इतिहासकै विनाशकारी भूकम्प- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
आजकै दिन

इतिहासकै विनाशकारी भूकम्प

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १५५६ मा आजकै दिन (जनवरी २३) मा चीनको सान्सी प्रान्तमा विनाशकारी भूकम्प गएको थियो । इतिहासकै विनाशकारी मानिएको भूकम्पमा परी करिब ८ लाख ३० हजार जनाको ज्यान गएको थियो । 

८ म्याग्निच्युड रहेको ठानिएको उक्त भूकम्पले सान्सी र छिमेकी प्रान्त सान्छी निकै प्रभावित भएका थिए । यद्यपि, केही रेकर्डमा उक्त भूकम्प ८.३ म्याग्निच्युडको रहेको जनाइएको छ । भूकम्पले करिब ५ सय २० वर्ग माइलसम्मको क्षेत्रमा क्षति पुर्‍याएको थियो । भूकम्पका कारण ती दुई प्रान्तको जनसंख्या ६० प्रतिशतले घटेको जनाइएको थियो । केही सेकेन्डमात्र गएको भूकम्पपछि कतिपय पहाडको अस्तित्व सकिएको थियो भने त्यस क्षेत्रका अधिकांश नदीको बहाव परिवर्तन भएका कारण भीषण बाढीपहिरो गएको थियो । भूकम्पपछि फैलिएको आगो निभ्न कैयौं दिन लागेको थियो ।

स्थानीय तथ्यांकका अनुसार भूकम्पमा ज्यान गुमाउनेमध्ये अधिकांश घर तथा भवनका ढुंगाले च्यापिएका थिए । उक्त भूकम्पपछि ती प्रान्तमा बाँस तथा काठका घरहरू निर्माण गर्न थालिएको जनाइएको छ । वेई नदी उपत्यकामा केन्द्रबिन्दु रहेको भूकम्पले सबैभन्दा बढी विनान र हुयायिन प्रभावित भएका थिए । भूकम्पका कारण हुवाछियान सहरका सबै घर तथा भवनहरू ध्वस्त भएका थिए । सहरमा मात्र दसौं हजार जनाको ज्यान गएको थियो । त्यसको दुई वर्षपछि पनि वेई नदी क्षेत्रमा पर्ने वेइनान सहरमा शक्तिशाली भूकम्प गएको थियो ।

प्रकाशित : माघ ९, २०७९ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्

बगैंचामै रहे जुनार

विगतका वर्ष यतिबेला बगैंचाको जुनार आधा बिक्री भइसक्थ्यो, यस वर्ष माघ दोस्रो साता सुरू हुँदासमेत भनेजस्तो व्यापार छैन
राजकुमार कार्की

माझकुभिन्डे, सिन्धुली — गोलन्जोर गाउँपालिका–४ तीनकन्या माझकुभिन्डेकी बिन्दा ठकुरी बिहानै क्रेट बोकेर बगैंचामा पुग्छिन् । बोटमा पहेंलपुर भएर लटरम्म जुनार देखेर दंग हुने उनलाई बिक्रीको चिन्ता उत्तिकै छ । विगतका वर्ष यतिबेला बगैंचामा भएको जुनार आधा बिक्री भइसकेको थियो । यस वर्ष भने माघ दोस्रो साता सुरु हुँदासमेत चलेको छैन ।

‘जुनार उत्पादन यस वर्ष चार/पाँच वर्षयताकै राम्रो भएको छ,’ ठकुरीले भनिन्, ‘पाक्नुअगावै जुनारको बगैंचामा आएर खरिद गर्ने व्यापारी नआउँदा चिन्ता बढेको छ ।’

थोरैथोरै जुनार बजारमा लगे पनि ठूलो परिमाणमा किन्ने व्यापारी बगैंचामा नआएसम्म जुनार किसानको मुहारमा समेत उज्यालो हुँदैन । जुनारमा लाग्ने रोगकिरा नियन्त्रण गर्न समूहबाट अलग्गिएर एक्लै औषधिमूलो गरेकी ठकुरी बगैंचामा सबैभन्दा राम्रो आफ्नो भएको दाबी गर्छिन् । पाँच रोपनी क्षेत्रफलमा डेढ सय बोट फल लागेको जुनार र त्यति नै सुन्तला उनको छ । औषधि खरिद गर्नमै २५ हजार लागेको उनले बताइन् । स्याहार, सुसरामा कुनै कमी नराखेकाले ठूला दाना र लटरम्म जुनार फलेको उनको भनाइ छ ।

गतवर्ष तीन लाख आम्दानी लिएकी ठकुरी यो वर्ष पाँच लाख लिने सुरमा छिन् । ‘किनकि यस वर्ष उत्पादन बढेको छ,’ उनले भनिन्, ‘सस्तो खोज्ने व्यापारी त आएका छन् । तर किलोको ६० रुपैयाँभन्दा तल झरेर बिक्री गर्दिनँ । ५० रुपैयाँ किलोको दिन त तीन/चार पटक नै आइसके ।’ माझकुभिन्डेबाट सबैभन्दा बढी जुनार बिक्री गर्ने देवीकुमारी ठकुरी किसानका बगैंचामा उत्पादित जुनार बिक्रीको ग्यारेन्टी सरकारले लिनुपर्ने बताउँछिन् । ‘कहिले किराको प्रकोप, कहिले बिक्री नहुने चिन्ता,’ उनले भनिन्, ‘यस वर्ष जुनार बिकाउनै मुस्किल छ ।’ जुनार र सुन्तला बिक्रीबाट सालिन्दा उनले २५ लाख रुपैयाँ आम्दानी लिने गरेकी छन् । एउटा बगैंचाको जुनार हालसालै १२ लाखमा बिक्री गरेकी उनको अझै त्यति नै आम्दानी हुने बगैंचा पहेंलपुर छ ।

जुनारको राजधानी भनेर चिनिने सिन्धुलीको महाभारत उत्तरतर्फका बगैंचा यतिखेर पहेंलपुर छन् । लटरम्म फलेका जुनारका दानाले गाउँका बगैंचा र बीपी राजमार्ग आसपासका बजार नै पहेंलपुर बनेको छ । जुनार बिक्रीबाट हुने आम्दानीको कल्पना गरेर किसान गद्गद् छन् । जुनारको फेदैसम्म कच्ची सडक पुगेको छ । जुनार बिक्रीबाट किसानले सालिन्दा दुईदेखि २५ लाखसम्म आम्दानी लिने गरेका छन् । जिल्लामै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलन्जोर गाउँपालिका–४ को माझकुभिन्डे र आलेगाउँ पहेंलपुर छ । पुस मसान्तसम्ममा किसानले आधाजसो जुनार बेचिसकेका छन् । अब बगैंचामा आधाजसो जुनार छन् । यो वर्ष भने उत्पादन बढी भएकाले बगैंचाबाट जुनार घटेको छैन । जुनार बिक्री हुनेमा भने किसान ढुक्क छन् ।

चिनियाँ व्यापारीसहितको टोलीले सिन्धुलीको जुनार निर्यातका लागि गाउँमै पुगेर सम्भाव्यता अध्ययन गरेकाले समेत स्थानीय किसानलाई थप ऊर्जा मिलेको छ । बाहिरी मुलुकबाट समेत व्यापारी आएकाले बोटमा नै कुहिएर जाने अवस्था पक्कै नआउनेमा जुनार विकास संघका अध्यक्ष एवं किसान कर्णबहादुर आलेमगर विश्वस्त छन् । भन्छन्, ‘जुनार दिनदिनै बजारमा गएको छ । तर उत्पादन बढ्नु र माग नबढ्नुले सन्तुलन नमिलेको हो । माघ मसान्तसम्ममा सबैको बिक्री हुन्छ ।’

जुनारको बजार काठमाडौं तथा देशका अन्य प्रमुख सहर हो । माझकुभिन्डेमा एक सय ५० हाराहारीका किसानले जुनार खेती गर्छन् । जुनारमा भएको किराको प्रकोप यस वर्ष घटेको छ । ९० प्रतिशत जुनार यो वर्ष जोगिएको किसानको भनाइ छ । किराको प्रकोप हटेसँगै बोट नै सुक्ने रोगले किसानलाई सताएको जुनार सहकारीका केन्द्रीय अध्यक्ष दीपक कोइरालाले बताए । उत्पादन बढेकाले बजार फराकिलो पार्न लागिरहेको उनले सुनाए ।

ठूलो क्षमताको शीतभण्डार निर्माण भए जुनार बिक्रीको चिन्ता हट्ने किसान प्रमेबहादुर ठकुरी बताउँछन् । ‘जुनार भण्डारण गर्न पाए गर्मी मौसममा बजारमा लैजाँदा ढुक्कैसँग बिक्री हुन्थ्यो,’ उनले भने । कोसेलीका रूपमा पठाउन र आफैंले खान मात्र दुई/चार बोट जुनार रोपेका किसानलाई फलले आम्दानी दिन थालेपछि जग्गा अपुग हुँदै आएको अर्की किसान कृष्णकुमारी राक्से ठकुरीले जनाइन् । माझकुभिन्डे र आले गाउँबाट मात्रै वार्षिक १५ करोडको जुनार बाहिरी जिल्लामा पठाउने गरिएको छ ।

समग्र जिल्लामा भने यस वर्ष जुनार, सुन्तला बिक्रीबाट किसानले ५० करोड भित्र्याउने आकलन छ । गोलन्जोर, सुनकोसी, फिक्कल, तीनपाटन गाउँपालिका र कमलामाई नगरपालिकाका केही भागमा गरी एक हजार तीन सय ८५ हेक्टरमा जुनार खेती हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जुनार सुपरजोनका प्रमुख रमेश हुमागाईंले बताए । त्यसमध्ये यो वर्ष बिस्तार भएको ४५ हेक्टरसहित सात सय ५० हेक्टरमा गरिएको जुनार खेतीबाट किसानले आम्दानी लिन्छन् । गतवर्ष ८ हजार ८ सय टन जुनार उत्पादन भएकामा यस वर्ष वृद्धि भएर ९ हजार पाँच सय टन पुग्ने अनुमान छ । जिल्लाको जुनार खेतीमा पाँच हजार किसान आबद्ध छन् ।

प्रकाशित : माघ ९, २०७९ ०७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×