शाहरुख  र गौरीले दिए क्‍वारेन्टाइन बनाउन आफ्नै कार्यालय 

एजेन्सी

मुम्बई — बलिउड स्टार शाहरुख खान र पत्नी गौरी खानले आफूहरुको निजी कार्यालय क्वारेन्टाइन बनाउन सरकारलाई दिने भएका छन् । उनीहरुले महाराष्ट्रको मुम्बईस्थित आफ्नो कार्यालय मुम्बई महानगरलाई क्वारेन्टाइन सञ्चालनका लागि दिने भएका हुन् । 

शाहरुख  र गौरीले दिए क्‍वारेन्टाइन बनाउन आफ्नै कार्यालय 

विश्व नै कोरोना भाइरस(कोभिड-१९) सँग लडिरहँदा उनीहरुले उक्त ठाउँ महिला, बालबालिका र वृद्धवृद्धाका लागि क्वारेन्टाइन बनाउन दिएका हुन् ।


महानगरले शाहरुख र गौरीलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत धन्यवाद दिएको छ । महानगरको ट्वीटर मेन्सन गर्दै शाहरुख र गौरीले लेखेका छन्, 'हामी गर्वका साथ मेरो महानगर भन्छौं, कारण महानगरको टिम कोभिड-१९ सँग लडिरहेको छ । हामी दुवै एकदमै खुसी छौं कि हामी पनि यस कार्यमा सरिक हुन पायौं ।'


शाहरुखको ब्यानर रेड चिल्लीले पनि प्रधान्मन्त्री राहत कोषमा सहयोग गर्ने भएको छ । उनको आईपीएल फ्रेन्चाइज कोलकत्ता नाइट राइडर्सले पनि 'पीएम केयर कोष'मा सहयोग गर्ने घोषणा गरेको छ। शाहरुख दम्पतीले महाराष्ट्रमा काम गरिरहेका स्वास्थ्यकर्मीका लागि पीपीईको व्यवस्था गरिदिने पनि योजना बनाएका छन् ।


शाहरुखको मीर र एकसाथ फाउन्डेसनले एक महिनासम्म मुम्बईका पाँच हजार पाँच सयजनाका लागि खाना खुवाउने भएको छ । मीर फाउन्डेसन ज्यालादारी कामदारका लागि रोटी फाउन्डेसनसँग मिलेर खाद्यन्न जुटाउने तयारीमा लागेको छ ।


यसअघि अभिनेता अक्षय कुमारले पीएम केयर कोषमा २५ करोड दिने घोषणा गरेका थिए । कोभिड-१९ संक्रमणसँग लड्न अक्षयसँगै थुप्रै बलिउड कलाकारले सहयोगको हात अगाडि बढाएका छन् । 'बाहुबली' स्टार प्रभाशले ४ करोड सहयोग गरेका छन् । टिभी होस्ट मनिस पलले २० लाख, अभिनेता विक्की कौशलले १ करोड सहयोग गर्ने घोषणा गरेका थिए ।


त्यस्तै अभिनेत्री प्रियंका चोपडा र पति निक जोनस, कट्रिना र सैफले पनि राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । तर, उनीहरुले सहयोग रकम भने खुलाएका छैनन् ।

प्रकाशित : चैत्र २३, २०७६ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?