‘रिफ्रेसिङ बबल टी’

फाल्गुन १०, २०७९

बुनु थारु

काठमाडौँ — गुलियो, दुधिलो अनि चिसो रिफ्रेसिङ स्वाद । खाँदा एनर्जी दिने, पेट पनि भरिने । १९ वर्षीया सोनिया तण्डुकारको जिब्रोमा झुन्डिएको यो स्वाद पेय पदार्थ ‘बबल टी’ को हो । सोनिया र सालु ताम्राकार वसन्तपुर घुम्न आउँदा बबल टी खान छुटाउँदैनन् ।

बबल टी खाँदै गरेका भेटिएका यी दुईले यसबारेमा सामाजिक सञ्जाल टिकटकबाट थाहा पाएको बताए । सोनिया भन्छिन्– ‘यसको फ्लेभर मनपर्छ । यो ड्रिंकमा हुने चपाउने मिल्ने दाना मीठो लाग्छ । हामीले त ४ पटक खाइसक्यौं होला ।’

वसन्तुरस्थित एक बबल टी पसलनिर अर्डरको पर्खाइमा भेटिए आयुषा, सुस्मिता र रिजेश वज्राचार्य । २० वर्षीया आयुषालाई यो पेय पदार्थ अरूभन्दा विशेष भएकाले नै सबैले मन पराएको भन्ने लाग्छ । आयुषाले बबल टी करिब एक वर्षअघि खाएकी थिइन् । ‘पहिलो पटक स्ट्रबेरी स्वादमा खाएकी थिएँ । निकै मीठो लाग्यो । यो अरू ड्रिंकभन्दा युनिक पनि छ,’ उनले भनिन् । सहरी क्षेत्रको पर्यटकीय ठाउँतिर एकछिन टहलियौं भने बबल टीको चुस्कीसँगै गफिँदै हिँडिरहेका युवा टन्नै भेटिन्छन् । सहरका मुख्य चोक तथा व्यापारिक मलमा त झन् च्याउसरी छन् बबल टीका पसल । यसको लोकप्रियता युवा पुस्तामा यति चुलिएको छ कि वसन्तपुरमै करिब डेढ दर्जन बबल टीका पसलहरू भेटिन्छन् ।

वसन्तपुरमा सबैभन्दा पहिले बबल टीको स्वाद चखाउने ‘बोनम चा’ हो । तीन वर्षअघि खुलेको बोनम चामा पिक सिजनमा दिनकै ६ सय कपसम्म बिक्री हुन्छ । बोनम चाको सबैभन्दा रुचाइएको आइटम ‘आइसक्रिम टी’ हो जुन विभिन्न फ्लेभरमा पाइन्छन् । यो विशेष गरी गर्मी महिनामा बढी बिक्री हुने गरेको पाइन्छ । बोनम चाकी ब्रान्च म्यानेजर सुरक्षा खड्काले यो पेय पदार्थ विशेष गरी टिनएजरलाई टार्गेट गरेर ल्याएको बताइन् । ‘तर स्वाद भने सबैले मन पराएका छन्,’ उनले भनिन् । यसको क्रेज बढेसँगै पाटनमा पनि शाखा खोल्ने तयारी भइरहेको उनले बताइन् । ‘हामीले ताजा फलफूल प्रयोग गरेर बनाउँछौं । फ्रेस र हाइजेनिक पनि छ,’ उनले भनिन् ।

बबल टीको माग बढ्दै गएपछि कतिपय रेस्टुरेन्टले आफ्नो मेनुमा पनि समावेश गर्न थालेका छन् । कतिपय फलफूल तथा जुस पसलको मेन्युमा पनि अटाएको छ यो । सहरी युवामा फेसनका रूपमा बन्दै गरेको बबल टी विभिन्न स्वादमा उपलब्ध छन् । मिल्क बबल टी, फ्रुट बबल टी, प्लेन बबल टी यसका फरक स्वाद छन् । सामान्यतया २५० रुपैयाँमा पाइने यसको मूल्य स्वाद र सामग्री थपेसँगै बढी पर्छ ।

बबल टी ताइवानी पेय पदार्थ हो । यो सन् १९८० को दशकमा एउटा सानो चिया स्ट्यान्डबाट सुरु भएको बताइन्छ । यसलाई ‘ब्ल्याक पर्ल टी’ वा ‘बोबा टी’ पनि भनिन्छ । दूध, फलफूल, फ्रुट जुस तथा स्वादिलो ट्यापियोका पर्ल्स (साबुदाना) को मिश्रणलाई मज्जाले घोलेर तयार पारिने पेय पदार्थ हो । चपाउन मिल्न ट्यापियोका पर्ल्स जेली जस्तो ‘चिवी’ हुन्छ जसलाई ‘बोबा’ पनि भनिन्छ । यसको आकार गुच्चाको जस्तै हुन्छ । हल्लाएर बनाउँदा बबल (फोका) माथि आउने भएकाले यसको नाम बबल टी रहन गएको हो । 

ताइवानमा बबल टीलाई राष्ट्रिय पेय पदार्थ नै मानिन्छ । सन् २०२० देखि ताइवानले अप्रिल ३० गते ‘राष्ट्रिय बबल टी दिवस’ नै मनाउँदै आइरहेको छ । नेपालमा जसरी चिया तथा कफी पसलहरू छ्यापछ्याप्ती खुलेका छन्, त्यसरी नै बबल टी स्ट्यान्डहरू भेटिन्छन् पछिल्लो समय । ताइवानबाट उत्पत्ति भएको यो पेय पदार्थ अहिले भने विश्वभर फैलिइरहेको छ । युवा पुस्तामा निकै नै लोकप्रिय यो अहिलेको ट्रेन्ड नै बनेको छ । बबल टिको लोकप्रियता सामाजिक सञ्जालले थप बढाएको छ । सामाजिक सञ्जालमा झुम्मिने युवा पुस्ता बबल टी खाएको फोटो नपोस्ट्याई खाँदैनन् । युवाहरूमा बबल टीको ट्रेन्ड क्षणिक देखिँदैन, यो लत बनेको देखिन्छ ।

नेपालमा बबल टी भित्र्याउने श्रेय भने पासाङ लामा र भावना तुम्बाहाङ्फेलाई जान्छ । सन् २०११ मै सिटी सेन्टरको फुड कोर्टमा ‘ज्यामिज् बबल टी’ भनेर खोलेका थिए उनीहरूले । पासाङलाई बबल टी एक ताइवानिज साथीले खुवाएका थिए । उनी विदेशबाट नेपाल फर्किंदा कफी सप खोल्न चाहन्थिन् । ‘यसरी बबल टी भित्र्याउने सल्लाह भयो । सप्लायर्सबाट यसका सामग्री मगाउन सुरु गर्‍यौं । यसलाई अझ बढी माथि पुर्‍याउन मेरी श्रीमतीको निकै सहयोग छ,’ पासाङले भने । 

बबल टीको क्रेज बढेसँगै देशभर ज्यामिज्ले देशभरिको मुख्य सहरी क्षेत्रमा ३५ वटा आउटलेट खोलिसकेको छ । पासाङले बबल टीलाई रमाइलो, फ्रुटी र फेसनेबल ड्रिंकका रूपमा लिन्छन् । भन्छन्, ‘यो ताइवानबाट आएको एक प्रकारको चिसो पेय पदार्थ हो । यो एउटा हाई क्वालिटी ड्रिंक हो । जुन विभिन्न खालका फ्लेभरमा आउँछ– ब्लुबेरी, स्ट्रबेरी, कफी आदि ।’ उनका अनुसार बबल टीका ८० प्रतिशत ५ देखि २१ वर्ष उमेर समूहकाले मन पराएका छन् । विदेशमा भने यो सबै खालका उमेर समूहले मन पराउँछन् । विशेष गरी कर्पोरेट क्षेत्रमा काम गर्ने मान्छेहरूले बढी मन पराउँछन् ।

१० वर्षअघि नै बबल टी नेपालमा भित्रिए पनि यसको लोकप्रियता भने कोभिड महामारीपछि मात्रै बढेको हो । ज्यामिज्ले बबल टीका पसल खोल्न चाहनेलाई तालिम पनि दिँदै आएको छ । ‘२०२१ को फेब्रुअरीतिर हामीले तालिम दिन थालेका हौं । नयाँ उद्यमीहरूलाई प्रोत्साहन गर्नु हाम्रो उद्देश्य हो,’ पासाङले भने । 

बबल टी जति युवा पुस्ताले मन पराउँदै गएका छन्, त्यति नै पसल पनि खोल्ने बढेका छन् । पासाङका अनुसार जति बबल टीका स्टेसनहरू खुलेका छन्, तिनीहरूले गुणस्तरीय बेचिरहेका छैनन् र बबल टीको असली स्वाद नै दिन सकेका छैनन् । त्यसैले पनि आउटलेट बढाउँदै गएको उनले बताए । ‘हामीले सबै सामग्री ताइवानबाट नै ल्याउने गरेका छौं, जुन आईएसओ सर्टिफाइड छन्,’ उनले भने ।

युवा ग्यालरी

बुनु थारु विगत ७ वर्षदेखि पत्रकारिता गरिरहेकी छिन् । उनी स्वास्थ्य तथा सामाजिक विषयमा लेख्न रुची राख्छिन् ।

Link copied successfully