किन रिसाइन् आलिया ?

घरमै बसिरहेका बेला छिमेकीको छतबाट तस्बिर खिचेर सार्वजनिक गरिदिएपछि बलिउड अभिनेत्री आलिया भट्ट रुष्ट

फाल्गुन ११, २०७९

एजेन्सी

मुम्बई — अनुमतिबिना तस्बिर खिचेको र सञ्चारमाध्यममा सार्वजनिक गरेको भन्दै बलिउड अभिनेत्री आलिया भट्ट रिसाएकी छन् । आलिया घरमा बसिरहेका तस्बिर खिचेर भारतीय सञ्चारमाध्यम इटाइम्सले पोस्ट गरेको थियो । त्यसलगत्तै रिसाएकी आलियाले इन्स्टाग्राम अकाउन्टमा स्टोरी पोस्ट गर्दै कडा प्रतिरोध गरेकी हुन् । 

‘के मलाई जिस्काइरहेको हो ? बिहानको सयम ठिकठाक चलिरहेको थियो । म आफ्नै घरको बैठक कोठामा बसिरहेकी थिएँ । त्यति नै बेला मलाई कसैले हेरिरहेको छ जस्तो लाग्यो । यसो माथि हेर्दा मैले अगाडिपट्टिको घरको छतमा दुई जना क्यामेरा लिएर बसेको देखेँ । कुन संसारमा यस्तो हर्कत सही हुन्छ र अनुमति दिइन्छ ? यो पूर्णरूपमा गोपनीयताको उल्लंघन हो । हरेक कुरा सीमा हुन्छ, जुन कसैले पार गर्न हुँदैन । तर त्यो सीमा पार भएको छ,’ आलियाले मंगलबार राति राखेको इन्स्टाग्रामको स्टोरीमा उल्लेख छ । 

हालै आमा बनेयता उनी घरमै बसिरहेकी छन् । आलियाले गत नोभेम्बरमा छोरी राहालाई जन्म दिएकी थिइन् । स्टोरी पोस्ट गरेसँगै उनले सहयोगका लागि मुम्बई प्रहरीलाई समेत ट्याग गरेकी छन् । आलियाले विरोध जनाएपछि अन्य बलिउडकर्मीले पनि उनको समर्थन गरेका छन् । अभिनेत्री अनुष्का शर्मा, करण जोहर, अर्जुन कपुर, जाह्नवी कपुर, स्वारा भाष्कर आलियाको पक्षमा देखिएका हुन् । 

‘निश्चय नै निकै लाजमर्दो,’ अर्जुन कपुरले लेखेका छन् । कपुरले एक महिला आफ्नो घरमा समेत सुरक्षित नभएको भन्दै उनले आपत्ति जनाएका छन् । त्यसैगरी, अनुष्काले पनि अर्काको घरमा चिहाउने र तस्बिर खिचेर सार्वजनिक गर्ने काम निकै आपत्तिजनक भएको लेखेकी छन् । ‘यिनीहरूले यो पहिलोपटक गरेका होइनन् । दुई वर्ष पहिले पनि यस्तै भएपछि हामी संगठित हुनुपरेको थियो । यो सब गरेर के सम्मान पाइन्छ ?’ उनले लेखेकी छन् । 

‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउड फिल्ममा मुख्य भूमिकामा देखा परेकी आलियाले यसपछिका फिल्मा झन् दमदार भूमिका निर्वाह गरेकी छन् । यद्यपि, उनलाई बेलाबेलामा फिल्म निर्माता परिवारबाट फिल्म क्षेत्रमा आएकी भन्दै आलोचना हुने गरेको छ । तर त्यस्तो आलोचनालाई उनले अभिनयबाटै जवाफ दिने गरेकी छन् । आलियका ‘ब्रह्मास्त्र’, ‘गंगुबाई काठियावाडी’, ‘आरआरआर,’ राजी, ‘हाइवे’, ‘डियर जिन्दगी’, ‘गल्ली ब्वाई’ लगायतका फिल्म चर्चित छन् ।

युवा ग्यालरी

एजेन्सी

Link copied successfully