१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बियोन्सेको सांगीतिक पुनर्जागरण

हिमेश

काठमाडौँ — कुनै एक सांगीतिक ‘टुर’ को यति धेरै चर्चा अहिलेसम्म विरलै मात्र भएको होला, अझ त्यो पनि ‘टुर’ सुरु हुन अगाडि नै । हामी कुरा गरिरहेका छौं, बियोन्सेको ‘रेनेसाँस वर्ल्ड टुर’ को । यी अमेरिकी गायिका के मात्र होइनन् ?

बियोन्सेको सांगीतिक पुनर्जागरण

गीतकार, अभिनेत्री, नर्तकीदेखि अरू धेरै थोक । तर उनको खास परिचय भने संगीतकर्मी नै हो । यसैका लागि उनी विश्व प्रसिद्ध छिन्, जता जान्छिन्, त्यहाँ उनलाई खुबै मन पराइन्छ, उनले गरेको कामको मन खुलेर प्रशंसा गरिन्छ ।

लामै समयदेखि यो क्षेत्रमा सक्रिय रहे पनि उनले धेरै विश्व टुर भने गरेकी छैनन् । अबको टुर पनि जम्माजम्मी नवौं मात्र हो । मे महिनाको १० तारिखबाट टुर हुनेछ, स्टकहोमबाट । टुर ४३ दिन चल्नेछ । एउटै खास एल्बमको नाम राखेर निस्कने त यो बियोन्सेको दोस्रो टुर मात्र हो । उनले अन्तिम पटक यस्तै टुर सन् २०१६ मा गरेकी थिइन् । त्यस अर्थमा बियोन्से टुरमा ननिस्केको पनि करिब सात वर्ष भइसक्यो । उनी जत्तिको गायिकाका लागि त यो लामै समय हुन्छ ।

टुरका क्रममा उनी युरोप र उत्तर अमेरिकाका विभिन्न सहरमा लगातार छाउने छिन् । संगीतलाई विशेष प्राथमिकतामा राखेर समाचार छाप्न रुचाउने मिडियाले पनि अहिले नै विभिन्न अड्कल काट्न सुरु गरिसकेका छन् । उनीहरूले लेखिरहेका छन्, टुरका क्रममा यो सहरमा यस्तो हुनेछ, अर्को सहरमा यस्तो हुनेछ भनेर । अनि उनका प्रशंसक भने टुरको टिकट किन्न मारामार गरिरहेका छन्, भलै धेरैको गुनासो सुनिएको छ, टिकट अलि महँगो भयो कि ?

फेरि टिकट महँगो भएर के भयो र ? यसलाई पाउन पनि गाह्रो छ, जतिले पाएका छन्, पछि जतिले पाउने छन्, ती त भाग्यमानी हुन् । किनभने टिकटका लागि सबैभन्दा पहिले नाम दर्ता गराउने पर्नेछ अनि चिट्ठा खोल्ने शैलीमा भाग्यमानीलाई पनि टिकट दिइनेछ । बियोन्से कति महँगो गायिका हुन् त ? यसको अनुमान केही साता अगाडि दुबईमा भएको एक कन्सर्टले नै देखाउँछ । एउटा महँगो होटलमा आयोजित कार्यक्रमका लागि बियोन्सेलाई २ करोड ४० लाख डलर तिरिएको थियो ।

त्यो कार्यक्रममा पनि बियोन्सेले ‘रेनेसाँस’ एल्बमको नयाँ गीत कुनै गाइनन् । बरु जुन देशमा मानवअधिकार कमजोर छ, जहाँ लैंगिक समानता छैन, त्यहीं गएर उनले किन गाइन् भनेर चर्को आलोचना भने भयो । तर टुरमा निस्कन अगाडि बियोन्सेले आफ्ना प्रशंसकलाई विश्वास दिलाउन चाहेकी छन्, अब जे हुन्छ, त्यो गज्जब हुनेछ । अनि केही समाचारमा लेखिएजस्तै, यस्तो टुर एक पुस्तामा एकैपल्ट मात्र सुन्न र देख्न पाइनेछ ।

बियोन्सको त्यही ‘रेनेसाँस’ अन्तिम एल्बम निस्केको थियो, गत जुलाई अन्त्यतिर । तर अहिलेसम्म पनि यसको चर्चा सेलाएको छैन । सेलाउने छाँट पनि छैन । उनको यो सातौं स्टुडियो एल्बम हो । यसअघि उनको सन् २०१६ मा ‘लेमोनाडे’ निस्केको थियो । ‘रेनेसाँस’ मा सबै गीत लेख्ने र संगीत भर्ने काम उनैले गरेकी हुन् । उनले यस्ता गीत भने कोभिड–१९ महामारीका बेला सिर्जना गरेकी हुन् । रेकर्ड पनि यही समय नै गरिन् ।

महामारीको समय कस्तो रह्यो, सबैलाई थाहा छ । सबै समाजसँग अलग जस्तै भएको थियो, एक्लाएक्लै कतै कहीं कुनामा । यस्तोमा बियोन्सेलेलाई के लाग्यो भने यही त मौका हो, सन् सत्तरीतिरको ब्ल्याक डान्स म्युजिकलाई फेरि एकपल्ट ब्युँझाउने । त्यही त हो, ‘रेनेसाँस’ । अर्थात् पुनर्जागरण । यसमा बियोन्सेले जति पनि गीत बनाएकी छन्, त्यसको अवधारणा हो, प्रत्येक दिनका दुःखबाट दिक्क भएर कुनै मीठो कल्पनामा डुब्नु ।

व्यावसायिक रूपमा पनि यो एल्बम उत्तिकै सफल रह्यो । धेरै देशको चार्टमा यो नम्बर १ रह्यो । बिलबोर्ड २०० मा पनि यसले शीर्ष स्थान ओगट्ने अवसर गुमाएन । ‘ब्रेक माई सोल’ यो एल्बमको प्रमुख गीत हो र यसलाई नै धेरैले रुचाए । त्यसैले यो पनि धेरै देशमा नम्बर १ गीत बन्यो । यो गीतको विशेषता पनि त्यही ‘डान्स पप’ नै हो । संगीतका समालोचकहरू के मान्छन् भने ‘रेनेसाँस’ सुनेपछि एउटा छुट्टै मीठो आनन्द आउँछ, त्यसमाथि बियोन्सेको स्वरै पनि उत्तिकै राम्रो छ ।

ग्रामी अवार्डलाई लिएर अब के त ? यस्तै सोच्दै होलिन् बियोन्से, किनभने उनकै नाममा छ, विश्व संगीतको सबैभन्दा ठूलो अवार्ड सबैभन्दा बढी जित्ने कीर्तिमान । ग्रामीको इतिहास आधा शताब्दी जति पुरानो छ र त्यस इतिहासकै उनी सबैभन्दा सफल गायिका हुन् । महिना दिन अगाडि भएको यसपल्टको ग्रामीको कार्यक्रममा उनले चार विधामा जित हात पारिन् । त्यसको अर्थ हो, उनले जितेको ग्रामी अवार्डको संख्या ३२ पुगेको छ ।

त्यसो त उनी नौ विधामा मनोनयनमा परेकी थिइन् । तर जतिमा जितिन्, त्यसमा निकै खुसी भइन् । अझ व्यापक भावुक पनि भइन् । तर भन्थिन्, ‘म धेरै भावुक नहुने प्रयासमा छु । म यो रातलाई महसुस गर्दै छु । मलाई रक्षा गरेकामा भगवान्लाई धन्यवाद दिन चाहन्छु ।’ साँच्चै यति धेरै ग्रामी अवार्ड जितिसकेपछि एक संगीतकर्मीका रूपमा अब उनी के पो विशेष गर्छिन् होला त ? बियोन्सेको जति पनि नजिकै छन्, तिनको दाबी छ, ग्रामी अवार्डको लोभ उनमा अझै मरेको छैन ।

त्यसैले त उनी चाँडै नयाँ एल्बमको तयारीमा छिन् । अझ त्यो पनि एल्बमको शृंखला । विश्वास नहुन सक्छ, बियोन्सेले तीन एल्बमलाई पुग्ने गरेर गीत बनाइसकेकी छन् । पछिल्लो ग्रामी अवार्डमा उनी ‘एल्बम अफ द इयर’ विधाको मनोनयनमा पनि परेकी थिइन् । तर जित्न सकिनन्, यो अवार्ड ह्यारी स्टाइल्सको नाममा गयो, ‘ह्यारिज हाउस’ का लागि । अहिलेसम्म बियोन्से पाँचपल्ट यो अवार्डका लागि मनोनयनमा परिसकेकी छन् ।

तर प्रत्येकपल्ट यो अवार्ड अरू कसैको नाममा गएको छ । त्यसैले त उनी यो एक अवार्ड जित्ने दाउमा छिन् । अनि उनका समर्थकलाई के पनि विश्वास छ भने ढिलो–चाँडो यो अवार्ड पनि उनको नाममा घोषणा गरिनेछ, खालि प्रश्न हो, कहिले ? केहीलाई के तथ्यमा पनि आश्चर्य छ भने अहिलेसम्म बियोन्सेले यो अवार्डचाहिँ अहिलेसम्म किन जित्न नसकेको होला ? केहीको आरोप के पनि छ भने बियोन्से अश्वेत हुन्, त्यसैले उनलाई कहिलेकाहीं पछाडि परिन्छ, श्वेत मानसिकताले ।

संयोग नै मानौं, प्रत्येकपल्ट उनले यो अवार्ड गुमाउँदा जित्ने श्वेत नै छन् । जस्तो, सन् २०१५ मा उनको आफ्नै नाममा रहेको एल्बमभन्दा बेकको ‘मनिङ बेक’ राम्रो ठहरियो । अनि सन् २०१७ मा उनको ‘लेमोनेड’ को तुलनामा एडेलको ‘२५’ नै राम्रो मानियो । अहिले ह्यारी उनको तुलनामा राम्रो भनियो । यो संयोग मात्रै हो कि ? सायद यसको पनि उत्तर हो, उनको तर्फबाट अझै पनि सबैभन्दा महान् र कालजयी केही आउन त बाँकी नै छ ।

प्रकाशित : फाल्गुन ११, २०७९ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?