प्रेमको पर्खाइ ‘मुनमुन’

फाल्गुन १०, २०७९

रीना मोक्तान

काठमाडौँ — कुनै पनि चलेका कृतिलाई त्यही भाव र मिठाससहित मञ्चमा उतार्नु पक्कै पनि निकै चुनौतीपूर्ण काम हो । अझ त्यसमा पुस्तकका चरित्रहरूप्रति गाँसिएको प्रेमले गर्दा फ्यान थिएरी (फ्यानको आकलन) समेत समेटेर देखाउनु त झन् दुस्साहस नै हो । तर बुद्धिसागरको चर्चित उपन्यास ‘फिरफिरे’ बारे त्यस्तै प्रयोग गरेका छन् लेखक/निर्देशक सम्राट भुजेलले । 

पुस्तकको कथासँगै, पात्रहरूले पाठकको हृदयमा जरा गाडेर बसिसकेका हुन्छन् । त्यही पात्रहरूलाई लिएर नयाँ कथा जन्माउनु, पुराना कुरालाई भत्काउनु पनि हो । भुजेलले केही हदसम्म नयाँ कथा निर्माण त गर्न खोजेका छन् । तर उही पात्रहरूको छनोटका कारण उनको नाटक ‘मुनमुन’ हेर्न क्रममा दर्शकले भने ‘फिरफिरे’ सम्झिरहन्छन् । मुनमुनले फिरफिरेको त्यो ह्याङ भने हटाउन भने सकेको छैन । 

‘फिरफिरे’ का प्रमुख पात्रहरू वसन्त र पवन युवा अवस्थासम्म सँगसँगै भइदिएका भए कस्ता हुन्थे होला ? त्यो अटुट दोस्तीको किस्सा कति लम्बिन्थ्यो होला ? बाल्यकालका प्रेमिल भावहरू मायामा परिणत हुँदा हुन् त उनीहरूको जीवन कसरी अगाडि बढ्थ्यो होला ? जुठी आमै, पिच्कु, रक्की दादा, मुनमुन, रमा यतिबेला कस्ता भइसक्थे होलान् ? ‘’फिरफिरे’ ले पाठकमा यस्ता थुप्रै कौतुहल छोडिदिन्छ, जसले वसन्त र पवनका लागि मात्र होइन पुस्तकमा चर्चा गरिएका थुप्रै पात्रहरूप्रति सहानुभूति/प्रेम आभास गराइरहन्छ ।

त्यसैले वसन्त र पवनका प्रेमको कथाको साक्षी भइरहँदा पनि उनी दुईबीचको मित्रताको अभाव ‘मुनमुन’ मा भने खट्किन्छ । यी दुईको मित्रता पढेर हिक्कहिक्क भएका पाठकलाई मुनमुनले त्यही भावनामा भने पुर्‍याउन सक्दैन । पुस्तकका प्रमुख घटनालाई नाटकमा समेट्ने क्रममा निर्देशकले यो पक्ष भने बिर्सेका छन् ।

पवन र वसन्तबीच बाल्यकालमा भएको त्यो घटना युवा अवस्थामा भए के हुन्थ्यो होला ? त्यसको कल्पना गरेर मण्डला थिएटर स्टुडियोमा मञ्चन भइरहेको नाटक ‘मुनमुन’ मा पवन र वसन्तको युवा अवस्थाको प्रेम देखाइएको छ । 

नाटक वसन्त र पवनको मित्रतामा आधारित त छैन । तर उनीहरूको प्रेमको पक्षबाट लेखिएको नाटकमा ‘फिरफिरे’ का त्यस्ता थुप्रै चरित्र देख्न पाइन्छ, जसले पाठकलाई पुस्तकमा भेटेका थिए । पुस्तक पढ्दै गर्दा दिमागमा कल्पिएका प्रिय पात्रहरूलाई पाठकले दर्शक बनेर नाटकमा देख्न पाउँछन् । जुठी आमैलाई एक्लै छोडेर असारे ‘बा’ मुग्लान पसेको दृश्यबाट सुरु हुन्छ नाटक । जुठी आमैले असारे ‘बा’ का लागि गरेको त्यो निःस्वार्थ प्रेम, पर्खाइ, बोक्सीको आरोपमा गाउँ निकाला गरिएको प्रसंग नाटकमा देखाइएको छ । नाटकको कथा पवन र वसन्तसँगै, जुठी आमै, मुनमुन, पिच्कु र रक्की दादाले आफ्ना प्रेमका लागि गरेको त्याग, समर्पण, पर्खाइ र पीडामा आधारित छ । 

निर्देशकले भन्न खोजेको कुरा भने नाटकमार्फत स्पष्ट पारेका छन् । नाटकको एउटा दृश्यमा सुकेको रूखको छेउमा, मुनमुन घोप्टो परेर बसिरहेकी हुन्छिन् । त्यहाँ चुनावको विजय उत्सवका चर्का–चर्का नारा सुनिन्छ, ‘हाम्रो नेता कस्तो होस्’ । तर, मुनमुन भने मौन छिन् । त्यत्तिकैमा जुठी आमै ‘असारे’ को खोजीमा त्यहाँ आइपुग्छिन् । छेउमा टुक्रुक्क बसेकी मुनमुनलाई हेर्दै भन्छिन्, ‘कसको पर्खाइ ? पर्खिनुपर्छ नानी’ । जुठी आमै र मुनमुनले प्रेमका लागि गरेको पर्खाइ हो, ‘मुनमुन’ । वसन्त र रमाले पवनका लागि गरेको पर्खाइ, रक्कीले आफ्नो प्रेमका लागि गरेको त्याग नाटकमा देखाइएको छ । श्रीशेष श्रेष्ठको सहनिर्देशन रहेको ‘मुनमुन’ मा संगीतको प्रयोग बेजोड छ । पात्रहरूको भावना, मञ्चमा निर्माण गर्न खोजिएको त्यो परिवेशमा पुर्‍याउन बाँसुरीको धुनले निकै ठूलो भूमिका खेल्छ । प्रेमिल भावमा बाँसुरी सँगसँगै बज्ने तबलाको धुन, वियोगान्तमा बज्ने बाँसुरीको फ्रि–स्टाइलले कथासँग बाँधेर राख्छ । 

युवा ग्यालरी

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully