१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ब्ल्याक बक्स के हो ?

एजेन्सी

काठमाडौँ — विश्वका कुनै पनि स्थानमा विमान दुर्घटनाग्रस्त भएको खण्डमा त्यसको कारणलगायत तथ्यहरू पत्ता लगाउन विमानको ब्ल्याक बक्सको खोजी तथा अध्ययन गर्ने गरिन्छ । तर खासमा त्यस्तो ब्ल्याक बक्स के हो त ? हामीमध्ये कतिपयलाई यसबारे थाहा नहुन सक्छ । 

ब्ल्याक बक्स के हो ?

ब्ल्याक बक्स खासमा एक रेकर्डर हो । यो विमानको पछिल्लो भाग (पुछार) मा राखिएको एक महत्त्वपूर्ण उपकरण हो । सुरक्षाको दृष्टिले यसलाई विमानको पछिल्लो भागमा राख्ने गरिएको हो । यो बलियो धातु टाइटेनियमबाट बनाइएको हुनाले आगोले जलाउन सक्दैन । ब्ल्याक बक्स जुनसुकै अवस्थामा पनि सुरक्षित रहन्छ । दुर्घटनापछि विमान समुद्रमा डुबेको अवस्थामा पनि ब्ल्याक बक्सको भ्वाइस रेकर्ड सुरक्षित रहन्छ ।

ब्ल्याक बक्समा विमान दुर्घटना हुनुभन्दा अगाडिको २ घण्टाको कुराकानी तथा आवाज र २५ घण्टासम्मको उडानसम्बन्धी सूचना रेकर्ड हुन्छन् । विमान जस्तोसुकै दुर्घटनामा परे पनि यो ब्ल्याक बक्स सुरक्षित हुने गरी निर्माण गरिएको हुन्छ । यसमा रेकर्ड भएका कुराकानी वा आवाजको आधारमा विमान दुर्घटनाको कारण पत्ता लगाउन सकिन्छ । ब्ल्याक बक्समा रेकर्ड हुने ककपिटमा गरिएको कुराकानीसँगै इन्जिन तथा आपत्कालीन संकेतहरूको आवाजले दुर्घटनाका समयमा जहाजको अवस्थाबारे बुझ्न सकिन्छ । त्यसका साथै, जहाजका पाइलट तथा को–पाइलटले गरेको कुराकानी पनि ब्ल्याक बक्सबाट नै थाहा हुन्छ ।

ब्ल्याक बक्समा दुईवटा रेकर्डर हुन्छन् । पहिलो, फ्लाइट डाटा रेकर्डर (एफडीआर) ले विमानको उडानसम्बन्धी डाटा रेकर्ड गर्छ भने अर्को, ककपिट भ्वाइस रेकर्डर (सीभीआर) ले ककपिटमा पाइलटहरूबीच भएको कुराकानीदेखि त्यहाँको आवाज रेकर्ड गर्छ ।

ब्ल्याक बक्सको रंग भने कालो हुँदैन । विमान दुर्घटनामा परेको खण्डमा सजिलैसँगै पत्ता लागोस् र टाढैबाट देखियोस् भनेर यो सुन्तला रङको बनाइएको हुन्छ । यो पहिलो पटक सन् १९५३ मा अस्ट्रेलियामा निर्माण गरिएको हो ।

प्रकाशित : माघ १०, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?