कत्थकमा  किशोरी

पछिल्लो समय कत्थक नृत्यप्रति युवायुवतीको आकर्षण बढेको छ । जागिर, परिवार र रहरबीच जीवनले जतिसुकै नचाए पनि उनीहरू केही क्षण भने आफैं नाचेरै रमाउन चाहन्छन् ।
मधु शाही

काठमाडौँ — यो वर्ष प्रेना राईले जीवनमा धेरै उतारचढावको सामना गरिन् । चाहे त्यो जागिरको विषयमा होस् वा भविष्यबारे । सबै भताभुंग जस्तै भयो । चार्टर एकाउन्टेन्ट २७ वर्षीया यी युवतीले जस्तो परिस्थितिमा पनि हरेस खाइनन् ।

कत्थकमा  किशोरी

बरु सबै ‘टेन्सन आउट’ गरेर नयाँ जीवनशैली उपाय अपनाउन ठीक ठानिन् । केही महिनामै उनको लाइफ स्प्रिट बेग्लै छ ।

कुर्था सुरुवाल र पाउमा घुङ्ग्रु पहिरिन थालिन् । दिनभरि अफिसको काम र बेलुका कत्थक नृत्यमा मस्त हुन लागिन् । ‘लाइफको ट्रान्जिटलाई कोअप गर्न घुङ्ग्रुको झन्कार र तवलाको ताल रोजें,’ उनी भन्छिन्, ‘जब कत्थक सिक्न जान्छु, सबै टेन्सट आउट हुन्छन् ।’ कत्थक नृत्यले उनी आफैंलाई मनन गर्ने माध्यम बनाएकी छन् । अरू खुसी पार्ने चक्करमा स्वयं हराएकी उनले नृत्यमार्फत मनका अनुभूति पोख्ने आधार पाएकी छन् । उनी भन्छिन्, ‘कत्थक नृत्यले मेरो कुण्ठा पोख्न सिकाएको छ ।’

कत्थक नृत्यमा रमाउने चार्टर एकाउन्टेन्टदेखि डेन्टिस, एयरहोस्टेजलगायत व्यावसायिक रुपमा फरक विधाका युवती आकर्षित छन् । अनामनगरस्थित एस्थेटिक डान्स स्टुडियोमा कत्थक सिक्न आउने प्रेना जस्ता युवतीका भने आआफ्नै संघर्ष छन् । तर, जीवनले जति नचाए पनि उनीहरू केही क्षण भने नाचेरै रमाउन चाहन्छन् । उनीहरू जागिर, परिवार र रहर तीनै पक्ष सम्हाल्दै कत्थक नृत्यमा लीन छन् ।

पेसाले डेन्टिस २६ वर्षीया ललितपुरकी श्रेयाको नृत्यप्रतिको लगाव सानैदेखि थियो । पढाइमा उकृष्ट अंक ल्याउने भएकाले सबैले चिकित्सक बन्नका लागि प्रेरित गरे । दिमागले पढेकी श्रेयाको मनचाहिँ नृत्यमा थियो । ‘अरूको रोजाइमा रमाउनु सबैभन्दा कठिन हुँदोरहेछ,’ उनी भन्छिन्, ‘मैले अब आफ्नो च्वाइस हेर्न थालेकी छु ।’ कत्थक सिक्ने उनको सपना अब पूरा हुँदै छ । दिनभरि डेन्टिस्टको सेवामा समर्पित उनी बेलुका ६ बजे कत्थक सिक्न अनामनगरस्थित एस्थेटिक डान्स स्टुडियो आइपुग्छिन् । जागिर र सोखको तालमेल मिलाउन उनलाई सास्ती छ । कहिलेकाहीं नृत्य सिक्न छिटो आउनुपर्‍यो भने उनले अरू बेला अफिसका लागि ओभरटाइम दिनुपर्छ । ‘जब नाच्न आउँछु, दिनभरिको थकान सबै भुल्छु, उनी भन्छिन् ।

चार्टर एकाउन्टेन्ट कृति ढकाल पढाइभन्दा बाहिरको स्किल सिक्न सधैं जिज्ञासु थिइन् । कला र सिर्जनामा उनको विशेष रुचि थियो । तर, कलाले भविष्य सुरक्षित गर्न भने जटिल थियो । त्यसैले उनी केही वर्ष पढाइमै फोकस भइन् । बिहे भयो । परिवार सम्हाल्नु अर्को जिम्मेवारी थपियो । पछि सिकौला भन्दै टार्दै आएको इच्छा पूरा गर्न उनलाई दुई वर्ष पर्खिनुपर्‍यो । बिहेपछि भने उनले परिवार र श्रीमान्को साथ पाइन् । नाच्न जान्छु भन्ने प्रस्तावमा सबैले मनैदेखि स्वागत गरे । उनले जागिर र नृत्य कला दुवैलाई सन्तुलन मिलाएर लगेकी छन् । ‘सासूले बेलुका खाना पकाउनुहुन्छ, तिमी नाच्न जाऊ भन्नुहुन्छ’, उनी हर्षित भावमा भन्छिन्, ‘उहाँहरूको सपोर्टले अपूरो रुचि पूरा गर्ने मौका पाएकी छु ।’


कत्थक नृत्यलाई व्यवसाय नै बनाउने उद्देश्य लिएकी रोसिया डाँगीलाई भने पारिवारिक सहयोग छैन । छोरीले पढाइमै केन्द्रित भए हुन्थ्यो भन्ने उनका अभिभावकको चाहना छ । खास गरी बुबाले उनलाई नाच्ने अनुमति दिनुभएको छैन । खाने मुखलाई जुंगाले छेक्दैन भनेझैं रोसिया हरेक दिन बुबासँग जिद्दी गरेर कत्थक सिक्न स्टुडियो आउँछिन् । ‘बुबाले जहिले नजाउ भन्नुहुन्छ, म सुन्दै नसुनी आउँछ,ु’ उनी भन्छिन्, ‘मलाई विश्वास छ, एक दिन मेरो कलाले बुबाको मन पग्लिन्छ ।’

ललितपुरकी २३ वर्षीया वृन्दा बस्नेतका इच्छा थीर छैनन् । एकताका आर्मी बन्ने धुनमा थिइन् उनी । तीन पटकसम्म प्रयास गर्दा नाम निस्किएन । अन्तिममा उनले मनन गरिन्, आर्मी पेसा उनका लागि बनेको होइन । दैनिक गुजारा चलाउन कन्सल्टेन्सीमा काम गर्ने वृन्दाले अब भने कत्थकलाई मुख्य लक्ष्य बनाएकी छन् । ‘आर्मीमा फेल भए पनि कत्थकमा सफल भएर देखाउँछु,’ उनी भन्छिन् ।

सुदूरपश्चिम (धनगढी) घर भएकी आश्रीति सिंह एयरहोस्टेजको जागिर खाने तयारीमा छन् । उनलाई लाग्छ, मान्छेका इच्छा असीमित हुन्छन् । जागिर गर्दै मात्रै बस्न उनी खुसी छैनन् । खुसी हुने सीप सिक्न उनी चाहन्थिन् । पछिल्लो समय कत्थक नृत्यकलामा उनी प्रभावित भइन् । नाच्नु शरीर हल्लाउनु नभई, भाव, अनुभूति र कल्पना पस्कने माध्यम पनि हो । उनले यसको पूर्ण स्रोत कत्थक नृत्यमा भएको महसुस गरिन् । उनी भन्छिन्, ‘कत्थक नृत्य अरूभन्दा भिन्न अभिव्यक्ति भएको महसुस हुन्छ ।’


पोखरा घर भएकी अस्मिता गुरुङको पढाइ विधा इन्टर आर्किटेक छ । अध्ययनसँगै उनी खुसी र उत्साहित हुन कत्थक कक्षा लिन्छिन् । सानैमा आफन्तले खुव नाचगानमा उस्काउने । तर, नृत्यको स्किल सिक्नचाहिँ उनले पाएकी थिइनन् । अहिले उनी बालपनको रहर साकार पार्ने प्रयत्नमा छिन् । उनी भन्छिन्, ‘यत्तिकै नाच्नु र सिकेर नाच्नुमा धेरै फरक पर्दो रहेछ ।’ कानुनकी विद्यार्थी समीक्षा रायमाझी, दुर्गा सुनार, अनुसुया, किरण चन्दलगायत युवती पनि यसैमा तल्लीन छन् । नाचेर स्वास्थ्य फिट हुनु, स्किलफुल हुनु र फरक पहिचान स्थापित गर्ने सम्भावना देखेकाले उनीहरू कत्थक नृत्य मन पराएको बताउँछन् ।

कोरियोग्राफर एवं कत्थक नृत्य प्रशिक्षक नम्रता केसीको हेतु पनि मान्छेभित्रको उकुसमुकुस बाहिर प्रस्फुटन गर्नु हो । नृत्यसँगै मेडिटेसनको फर्ममा कत्थक सिकाउँछिन् । उनको अध्ययनले कत्थक नृत्य भनेकै नृत्यमार्फत आआफ्नो अनुभूति, भाव पस्किनु हो । कत्थकको सैद्धान्तिक र व्यावहारिक ज्ञान आर्जन गर्न नम्रता भारतको उत्तरप्रदेशस्थित लखनउ विश्वविद्यालयमा अध्ययन गर्न पुगिन् । त्यहाँ उनले कत्थक नृत्यमा स्नातकोत्तर गरिन् । अवसर उतै पनि नआएका होइनन्, नम्रताको चाहना बेग्लै थियो । आफूले सिकेको ज्ञान नेपालमा फैल्याउने । त्यसैले त उनी पाँच वर्षदेखि निरन्तर कत्थक नृत्य कलामा प्रशिक्षण दिँदै आएकी छन् ।


उनका अनुसार भारतका विभिन्न ८ क्लासिकल नृत्यमध्ये, कत्थक एक लोकप्रिय नृत्य विधा हो । कत्थक नामक गाउँबाट सुरु गरिएको नृत्यकला मुगल साम्राज्यको आगमनसँगै फराकिलो बन्दै गएको नम्रता बताउँछिन् । पछिल्लो समय बलिउड फिल्ममा कत्थक फर्मको प्रयोग अधिक भएको पाइन्छ । कत्थकमा महिलाको संख्या बढी छ । उनले सिकाउँदै आएका ६० जना विद्यार्थीमध्ये पुरुष ४ जना मात्र छन् । ‘नृत्यमा लैंगिक विभेद हुँदैन, तर सामाजिक संकोचका कारण होला, युवक अलि थोरै छन्,’ उनले भनिन् ।

पाँच वर्षअघि कत्थक कक्षाको सुरुवात सम्झिँदा अहिले नम्रता डान्स सिकाएर आत्मनिर्भर हुने अवस्थामा भने पुगेकी छन् । ‘शुल्क तिरेरै नाच्न सिक्न आउने विद्यार्थी बढ्दै छन् । बल्ल ऊर्जा आउन थालेको छ,’ उनले भनिन् ।

प्रकाशित : फाल्गुन ७, २०७९ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?