१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

१७ वर्षमै व्यावसायिक मूर्तिकार

अगन्धर तिवारी

पर्वत — कक्षा ४ पढ्दैदेखि सेतो कागज भेट्यो कि चित्र कोरिहाल्ने बानी थियो पर्वतका विक्रम अधिकारीको । फुर्सद हुनासाथ अगाडि उभिएको मानिस वा विभिन्न देवीदेवताका चित्र उतार्न भ्याइहाल्थे । कहिलेकाहीँ शिक्षकले दिएको गृहकार्यसमेत नगरी चित्र कोरेकै कारण बाबुआमा र शिक्षकको गालीसमेत खान्थे ।

१७ वर्षमै व्यावसायिक मूर्तिकार

कुश्मा नगरपालिका–१० पीपलटारीका १७ वर्षीय विक्रम अधिकारीको उतिबेलादेखिको लगाव देखेर तिनै शिक्षक, अभिभावक र छिमेकी भने अहिले दंग छन् ।

सिसाकलमले कापीका पानामा उतार्ने गरेको चित्रलाई विक्रमले पछिल्लो दुई वर्षयता ढुंगामा फलामका किलाले कोतरेर दुरुस्तै बनाउन थालेका हुन् । सुरुसुरुमा घर वरपर पाइने ढुंगा र किलाले कोतरेर मूर्ति बनाउन सुरु गरेका अधिकारी अहिले भने व्यावसायिक मूर्तिकार भइसकेका छन् । उमेरले उनी १७ वर्ष पुग्दैछन् ।

कक्षा १२ मा अध्ययनरत उनले पढाइबाट बचेको समयमा मूर्ति बनाएर करिब तीन लाख रुपैयाँ कमाइसके । सुरुमा बनाएका मूर्ति देखेर अभिभावक र छिमेकले प्रोत्साहन गर्न थालेपछि उनलाई हौसला मिल्यो । ‘सुरुमै बनाएको मूर्ति गाउँकै एक जना अंकलले १० हजार दिएर लैजानुभयो । यस्तो बनाउँदा बिक्री हुँदोरहेछ । अलि राम्रो बनाउन सके अझै धेरै मूल्य पर्छ भन्ने लाग्यो,’ विक्रमले भने, ‘त्यो पैसाले मूर्ति बनाउन आवश्यक साधन किनें । त्यसयता निरन्तर मूर्तिको अर्डर आउन थालेको छ ।’

अहिले उनलाई मूर्ति बनाउन म्याग्दी, स्याङ्जा, कास्की, बागलुङलगायतबाट अर्डर आउन थालेको छ । पछिल्लो समय उनले बनाएको एउटै मूर्ति ५० हजार रुपैयाँभन्दा बढीमा समेत बिक्री हुन थालेको छ ।

विक्रम आफ्नै हातले कुँदेका मूर्ति लिन सोमबार स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको एक टोलीले अकल्पनीय मूर्ति बनेको भन्दै उनलाई प्रोत्साहनस्वरूप बोलकबोलभन्दा बढी रकम दिएर फर्किए । ‘कलिलो केटोले बनाउँछ भनेपछि उसैलाई प्रोत्साहन गर्नुपर्छ भनेर यहाँ अर्डर गरेका थियौं,’ अर्जुनचौपारी गाउँपालिका–१ का डिलबहादुर अधिकारीले भने, ‘हामीले सामान्य भए पनि चल्छ भनेर अर्डर दिएका थियौं । यहाँ आएर हेर्दा अचम्म लाग्यो । हामीले अपेक्षा गरेभन्दा कैयौं गुणा आकर्षक मूर्ति बनेछन् ।’ डिलबहादुरसहित अधिकारी काश्यप गोत्रीय ऋषि, गेटपाले र बिन्दबासिनीको मूर्ति अर्डर गरेको उनले बताए । अर्डर गरेको दुई महिनाको अवधिमै आकर्षक मूर्ति बनाएको उनले बताए ।

पछिल्लो समय विक्रमले देवीदेवताका साथै विभिन्न ऋषिमुनिका मूर्तिसमेत निर्माण गर्न थालेका छन् । ग्राहकको माग र साइजअनुसारका ढुंगा कालीगण्डकी किनार तथा विभिन्न खोलाकिनारबाट ल्याएर फलामे छिनो, किल्लालगायतको सहायताले हातबाटै मूर्ति बनाउँदै आएका छन् । ग्राहकको माग र आवश्यकताअनुसारको रङ भरेर उनले हरेक देवीदेवता तथा ऋषिमुनिका मूर्ति उतार्न थालेका छन् ।

‘सुरुसुरुमा नपढेर केकेमा भुल्यो भनेर गाली पनि गरें,’ आमा शारदा अधिकारीले भनिन्, ‘पछि मूर्तिको आकार निकाल्न थालेपछि केही गर्छ भन्ने लाग्यो । उसले मागेका सरसामान किनेर ल्याइदिन थाल्यौं । उसको काम देखेर अहिले खुसी लाग्छ ।’ स्थानीय अगुवा ख्यामनारायण अधिकारीले कलिलो उमेरमै हस्तकलामा निखारिएको प्रतिभाको संज्ञा दिन्छन्, विक्रमलाई । ‘केही व्यक्तिमा यस्तो प्रतिभा त हुन्छ,’ उनले भने, ‘यति कलिलो उमेरमा निखारिएको प्रतिभा मैले कतै देखेको छैन । यस्तो प्रतिभालाई राज्यले प्रोत्साहन गर्नुपर्छ ।’

प्रकाशित : माघ ११, २०७९ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?