इन्डोर प्लान्ट्स : घरभित्रै रोजगारी

कंक्रिटको जंगलमा हरियाली देख्न चाहनेहरू बढेसँगै घर तथा अफिसमा राखिएका इन्डोर र आउटडोर प्लान्ट्सले सहरको सौन्दर्यीकरणमा टेवा त दिएकै छ, वातावरण र ठाउँको लुक्स पनि परिवर्तन गरिदिएको छ
बुनु थारु

काठमाडौँ — काठमाडौंका २६ वर्षीय टासी छिरिङ गुरुङ पनि कोभिड महामारीको लकडाउनमा अरूजस्तै घरको चौघेराभित्रै थुनिन पुगे । गर्दै आएको कपडा व्यवसाय ठप्प भयो । पटक–पटकको लकडाउनमा गुम्सिनुपरेपछि उनले घरमै बसीबसी नयाँ काम सुरु गरे– प्लान्टको व्यापार । पहिल्यै कन्सेप्ट बनाएर राखेका उनको यो आइडियाले लकडाउनमा मूर्त रूप लियो । प्लान्टप्रतिको रुचिलाई व्यापारमा बदलेका उनी व्यवसायबाट निकै सन्तुष्ट छन् ।

इन्डोर प्लान्ट्स : घरभित्रै रोजगारी

‘मेरो फूलबारी’ भन्ने अनलाइन पेजबाट काम सुरु गरेका उनले हाल २ वटा आउटलेट खोलिसकेका छन् । अनलाइन, स्टोर र रेस्टुरेन्ट तथा होटलमा प्लान्ट सजाउने प्रोजेक्टबाट उनी मासिक ८–१० लाख कमाउँदै आएका छन् । भन्छन्, ‘प्लान्टको क्रेज राम्रो छ । आधुनिक तरिकाले व्यापार गर्न जाने व्यवसाय राम्रो छ ।’

पोखराका २६ वर्षीय भूराज गुरुङलाई पनि कोभिड महामारीको लकडाउनले प्लान्टप्रति नजिक बनायो । सानैदेखि प्रकृतिप्रेमी उनी लकडाउन सुरु भएपछि बोटबिरुवामा अझ लगाब बढेको बताउँछन् । आफ्नो वरिपरि बोटबिरुवा भएपछि उनलाई साथीभाइ पनि चाहिँदैन । अहिले उनको घरको बरन्डा, किचेनदेखि बाथरुम सबैतिरका कुना हरिया बोटबिरुवाले भरिएका छन् ।

‘प्लान्टको सौखिन म, लकडाउनले झन् संकलन गर्ने बानी बस्यो । सुरुमा कतिवटा जम्मा गरें भनेर गन्थें, अहिले गनिसाध्य छैन,’ उनी हाँस्दै सुनाउँछन् । इन्डोर प्लान्ट संकलन मात्र होइन, गुरुङले सजाएर राख्न र सजावटका तस्बिरसमेत खिच्न मन पराउँछन् । ‘बिहान एकछिन प्लान्ट हेर्दा पनि मन हल्का हुन्छ । तनावबाट मुक्त हुन्छु । यसले मलाई औषधिकै काम गरेको छ,’ उनी भन्छन् ।

काठमाडौंकी ३० वर्षीया रेबिका तामाङ सकुलेन्ट (पानी कम हाल्नुपर्ने प्लान्ट) संकलक हुन् । हेर्दा आकर्षक देखिने, धेरै पानी हाल्नु नपर्ने, जाडो महिनामा रंग परिवर्तन गर्ने र स्याहार गर्न पनि सजिलो हुने भएकाले सकुलेन्ट रुचाएको उनको भनाइ छ । करिब तीन वर्षअघिदेखि संकलन गर्न थालेकी उनीसँग यसका तीन सयभन्दा बढी प्रकारका सकुलेन्ट छन् । हेर्दा साना देखिने भए पनि यी प्लान्टको मूल्य महँगै हुन्छ । बेलाबेला उनले विभिन्न थरीका सकुलेन्ट एरेन्ज गरेर बेच्ने पनि गर्छिन् ।

२१ वर्षीया कनिष्कालाई इन्डोर प्लान्टसँगै एक्वारियममा राखिने प्लान्ट संकलन गर्न बढी मन पर्छ । एक्वारियममा राखिने माछाको पनि उनीसँग थुप्रै भेराइटी छन् । कनिष्का आफ्नो बोटबिरुवाको मोह सुनाउँदै भन्छिन्, ‘मलाई उनीहरू हुर्किने र नयाँ पालुवा पलाएको हेर्न मजा लाग्छ ।’ नयाँ किन्नभन्दा भएका प्लान्टलाई राम्ररी हुर्काएर प्रोपोगेट गरिरहेको उनले सुनाइन् ।

यी उदाहरणले प्लान्टप्रति पछिल्लो समय युवाको आकर्षण र स्वरोजगारको अवस्था झल्काउँछ । प्लान्टका सौखिनहरू यसको हेरचाह र स्याहारलाई समय कटाउने मेलोसँगै यसले आनन्द महसुस हुने बताउँछन् । विशेषगरी लकडाउनको समयपछि प्लान्टप्रतिको क्रेज युवामा ह्वात्तै बढेको देखिन्छ । कतिसम्म भने कोठाभाडा लिएर बस्नेहरूले पनि बरन्डा वा कोठाभरि प्लान्ट सजाएर राख्ने क्रम बढेको छ । माग बढेसँगै प्लान्ट डेलिभरी गर्ने अनलाइनहरू पनि छ्याप्छ्याप्ती खुलेका छन् ।

बोटबिरुवा सजाएर राख्नु मानिसको पहिलादेखिको नै सोख हो । तर अहिले यसको आकर्षण छुट्टै तरिकाले बढिरहेको देखिन्छ । ठाउँ नभए पनि टेबल प्लान्टहरूको माग बढेको छ भने विभिन्न कार्यालयहरूले पनि भर्टिकल गार्डेनमा जोड दिएको पाइन्छ । इन्स्टाग्राम तथा फेसबुकमा प्रायः प्लान्ट लभरले आ–आफ्नो पेज खोलेर संकलनसँगै हुर्काएका बिरुवाहरू बेच्ने गरेका छन् । नेपाल फ्लोरिकल्चर ग्रुप, हर्टिकल्चर काठमाडौं ग्रुपजस्ता प्लान्ट ग्रुपले पनि बोटबिरुवा मन पराउनेहरूका लागि आफूसँग भएका बिरुवा प्रदर्शन र साटासाट गर्ने राम्रो अवसर जुटाइदिएका छन् ।

व्यक्तिगत रूपमा बोटबिरुवा संकलन गर्ने र व्यवसाय गर्नेको त कमी छैन, पछिल्लो समय देशका मुख्य सहरका चलेका कफी सप, रेस्टुरेन्ट, होटल तथा कार्यालयमा पनि आकर्षक ढंगले इन्डोर प्लान्ट सजाएको देखिन्छ । यसरी सजाइने बोटबिरुवा आकार, प्रकार र गुणस्तरअनुसार मूल्यमा फरक पर्ने बताउँछन् कुमारी नर्सरीका प्रविन्द्र महर्जन । महर्जनका अनुसार सहरमा गार्डेन कम हुने हुँदा विशेषगरी बैठक कोठा, कौसीमा बोटबिरुवा सजाउने बढेका छन् ।

‘धेरैजसो पार्म प्लान्ट बिक्री हुने गरेको छ । त्यसका साथै, टेबल इन्डोर प्लान्ट्सको बजार राम्रै छ,’ उनले भने, ‘अहिले नयाँ भेराइटीका प्लान्ट खोजी गर्ने पनि बढेका छन् ।’ उनको नर्सरीमा एक सयदेखि तीन हजार रुपैयाँसम्मका बोटबिरुवा पाइन्छन् । उनले नेपालमा शृंगारिक प्लान्टको क्रेज बढेको तर सरकारले प्लान्टलाई विलासिताको वस्तुमा राखिदिएको कारण आयात कम भइरहेको बताउँछन् ।

‘अर्बन जंगल होम’ भन्ने पेज चलाउँदै आएकी बिनु श्रेष्ठ बोटबिरुवा संकलनसँगै बिक्री पनि गर्छिन् । उनी रेयर (दुर्लभ) आयातित शृंगारिक प्लान्ट संकलनकर्ताका रूपमा चिनिन्छन् । सम्भवतः नेपालमा उनीसँग धेरै थरीका महँगा रेयर प्लान्ट छन् । भेरिगेटेड मोनेस्टेरा, पिंक प्रिन्सेस, मोनेस्टेरा थाई कन्सटिलेसन, मोनेस्टेरा औरा, मोनेस्टेरा भेरिगेटेड एडोस्नी, एन्थुरियम लक्जरियन्स, एन्थुरियम क्लेरिनर्भियम आदि महँगा प्लान्टमा पर्छन् । जसको मूल्य ५ हजारदेखि ७५ हजारसम्म छन् । सबैभन्दा रुचाइएको भने भेरिगेटेड मोनेस्टेरा र पिंक प्रिन्सेस हुन् । दुई वटा पात भएको एडोसनी ५ हजारसम्म पर्छ । मोनेस्टेरा थाई कन्सिटिलेसन र मोनेस्टेरा औराको मूल्य २५ हजारसम्म पर्छ । रेयर मार्केटको प्लान्ट सानो भए पनि ‘डाइहार्ड’ प्लान्ट लभरहरूको रोजाइमा पर्छ ।

गैंडाकोट, चितवनमा ‘अर्बन बोटानिक्स’ नामको नर्सरी सञ्चालन गर्दै आएका अमित भट्टराईले प्लान्ट व्यवसाय राम्रो देखेर नै साढे २ वर्षअघि नर्सरी खोले । धेरैजसो युवा, अफिस, वास्तुअनुसार प्लान्ट राख्ने सुझाव पाएकाहरू बढी बिरुवा खोज्दै आउने उनको भनाइ छ । ‘प्लान्ट क्रेज बढेको छ । यही उत्पादन हुने त्यति महँगो हुँदैन । महँगा प्लान्टहरू अलि हुनेखानेले मात्र किन्ने गरेका छन् । अरू विभिन्न खालको प्लान्टले पनि घर सुन्दर देखिन्छ, त्यसको माग बढ्दो छ ।’ राजधानीजस्तो कंक्रिटको जंगलमा हरियाली देख्न चाहनेहरू बढेकामा खुसी व्यक्त गर्छिन् अर्बन जंगलकी बिनु । ‘विदेशमा पहिलादेखि नै थियो, यता अभ्यास सुरु हुँदै छ । हरियो बोटबिरुवा हेर्दा आकर्षक देखिन्छ नै, यसले वातावरण र ठाउँको लुक्स नै परिवर्तन गरिदिन्छ,’ बिनुले भनिन् ।

सहरीकरणका नाममा बोटबिरुवा माँसिँदै गएका छन् । घर तथा अफिसमा राखिने इन्डोर र आउटडोर प्लान्ट्सहरूले उजाड सहरको सौन्दर्यीकरणमा टेवा दिएको प्लान्ट लभरहरूको बुझाइ छ । ‘मेरो फूलबारी’ का गुरुङले प्लान्ट सजाएर राख्नु इन्टेरियर डिजाइनिङको एउटा पाटोका रूपमा रहेको बताउँछन् । भन्छन्, ‘प्लान्ट सजाएर राख्ने चलन बढ्दो छ । यसले सौन्दर्यको प्रतीकको काम गर्छ ।’ उनी कुनै पनि काम आधुनिक तरिकाले गर्न सके सफल भइन्छ भन्ने विश्वास राख्छन् । उनले चलेका कफी सप, आईटी कम्पनी, रेस्टुरेन्ट तथा होटलहरूमा आफ्नो काम देखाइसकेका छन् ।

नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार विभिन्न थरीका इन्डोर प्लान्टहरू भियतनाम, डेनमार्क, नेदरल्यान्ड, थाइल्यान्ड, इन्डोनेसियाबाट बढी आउने गरेका छन् । एसोसिएसनका कार्यक्रम संयोजक जंगबहादुर तामाङका अनुसार नेपाली बजारमा इन्डोर तथा शृंगारिक प्लान्टको बजार राम्रो छ ।

तामाङ भन्छन्, ‘इन्डोर प्लान्टहरू कतिपय यहीं पनि उत्पादन हुन्छन् । कोभिडमा आयातमा समस्या भएको थियो तर अनलाइन प्लान्ट व्यवसाय बढेको छ । साथै गार्डेनिङ तथा कौसीखेती पनि फस्टाउन पाएको थियो । हरेक वर्ष १० देखि १५ प्रतिशतको हाराहारीमा यसको मार्केट ग्रो भइरहेको छ ।’

प्रकाशित : माघ ११, २०७९ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?