महाधिवेशनका बेला सडक बन्द हुँदा समस्या हुने भन्दै एमालेनिकट युवा संघले सडक खुलाउन माग गरेपछि शुक्रबार र शनिवारका लागि काम रोकेर सडक पूर्णरुपमा खुला गरिएको हो।
What you should know
काठमाडौँ — एमाले महाधिवेशनलाई लक्षित गर्दै नागढुंगा-मलेखु सडक आज र भोलि बन्द नहुने भएको छ । बुधवारबाट पुस १ गतेसम्म दैनिक पाँच घण्टा बन्द गरेर कालोपत्र गर्ने गरी सूचना जारी भएको थियो। बुधबारदेखि दैनिक पाँच घन्टा सडक बन्द गरेर काम समेत सुरु भइसकेको छ।
महाधिवेशनका बेला सडक बन्द हुँदा समस्या हुने भन्दै एमालेनिकट युवा संघले सडक खुलाउन माग गरेपछि शुक्रबार र शनिवारका लागि काम रोकेर सडक पूर्णरुपमा खुला गरिएको हो।
युवा संघको टोलीले बुधवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमानलाई घिसिङलाई भेटेर महाधिवेशनका लागि दुई दिन सडक खुल्ला गरिदिन आग्रह गरेको थियो। शनिवारबाट भक्तपुरमा एमाले महाधिवेशन सुरु हुँदै छ । देशभरिबाट प्रतिनिधिहरू राजधानी आउने भएकाले सडक अवरुद्ध हुँदा समस्या हुने एमालेको भनाइ थियो।
अहिले दुई दिन सडक खुल्ला गर्ने र त्यसपछि पुर्वनिर्धारित कार्यतालिका अनुसार नै सडक बन्द गरेर काम गरिने नागढुंगा–मुग्लिन सडक योजना कार्यालयका प्रमुख केशवप्रसाद ओझाले बताए । उक्त सडक खण्डमा कालोपत्र गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सडक बन्द गरिएको हो । यो सडकको काठमाडौँ जिल्लाभित्र पर्ने नागढुंगा–पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई सडक विभागले उच्च प्राथमिकतामा राखेको छ ।
त्यसैले उक्त खण्ड अन्यत्र भन्दा साँघुरो भएको र कालोपत्र गर्नका लागि एकै पटकमा धेरै हेभी उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने भएकाले केही समय सवारी आवागमन रोकेर काम गर्न लागिएको प्रमुख ओझाले बताए ।
