकरी’ की आकृति श्रेष्ठ । आकृतिका अनुसार युवाहरूले खासगरी साना केक बढी मन पराउने गरेका छन् । जसमा पर्छ ‘बेन्टो केक’ । देख्दै क्युट र हेर्दा पनि चिटिक्क । सानो केक र बुकेको कम्बो धेरैले रुचाएको उनले बताइन् । भन्छिन्– ‘सानो खालका केकहरू रुचाउनुभएको छ । जोडीहरूले नै मगाउने भएकाले यो केक दुवैलाई पुग्छ र खेर पनि जाँदैन ।’ 

युवा ग्यालरी

बुनु थारु विगत ७ वर्षदेखि पत्रकारिता गरिरहेकी छिन् । उनी स्वास्थ्य तथा सामाजिक विषयमा लेख्न रुची राख्छिन् ।

Link copied successfully