२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

दक्षिण भारतमा  एक नेपाली दम्पतीमा कोरोना संक्रमण

सुरेशराज न्यौपाने

नयाँदिल्ली — कामको सिलसिलामा भारतमा बस्दै आएको एक नेपाली दम्पतीमा कोरोना संक्रमण  भएको खुलेको छ । दक्षिण भारतको बेंग्लोरमा बस्दै आएको एक नेपाली परिवारका ४५ वर्षीय पुरुष र ३५ वर्षीया महिलामा कोभिड–१९ पुष्टि भएको हो ।

दक्षिण भारतमा  एक नेपाली दम्पतीमा कोरोना संक्रमण

नेपालको बझाङ घर भएको त्यो दम्पतीमध्ये पहिले श्रीमतीमा दुई साताअघि कोरोना संक्रमण देखिएको थियो । उनी एक भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन् । त्यो परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बेंग्लोर आएकी थिइन् । दुई दिन घरमा बसेकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । पछि स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उक्त भारतीय परिवारको घरमा काम गर्नेहरु सबैलाई बेंग्लोरकै भिक्टोरिया अस्पतालमा आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण गरियो । दुई दिनपछि अएको स्वास्थ्य परीक्षण रिपोर्टमा ती नेपाली महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

ती नेपाली महिलामा कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनलाई उनका श्रीमान् र चारजना छोराछोरीलाई पनि तत्कालै आइसोलेसनमा राख्नका लागि स्थानीय केसी जनरल अस्पताल पुर्याइएको थियो । त्यहाँ तत्कालै उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा आफूलाई मात्र कोभिड १९ संक्रमण देखिएको श्रीमानले कान्तिपुरसँग बताए । छोराछोरीको रिपोर्ट भने नेगेटिभ आएको उनले बताए । ‘मेरो मात्र पोजिटिभ रिपोर्ट आयो, धन्न छोराछोरीमा केही देखिएन,’ उनले भने ।

हाल उनी र चारै जना छोराछोरीलाई बैंग्लोरकै केसी जनरल अस्पतालमा राखिएको छ । रिपोर्ट पोजिटिभ आए पनि आफूलाई खासै गाह्रो नभएको उनले कान्तिपुरलाई बताए । ‘त्यही हो बेलाबेलामा ज्वरो आउँछ नत्र धेरै गाह्रो छैन । सुधार हुँदै गएको छ,’ उनले भने ।

१४ दिनको उपचारपछि महिलाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । र, उपचारपछि गरिएको पछिल्लो स्वास्थ्य परीक्षण कोरोना समेत देखिएको छैन । फेरि अर्को परीक्षण गरिएको र उनको तेस्रो रिपोर्ट भने आउन बाँकी रहेको बताइएको छ । साथै त्यो नेपाली परिवारको सम्पर्कमा आएका अन्य पाँच जनालाई आइसोलेसनमा राखिएको छ ।

बिहीबार साँझसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ हजार ३२ पुगेको छ भने ५८ जनाको मृत्यु भएको छ ।

प्रकाशित : चैत्र २०, २०७६ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?