सुरक्षाको ‘बहाव’

फाल्गुन ४, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — अभिनेत्री सुरक्षा पन्त र कमलमणि नेपाल अभिनीत फिल्म ‘बहाव’ को फस्टलुक सार्वजनिक भएको छ । चैत २४ देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको प्रमोद कँडेल निर्देशित उक्त फिल्मको फस्टलुकमा अभिनेत्री पन्तलाई सुगासहितको पिँजडामा प्रस्तुत गरिएको छ ।

उक्त थिम पोस्टरले सुरक्षाले पिँजडाभित्रको सुगामा पन्तको चरित्रलाई प्रतिविम्बित गर्न खोजिएको छ । 

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको ‘बहाव’ नयाँ चीजको खोजीमा भइरहेको अवस्थाको विद्रोह रहेको निर्देशक कँडेलले बताए । अभिनेत्री पन्तले भने उतारचढावको परिस्थितिबाट गुज्रिएको अवस्थामा अघि बढ्दा आउने हलचललाई कसरी सन्तुलित रूपमा अगाडि बढाउन सकिन्छ भन्ने कथा फिल्ममा देखाइएको बताइन् ।

श्रीधर पौडेलको निर्माण रहेको फिल्ममा अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठलगायतको पनि अभिनय रहेको छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत रहेको फिल्ममा स्वतन्त्रता कैद गर्नेहरूका लागि मार्गप्रशस्त गर्ने कथा रहेको निर्माता पौडेलले जनाए । कार्तिकेय स्मिता कर्नाटकको छायांकन रहेको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दै छ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully