नयाँ एमाले,नयाँ स्थितिमा,नयाँ तरिकाले अगाडि जान ११ औं महाधिवेशनको झनै महत्व छ : उपमहासचिव रिमाल्

'एमालेमा प्रतिस्पर्धा त सबैले गर्न पाउनुहुन्छ । प्रत्येक प्रतिनिधिले कुनै पनि पदमा उठ्न पाउनुहुन्छ, त्यो समस्या छैन । हामीले त्यो विधि ढोका खोलेकै छौँ ।' -उपमहासचिव रिमाल

मंसिर २५, २०८२

कान्तिपुर संवाददाता

The 11th General Convention is even more important for the new UML, in a new situation, to move forward in a new way: Deputy Secretary General Rimal

What you should know

काठमाडौँ — शनिबारदेखि सुरु हुने एमाले महाधिवेशनको सरगर्मी बढेसँगै नेतृत्व चयनका लागि हिसाबकिताब सुरु भएको छ । संस्थापन र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्ष आ–आफ्नो प्यानल बनाउने आन्तरिक गृहकार्यमा लागेका छन् ।

यो महाधिवेशनमा प्यानल नै बनाएर दुई पक्षबीच प्रतिस्पर्धा हुँदैछ । यसमा संस्थापन पक्षको तयारी के छ ? अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र उपमहासचिव विष्णु रिमालसँग कान्तिपुरका गंगा बीसीले गरेको संवाद ।

एमालेको ११औँ महाधिवेशनको मुख्य विशेषता के हो ?

हाम्रो दशौँ महाधिवेशन एक किसिमले संक्रमणकालीन अवस्थामा हामीले गरेका थियौँ । खासगरी माओवादी र एमाले मिलेपछि नेकपा बन्यो । अदालतले एमाले र माओवादी छुट्याइदिएपछि नेकपा विघटन भयो । यो संक्रमणकालीन अवस्थामा हामीले दशौँ महाधिवेशन गरेका थियौँ । त्यो दशौँ महाधिवेशनको बेला स्वयं एमालेमा रहेका केही मानिसहरूले छुट्टै पार्टी बनाएको र माओवादी पार्टीका केही साथीहरू एकीकरण प्रक्रियामा कायम नै रहेको त्यो अवस्थामा त्यसको आफ्नै महत्त्व थियो ।

अहिले हामीले एउटा अवधि पूरा गरेपछि नयाँ एमालेलाई पूर्णता दिँदैछौँ । त्यस कारणले गर्दा यो नयाँ एमाले नयाँ स्थितिमा नयाँ तरिकाले अगाडि जाने हिसाबले ११औँ महाधिवेशनको झनै महत्व छ । एउटा पाटो यो हो । दोस्रो, दशौँ राष्ट्रिय महाधिवेशन हाम्रो आन्तरिक यो झमेलाबाट बाहिर आएको बेलामा भएको थियो भने अहिले चाहिँ राष्ट्रिय राजनीति खजमजेको बेलामा हामी अहिले ११औँ महाधिवेशन गर्दैछौँ । त्यसो भएकोले यो आफैंमा महत्त्वपूर्ण नै छ । 

यो महाधिवेशनले एमालेको नयाँ रूप दिँदैछ । यसको अर्थ नेतृत्व पनि नयाँ हुन्छ ?

यो महाधिवेशनमा त नेतृत्व चयन गर्ने नै हो । हाम्रो दुइटा महाधिवेशन गर्छौँ । एमालेको जीवनमा एउटा नीति र विधिका लागि हामी विधान महाधिवेशन गर्छौँ । विधान महाधिवेशनले जे नीतिगत निर्णय गर्‍यो, विधान बनायो । त्यसकै आधारमा हामी अर्को नियमित महाधिवेशन गर्छौँ । अहिले गर्न लागेको ११औँ महाधिवेशनको मूल काम भनेको अघिल्लो विधान महाधिवेशनले तय गरेको नीतिको आधारमा नेतृत्व नै चुन्ने हो ।

हामीले नेतृत्वको निर्वाचन र नीतिगत विषयको बहसले दुई भागमा बाँडेकोले यो ११औँ महाधिवेशन मूलतः नेतृत्व चयनको मात्रै महाधिवेशन हो । त्यसो भएकोले यसले नयाँ नेतृत्व चुन्छ नै । नयाँ नेतृत्व चुन्छ भन्नाले कतिपय साथीहरू पुनः अनुमोदित हुनुहुन्छ होला । केही नयाँ साथीहरू आउनु होला । त्यसमाथि अहिले यहाँहरूलाई पनि थाहा छ, एमालेले प्रतिनिधि छान्दा–छान्दै ४० वर्षमुनिको एउटा क्लस्टर नै बनाएको छ । ४० वर्षमुनिका साथीहरू अनिवार्य रूपमा प्रवेश गर्नुहोस् भन्ने हिसाबले यो प्रशिक्षणको विधि पनि हो । 

अध्यक्ष केपी शर्मा ओली नै अहिले हाम्रो अध्यक्षमा दोहोरिने त लगभग पक्का जस्तै छ । मूल नेतृत्वको हिसाबले त बाहिर चर्चामा पनि छ । यसमा धेरै हामीले जिब्रो चपाएर बोल्न पनि परेन । अध्यक्ष केपी शर्मा ओली नै अहिले हाम्रो अध्यक्षमा दोहोरिने त लगभग पक्का जस्तै छ । 

अध्यक्ष ओली हुने भएपछि महासचिवका लागि वर्तमान महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली आकांक्षी हुनु भएको छ नि ?

पहिलेको विधानमा हामी १९ जना पदाधिकारी थियौँ । अहिले चार जना पदाधिकारी काटेर १५ जना पदाधिकारीको स्थिति छ । त्यस कारणले गर्दा हामीमा हाम्रो पार्टीमा सामूहिक नेतृत्वमा विश्वास गर्ने भएकोले मूल नेताको वरिपरि अरू नेताहरू चुनिने हो । मूल नेतृत्व (अध्यक्ष) ले जुन हिसाबले कम्फर्टेबल फील गर्नुहुन्छ, त्यही हिसाबले हामी नेतृत्व बनाउँछौँ । अरू कतिपय साथीहरूले दाबी पनि गरेको सुन्छु ।

त्यो अनौपचारिक ढंगले होइन । हामी मूल रूपमा टिमको सल्लाहबाट नै को कहाँ बसेर काम गर्ने, कसको भूमिका कस्तो हुने भन्नेमा पुग्छौँ । त्यस कारणले गर्दा मेरो दाबी अथवा नदाबी, अरू साथीहरूको दाबी वा नदाबी भन्ने कुरो पनि यसमै निर्भर रहन्छ । मूल नेतृत्वले कुन तरिकाले टिम म्यानेज गर्ने हो र भावी दिनमा कसरी पार्टीलाई अगाडि बढाउने भन्नेबारेमा एउटा प्रस्ताव आउँछ । त्यही प्रस्तावको आधारमा हामी अगाडि जान्छौँ । 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले प्यानल नै बनाएर संस्थापनविरुद्ध प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको छ । यसको परिणामको केही अड्कल गर्नुभएको छ ?

एमालेमा प्रतिस्पर्धा त सबैले गर्न पाउनुहुन्छ । प्रत्येक प्रतिनिधिले कुनै पनि पदमा उठ्न पाउनुहुन्छ, त्यो समस्या छैन । हामीले त्यो विधि ढोका खोलेकै छौँ । कुनै पनि पदमा उठ्ने प्रतिस्पर्धा गर्न चाहने साथीहरूको त्यो आफ्नै कुरा भयो ।

हामीले त कोही पनि व्यक्तिहरू एमालेमा यो चुनाव लडे पनि, नलडे पनि, कमिटीमा रहे पनि नरहे पनि कतै नकतै बसेर काम गर्ने वातावरण बनाएका छौँ । त्यस कारणले गर्दा अहिले उम्मेदवार हुनेमा कमरेड ईश्वर पोखरेलको मात्रै नाम हामी सुन्छौँ । अरूको त सुनेका छैनौँ । उहाँले अध्यक्षमै उठ्छु भनेर भनिरहनु भएको छ । त्यो औपचारिक उहाँले मिडियामा बोल्नुभएको छ । पार्टीभित्र त्यो औपचारिक प्रक्रिया त सुरु भएका छैनन् । महाधिवेशन सुरु भएपछि यदि उहाँले साँच्चिकै पठाउनु भयो भने प्रतिस्पर्धा गर्न पाउनुहुन्छ । परिणाम त उहाँ आफैले हिसाब–किताब गर्ने हो । 

पार्टीमा नेतृत्व हस्तान्तरणको कुरा पार्टीभित्र उठिरहेको छ । पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भएको अवस्था छ भनिन्छ । त्यसैले वरिष्ठ उपाध्यक्ष ईश्वर पक्षले उम्मेदवारी दिने तयारी गरेको तर्क छ नि ?

आन्तरिक लोकतन्त्र भनेको फलानो हट्ने र ढिस्कानो बस्ने भन्ने होइन नि । प्रतिस्पर्धा गरेर कार्यकर्ताले मन पराए जाने हो । हाम्रो एमालेमा जनताको बहुदलीय जनवाद भन्छौँ । हामी मार्गदर्शक सिद्धान्तका रूपमा त्यसलाई मान्छौँ । त्यसलाई जबजको प्रतिस्पर्धा, श्रेष्ठता र नेतृत्व भनेर भन्ने गर्छौँ । पहिले हामी पहलकदमीमा जान्छौँ । रेसमा दौडिसकेपछि जो एकभन्दा बढी साथीहरू हुनुहुन्छ, उहाँहरूको बीचमा प्रतिस्पर्धा सुरु हुन्छ ।

प्रतिस्पर्धामा जो खरो उत्रिन्छ, त्यो नै नेता बन्छ । यो एउटा सामान्य विधि हो । नेतृत्व चयनको साइकल त्यसरी बनाएका छौँ । जनप्रतिनिधि हुनलाई जनताले पत्याएको हुनुपर्छ । पार्टीको नेता हुनलाई पार्टीको सदस्यले पत्याएको हुनुपर्छ । अहिले देशभरिबाटै प्रतिनिधि पनि पार्टीको सदस्यले पत्याइएका मान्छे आउनुभएको छ ।

ती पत्याइएका मान्छेहरूले जसलाई पत्याउनु हुन्छ, त्यही नेता हुनुहुन्छ । अब चुनावमा म, कोही वा वरिष्ठ उपाध्यक्ष, कसैले पनि प्रतिस्पर्धा गर्न चाहेमा मलाई कति कार्यकर्ताले मन पराउनु होला ? कतिले भोट दिनु होला ? भनेर हिसाब–किताब गरेर आउनुने भएको होला । त्यो हिसाबले जाने हो । आफू पराजित भइयो भने पार्टीमा लोकतन्त्र भएन, आन्तरिक लोकतन्त्र खस्कियो, आफू जितियो भने चाहिँ गजब गरियो भन्ने भाष्य गलत हुन जान्छ । 

आकांक्षी नेताहरूको व्यवस्थापन र ४० वर्षका युवाहरूलाई पदाधिकारी, केन्द्रीय कमिटीमा ल्याउने गरी फेरि विधान संशोधन गर्न लाग्नु भएको हो ?

हामी उमेरको हिसाबले यो समूहको यति–उति भनेर त्यसरी जान्नौँ । किनभने कम्युनिस्ट पार्टीको नेतृत्वमा आउनका लागि त विचार, कमिटीको अनुभव जम्मै चाहिन्छ । ४० वर्ष मुनिको अथवा ३० वर्ष उमेरका यति भए, त्यस कारण एउटा देखाउनुपर्छ भन्ने किसिमले ‘सो–पिस’ को रूपमा कसैलाई लैजान्नौँ । अहिले ठूलो संख्यामा झन्डै ४ सय जति युवाहरू हाम्रो प्रतिनिधि हुनु भएको छ । यो उहाँहरू प्रशिक्षण पनि हो ।

तर कुन नेतृत्व बन्दै छ भन्ने कुरो पनि हो । यीमध्ये ४० वर्षमुनिका आएका धेरै साथीहरूमध्ये कति तल कमिटीमा काम गरेर माथि आइ सक्नु भएको छ । उहाँहरू स्वाभाविक रूपमा चुनिनुहुन्छ पनि । केन्द्रीय कमिटीमा आउनु होला । उहाँहरूलाई प्रतिनिधि बन्नका लागि हामीले एक ढंगले स्पेसल ठाउँ दिएका हौँ । युवाहरू नेतृत्व चयनमा समान रेसमा गइहाल्नु हुन्छ ।

उहाँहरू जुन–जुन क्लस्टर संवैधानिक हिसाबले समावेशी बनाउने भनेको छ, त्यही हिसाबले समावेशीको रूपमा लैजान्छौँ । उमेर समूहलाई हाम्रो संविधानले पनि समावेश गर्न भनेको छैन । सायद त्यसमा जान्छौँ जस्तो मलाई लाग्दैन । त्यसको लागि त विधान–व्यवस्था पनि छैन । महाधिवेशनले चाहेमा विधान परिवर्तन गर्न सक्ला, नसक्ला । तर अहिले पास भएको विधानमा यो कुरा उल्लेख पनि छैन । 

महाधिवेशनमा विधान संशोधन हुने सम्भावना कति छ ?

यदि महाधिवेशनले चाह्यो भने त सम्भावना हुन्छ । नहुने कुरा भएन । यो त महाधिवेशनको अधिकारको कुरा भयो । विधान महाधिवेशनले गरेको निर्णय अर्को महाधिवेशनले फेर्न सक्दैन भन्ने होइन । महाधिवेशन उत्तिकै त्यो अधिकार सम्पन्न नै हो । तर विधान संशोधन विषयले प्रवेश पाउनु पर्यो । 

अहिले तपाईं उपमहासचिव हुनुहुन्छ । कुन पदमा उम्मेदवार हुनुहुन्छ ?

मेरो निजी सोच त केही पनि हुँदैन । हामीले त पार्टी बनाउने हो, विचारलाई अगाडि बढाउने हो, समाजलाई फेर्ने हो । त्यसो हुँदा–खेरि अघिनै सुरुमा नै मैले भनेँ नि, मूल नेतृत्वलाई सहयोग गर्नेगरी अरू पदाधिकारीहरू चुनिने हो । टिम बनाउने हो । मूल नेतृत्वलाई सहयोग हुने गरी म जुन ठाउँमा बस्दा उपयुक्त पार्टीले ठान्छ, त्यही ठाउँमा बस्ने हो ।

यदि टिमले यो ठाउँमा बस भनेर भन्दाभन्दै पनि कार्यकर्ता पंक्तिलाई त्यसलाई रुचाएन भने हामीले चाहेर पनि हुँदैन । हाम्रोमा विधि त्यो छ । निर्वाचनको विधि हुन्छ हाम्रो पार्टीमा । त्यस कारणले गर्दा व्यक्तिले म यसो गर्छु भनेर रहर गर्ने कुरा आउँदैन । हामी सार्वजनिक रूपमा यस्तो घोषणा गर्दै हिँड्ने पनि गर्दैनौँ सामान्यतया । म पनि त्यस्तै नै हो । 

संस्थापन पक्षबाट पदाधिकारीका लागि तीन दर्जन बढी नेता आकांक्षी देखिन्छन् । कसरी व्यवस्थापन गर्नुहुन्छ ?

असंवैधानिक आयोगले गर्ने कामलाई हामी मान्यता दिदैनौँ भनेर हाम्रो केन्द्रीय कमिटीले निर्णय गरेको छ । सामान्यतया सबै साथीहरूलाई कमिटीमा आफ्नो कुरा राख्न अनुमति दिन्छौँ । त्यसपछि अध्यक्षले आफ्नो राय पनि राख्नुहुन्छ । अध्यक्षको रायमा चित्त बुझेमा त्यही अनुसार साथीहरू लाग्नुहुन्छ । चित्त नबुझेमा साथीहरू आफैँ प्रतिस्पर्धा गर्नुहुन्छ । प्रतिस्पर्धामा गएपछि प्रतिनिधिले छानेमा नेतृत्वमा आउनुहुन्छ । प्रतिनिधि नछानेमा हाम्रो जे विधि छ, त्यही विधि अन्तर्गत अरू ठाउँमा बसेर काम गर्नुहुन्छ । हामीले गर्ने नै त्यही हो । 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गते भएका घटनाहरूको जाँचबुझ गर्न बनेको आयोगमा बयान दिन अध्यक्ष केपी ओली जानुपर्छ भन्ने सुझाव दिनु भएको छ नि ?

उहाँले केन्द्रीय कमिटीको निर्णयको विपरीत बोल्नुभयो । अस्ति पछिल्लो केन्द्रीय कमिटीले निर्णय गरी यो आयोगलाई वैधता नै दिएका छैन । केन्द्रीय कमिटीको निर्णय नै वरिष्ठ उपाध्यक्षले नमान्ने हो भने त्यो त अनर्थ हुन जान्छ । हाम्रो पछिल्लो केन्द्रीय कमिटीको बैठकले अहिलेको सरकारलाई असंवैधानिक भनेको छ ।

अहिलेको आयोगलाई असंवैधानिक भनेको छ । असंवैधानिक आयोगले गर्ने कामलाई हामी मान्यता दिदैनौँ भनेर हाम्रो केन्द्रीय कमिटीले निर्णय गरेको छ । अर्को केन्द्रीय कमिटीको बैठकले निर्णय नगरेसम्म जिम्मेवार नेताहरूले यो विषयमा यसो गर्नुपर्छ वा त्यसो गर्नुपर्छ बोल्नु त पार्टीको नीतिभन्दा विपरीत हुन्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully