३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

फिल्मकर्मी तान्दै पत्ताले

भानुभक्त निरौला

सोलुखुम्बु — चिसो, दुर्गम अनि विकटको पहिचान बनाएको सोलुखुम्बुको परिभाषा पछिल्लो समय बदलिँदै गएको छ । हिमाली जिल्ला अहिले विदेशी पर्यटकका लागि मात्र होइन, नेपाली कलाकर्मीको रोजाइमा पनि पर्न थालेको छ ।

फिल्मकर्मी तान्दै पत्ताले

यसअघि खुम्बु क्षेत्रमा मात्रै फिल्महरू छायांकन हुँदै आएकामा हाल भने जिल्लाको प्रमुख प्रवेशद्वार पत्ताले नेपाली कलाकर्मीका लागि आकर्षक छायांकन स्थल बन्दै गएको छ । खुम्बु क्षेत्रमा चर्चित हलिउड फिल्म ‘एभरेस्ट’ र बलिउड फिल्म ‘उचाइ’ को छायांकनपछि तल्लो क्षेत्रको हिमाली बस्ती पत्तालेमा पनि नेपाली फिल्म तथा टेलिशृंखलाको सुटिङ हुन थालेको छ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि अन्य हिमशृंखलाको दृश्य नजिकबाट सहजै कैद गर्न सकिने भएकाले पनि चलचित्र निर्माताको ध्यान पत्तालेले तानेका हो । समुद्री सतहबाट ३ हजार मिटरको उचाइमा रहेको पत्तालेबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से र गौरीशंकर हिमाललाई नजिकबाट नियाल्न सकिन्छ । पछिल्लो समय नेपाली चलचित्र ‘स्वर्ग मेरो गाउँ’, ‘प्रेम गञ्ज’ तथा हाँस्य टेलिशृंखला ‘सक्किगोनी’ को १००औं शृंखलाको छायांकन गरिएको छ ।

‘हामीले पत्तालेमा साँच्चिकै स्वर्गीय अनुभूति गर्न पायौं,’ नेपाली चलचित्र स्वर्ग मेरो गाउँको छायांकनका लागि आएका निर्देशक रामकृष्ण बजगाईंले भने । यहाँको प्राकृतिक सौन्दर्यले लोभ्याएपछि उनले लगभग पूरापूरी फिल्म पत्तालेको ग्रामीण परिवेशमा नै छायांकन गराएका थिए । ‘यहाँको रहनसहन, संस्कृति र सम्पदा नेपाली दर्शकलाई पस्कन योग्य छन्,’ चलचित्रकी नायिका भावना गुरुङले भनिन् । नायक नरेन खड्का पनि पत्तालेको एकमहिने बसाइमा दंग नै देखिन्थे ।

राष्ट्रियस्तरका कलाकारको आवागमनले यस क्षेत्रका बालबालिकामा पनि सकारात्मक प्रभाव परिरहेको छ । ‘यहाँ फिल्म सुटिङ हुँदा हाम्रा बालबालिका पनि कलाकारितामा रुचि राख्ने भएका छन्,’ पत्ताले आधारभूत विद्यालयका प्रधानाध्यापक राम मगरले कान्तिपुरसँग भने ।

प्रेमगन्जकी नायिका बेनिशा हमालले पनि पत्तालेको मनोरम दृश्यले लोभ्याएको बताइन् । यहाँको वनजंगल, मिलेको प्रकृति अनि उदाएको र अस्ताएको घामलाई नजिकबाट स्पर्स गर्ने कुराले मोहित बनाएको उनले बताइन् । फिल्महरूको सुन्दर ग्रामीण भूगोलमा गरिने छायांकनले आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास कलाकारहरूको छ । लगातार फिल्महरूको छायांकन हुन थालेपछि स्थानीय पनि आफ्नो स्थानको प्रवर्द्धन भएकोमा मक्ख छन् ।

प्रकाशित : माघ १२, २०७९ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?