पछिल्लो समय प्रविधिका कारण एनिमेसनमा युवाको लगाव बढेको छ, त्यसका साथै अनलाइन गेम र सामाजिक सञ्जालको योगदान पनि उत्तिकै छ
काठमाडौँ — डेढ दशकअघि भिनाजुको अन्त्येष्टिका लागि नेपाल फर्कंदा किरणभक्त जोशीले ‘डिज्नी’ छोडिएला भन्ने सोचेका पनि थिएनन् । करिब १८ वर्ष विश्व प्रख्यात कम्पनी डिज्नीमा बिताएर नेपाल आउँदा धेरैले जोशीलाई भन्थे, ‘ओहो, नेपाललाई माया गरेर फर्क्यौ ।’ खासमा अमेरिकाबाट भान्जाभान्जी ल्याउने जिम्मेवारीले किरणलाई नेपाल फर्काएको थियो ।
त्यतिबेलाको बसाइमा साथीहरूले एनिमेसन स्टुडियो खोल्न हौस्याए । जनआन्दोलन भर्खरै सकिएको थियो । दुई साताको बिदा थपे अनि सुरु भयो नेपाली आर्टिस्टहरू भेट्ने मेलो । उक्त अवधिमा उनले २८ युवालाई भेटे । अन्तिम दिन अनिश खड्कासँग भेट भयो । अनिशको डिजाइन जब देखे, दंग परे । सबै डिजाइन गज्जबका । किरणले एनिमेसनमै अनिशलाई सक्रिय रहन उत्साह के दिएका थिए, निन्याउरो मुख बनाउँदै उनले भने, ‘दाइ यो त मेरो प्यासन भएर गरेको हुँ । मेरा बुबाआमाले यो क्षेत्र बुझ्दैनन् । त्यसैले बिजनेस पढ्नुपरेको छ । तपाईंले मलाई प्लेटफर्म दिनुभएन भने अबको २/३ वर्षमा मलाई बैंकमा भेट्नुहुन्छ ।’
एनिमेसनमा आफ्नो भविष्य देख्न चाहने युवाको यस्तो निराशाले किरणको मथिंगल हल्लाइदियो । स्टुडियोबारे सोच्न बाध्य भए । त्यही रात अमेरिकामा रहेका परिवारसँग सल्लाह लिए, डिज्नी छोडेर नेपालमा स्टुडियो खोल्ने । ‘मलाई अनिशको कुराले तानिरह्यो । धेरैले तेरो करियर खत्तम हुन्छ भन्दै मूर्ख भने,’ किरणले ती दिन सम्झिए । अनिशसँग भेटेको भोलिपल्ट १९ युवालाई फेरि भेटे । अनि, डिज्नीको यात्रा टुंग्याएर फर्कने वाचासहित अमेरिका उडे । सन् २००८ मा नेपाल फर्केपछि नक्सालमा २५ वटा कम्प्युटर राखेर अफिस सुरु गरे, ‘इन्ससेन्ट रेन’ । त्यसयता, ‘इन्ससेन्ट रेन’ ले हडताल, कर्फ्यु, लोडसेडिङबीच संघर्ष गरिरह्यो । युवालाई एनिमेसनमा डोर्याउँदै गरिएको निरन्तरको मिहिनेतले हलिउडलाई स्टुडियो चिनाउन किरण सफल बने । अर्थात्, विश्वका थुप्रै ठूला ब्यानरका प्रोजेक्ट (आर्ट एनिमेसन, भीएफएक्स) मा नेपाली प्रतिभा जोड्दै अनिशजस्ता युवाको सपना साकार गराउँदै आएको छ यो स्टुडियोले ।
१५० भन्दा बढी फिल्म, १७५ टीभी सिरिज, ‘लोकेसन बेस इन्टरटेन्टमेन्ट’ मा काम गरिसकेको स्टुडियोले एचबीओ, पिकक, एप्पल प्लस, डिज्नी प्लस, एमाजोन प्राइम, नेटफ्लिक्सका प्रोजेक्ट गर्दै आइरहेको छ । यसअघि ‘लुपर’ मा भिज्वल इफेक्ट्स, अमाजोनको ‘ज्याक रायम’, ‘रेड स्प्यारो’, नेटफ्लिक्सको ‘सिरिज अफ अन्फोर्चुनेट इभेन्ट, ‘ग्याङस्टर स्क्वाड’, ‘मिलियन वेज टु डाई’, ‘मिस्टर रोबर्ट’ लगायतका थुप्रै प्रोजेक्टमा स्टुडियो संलग्न भइसक्यो ।
करिब २ सय ४५ जनालाई रोजगारी, २ सयलाई ‘एनिमेसन/भीएफएक्स’ अध्यापन गराउँदै आएको ‘इन्ससेन्ट रेन’ पछिल्लो समय युवा पुस्ताका लागि विश्व बजारमा पुग्ने खुड्किलो बन्दै छ । त्यही भीडमा पर्छन्, नेपसाइडजका ग्यानोन चित्रकार । र्याप संगीत गर्दै आइरहेको नेपसाइडजका सदस्यहरू सन् २०१० तिर आ–आफ्नो बाटो लागे । कोही बिदेसिए, कोही नेपालमै करियर खोज्नतिर लागे । त्यति बेला केही नयाँ गरौं भन्ने सोचेर र्यापर ग्यानोन इन्ससेन्टमा जोडिए । भिज्वल इफेक्ट्समा पहिल्यैदेखि रुचि । आफैं पनि सिक्थे । स्टुडियोमा आबद्ध भएसँगै भिज्वल इफेक्ट्स सिके अनि यतै भविष्य देखे । र्याप गाइरहँदा पनि म्युजिक भिडियोमा कसरी भीएफएक्सको प्रयोग हुन्छ होला ? भन्ने जान्न खोजिरहन्थे । त्यसैले सुरुवातदेखि नै भिज्वल इफेक्ट्सतिर तानिए । सयभन्दा बढी प्रोजेक्टमा काम गरिसकेका ग्यानोन स्टुडियोले आफूलाई अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय काम गर्न सिकाएको बताउँछन् ।
अहिले उनी ‘जोन विक च्याप्टर–४’ मा काम गर्दै छन् । सुरुवाती दिनमा ‘लुपर’ मा काम गरेका क्षण उनले बिर्सेका छैनन् । उक्त फिल्म हेर्न त्यसमै काम गरेका साथीहरूसहित उनी सिभिल हल पुगेका थिए । फिल्म सकिनेबित्तिकै दर्शक उठ्न थाले । तर, उनीहरूको ध्यान क्रेडिट टाइटलमै थियो । ‘त्यतिबेला अरूले यिनीहरू किन त्यसै बसेको होला भनेर सोचे होला । तर, जब हाम्रो नाम स्क्रिन आयो, नेपालमा बसेर त्यस्तो फिल्मको पर्दामा आफ्नो नाम आउँदा खुसी लाग्यो, ‘ग्यानोन पुराना दिन सम्झन्छन् । अहिले त यति धेरै ठूला प्रोजेक्टमा काम गरिसके, त्यतिबेलाको झैं खासै वास्तासमेत हुँदैन । ‘यहाँ सिक्ने भनेको क्वालिटीको काम हो । यस्तो काम गर्न नेपालमा मात्र होइन, विदेशमा पनि गाह्रै छ,’ ग्यानोनले भने, ‘यदि यो स्टुडियोमा यति वर्ष काम गरेर अन्तर्राष्ट्रिय स्टुडियोमा जानुपर्यो भने सजिलै मौका प्राप्त गर्न सक्छु । अहिले त इन्ससेन्ट रेनको पनि ठूलो नाम भइसक्यो ।’
२५ वर्षीया सुजिता प्रजापति एनिमेसनमा थुप्रै सम्भावना देख्छिन् । एसएलसीताका उनी आफ्नो भविष्यलाई लिएर अलमलमा थिइन् । आफ्नो उमेर समूहका साथीहरूले नर्सिङ रोजे । लहलहैमा नर्सिङ पढिन् । तर, त्यहाँको पढाइ खर्च बेहोर्न नसक्ने देखेपछि साइन्स अध्ययनलाई निरन्तरता दिइन् ।
चित्र कोर्न मन पराउन उनलाई भने जिन्दगीमा ‘केही नपुगेझैं, केही नमिलेझैं’ लाग्थ्यो । २०७२ को महाभूकम्पमा असनको पुरानो घरमा मुस्किलले बाँचेपछि भने उनलाई लाग्यो, ‘नाफाको जिन्दगीमा अब आफूलाई मनपर्ने कुरा गर्छु ।’ त्यसपछि ललितकलामा आर्ट्स पढिन् । त्यतिबेला हलिउडको काम गर्ने कम्पनी भन्ने हिसाबले ‘इन्ससेन्ट रेन’ को विषयमा सुनेकी थिइन् । ललितकलामा सबै जना ट्रेडिसनल आर्टतिर, उनलाई डिजिटल आर्ट मन पर्ने । तर, सिक्ने ठाउँ नभेटेपछि आफैं सिक्न थालिन् । ‘नेप्लिज इज इन आर्ट्स’ भन्ने पेजमा पोस्ट गरिरहन्थिन् । त्यही क्रममा इन्ससेन्टकै कन्सेप्ट आर्टको लिड आर्टिस्ट दीप शाक्यको नजरमा परिन् । एक दिन शाक्यले नै सुजितालाई स्टुडियोमा आबद्ध हुन प्रस्ताव राखे । ‘त्यतिबेला मलाई मेरो सिकाइले यस्तो कम्पनीमा काम गर्न सक्छु होला त ? भन्ने थियो । तर, जब मैले मेरा सबै राम्रा कामहरू उहाँहरूलाई देखाएँ, काम पाइहालें,’ उनले एक वर्षअघिको कुरा सम्झिन् ।
२५ वर्षीया सुजिता अहिले ‘कन्सेप्ट आर्ट डिपार्टमेन्ट’ मा सक्रिय छिन् । उनी प्रि–प्रोडक्सनको काम गर्छिन् । लिखित अथवा मौखिक रूपमा आएको आइडियालाई डिजिटली आर्टमार्फत भिज्वलाइज गरिदिने काम सुजिताको हो । निर्देशक/लेखकको भिजनलाई चित्रमा कोरिदिने काम उनी संलग्न डिपार्टमेन्टले गर्छ । ‘कथा, चरित्र, सेट कस्तो हो भन्ने कुराको ब्लुप्रिन्ट दिनेजस्तो काम हो मेरो,’ उनले भनिन् । मेटाभर्सकै शैलीको जी–वर्ल्ड, गोर्खा भर्सेस निञ्जालगायतको प्रोजेक्टमा उनी व्यस्त छिन् ।
सुजितासँगै कन्सेप्ट डिपार्टमेन्टमा काम गर्छिन्, २४ वर्षीया मतिना मास्के । इन्ससेन्ट रेनमा जोडिएको ७ महिना भयो । अस्ट्रेलियामा इकोनोमिक्समा स्नातक गरिसकेपछि केही गर्ने सोचले नेपाल फर्केकी थिइन् । यसअघि उनी डिजिटल आर्टलाई रहरका रूपमा अभ्यास गर्थिन् । लकडाउनको समयमा डिजिटल आर्ट बनाउँदै इन्स्टाग्राममा पोस्ट्याइन् । त्यही क्रममा इन्ससेन्टले बोलायो । रहर कुनै दिन करियरमा परिणत होला भन्ने मतिनाले कहिल्यै सोचिनन् । आमाले आर्टमा जान हौसला दिइरहन्थिन् तर उनले त्यसमा कहिल्यै भविष्य देखिनन् । स्टुडियोले मतिनालाई आफ्नो रहरमा बाँच्न सक्ने बनाएको छ । ‘अहिले त एनिमेसन, गेम डेभलपमेन्टको छुट्टै इन्डस्ट्री छ । यहाँ काम गरें भने राम्रो होला भनेर स्टुडियोमा आबद्ध भएँ । कलाकारका हिसाबले राम्रो पारिश्रमिक पाइरहेको छु । करियरमा प्रगति भइरहेको छ । परिवारको साथ पनि छ । आफूलाई गर्न मन लागेको कुरा गर्न पाएर खुसी छु,’ उनले भनिन् ।
स्टुडियोकै निर्माणमा बन्दै गरेको गोर्खा भर्सेस निञ्जामा अहिले उनी काम गर्दै छिन् । ‘अहिले टूडी एनिमेसन, ब्लेन्डर एनिमेसन सिक्दै छु । हामीजस्ता युवाका लागि करियरका हिसाबले यो स्टुडियो अन्य ठूला अवसरहरूका लागि खुड्किलो हो,’ उनले सुनाइन्, ‘डिजिटल माध्यम सजिलो छ र मनोरञ्जनात्मक पनि छ । तपाईं हरेक दिन गेम खेलिरहनुभएको हुन्छ । त्यो पनि डिजिटल माध्यम हो । डिजिटल मिडियम मनोरञ्जनात्मक भएर पनि युवाहरू यता तानिएको हो जस्तो लाग्छ ।’
ट्रेनीका रूपमा इन्ससेन्ट रेन प्रवेश गरेकी सञ्चिता लामा अहिले सुपरभाइजर भइसकिन् । ललितकलामा पढेकी उनी यसअघि टूडी आर्टिस्टका रूपमा अर्कै कम्पनीमा काम गर्थिन् । थ्रीडीमा तालिम खुलेको छ भन्ने सुन्नेबित्तिकै स्टुडियोमा जोडिइन् । तालिम लिएसँगै काम थालिन् । अहिले उनको जिम्मा एनिमेसनमा आबद्ध सबैलाई नियाल्ने हो । एनिमेसनमा युवा जमात ढल्किनुको पछाडि प्रविधि कारक रहेको सञ्चिताको अनुभव छ ।
‘म जतिबेला एनिमेसनमा लागें, त्यतिबेला अवसरहरू कम थिए । प्रविधिले गर्दा युवाको लगाव एनिमेसनमा धेरै भएको हो,’ उनले भनिन्, ‘सामाजिक सञ्जालले पनि युवालाई यता ढल्काएको हो जस्तो लाग्छ । जति जना युवासँग मैले कुरा गरेको छु, उनीहरू कोही गेम खेलेर यता आएका छन्, कोही एनिमेसन हेरेर ।’ किरणको निर्देशनमा बनेको लघु एनिमेसन फिल्म ‘मण्डला’, ‘बबल हेड’ लगायतका थुप्रै एनिमेसनमा सञ्चिताले काम गरिसकिन् । एनिमेसनमा लाग्ने युवाका लागि विश्व बजारमा थुप्रै सम्भावना रहेको उनको धारणा छ ।
किरण, विश्वमा अहिले डिजिटल आर्टिस्टको अभाव रहेको बताउँछन् । त्यही अभावको परिपूर्तिका लागि दक्ष जनशक्ति निर्माण गर्न ‘इन्ससेन्ट रेन एकेडेमी’ खोलेर किरणले १ सय २२ विद्यार्थीलाई पढाउन सुरु गरिसके । ‘स्ट्रिमिङ प्लेटफर्म बढ्न थालेसँगै कन्टेन्टको आवश्यक हुन थाल्यो । पहिला त एउटै टेलिभिजनमा परिवारले हेर्नुपर्थ्यो । अहिले त हातहातमा सबैले केही न केही कन्टेन्ट हेर्न पाउने भए ।
त्यसैले ठूला कम्पनीले मेटाभर्सलाई भविष्यका रूपमा लिँदै आइरहेका छन्,’ उनले भने, ‘लाइभ एक्सन फिल्म, मेटाभर्सको छुट्टै संसार बनाउन, कन्टेन्ट निर्माण गर्न प्रविधिले हामीलाई सहज बनाइदिएको छ । त्यसैले अब डिजिटल आर्टिस्टको आवश्यकता पर्नेछ । अवसर नपाएका, बेरोजगार नेपाली युवाले यो अभावको परिपूर्ति गर्न सक्छ ।’ किरणले यही युवा जोससँग मिलेर थुप्रै एनिमेसन फिल्म निर्माण गर्ने सोचेका छन् । स्टुडियोकै को–सीईओ दीपा चिपालु जोशी भने एनिमेसनमा महिलाको सहभागिता बढाउन ‘वुमन इन एनिमेसन’ नामक गैरनाफामूलक संस्था खडा गर्ने तयारीमा छिन् ।
