बुधबारबाट पुस १ गतेसम्म दैनिक पाँच घन्टा बन्द गरेर कालोपत्रको काम गर्न लागिएको भए पनि मंसिर २६ र २७ गते दुई दिन सडक बन्द नगरिने सडक विभागले जनाएको छ ।
काठमाडौँ — एमाले महाधिवेशनमा नागढुंगा-मलेखु सडक बन्द नहुने भएको छ । बुधबारबाट पुस १ गतेसम्म दैनिक पाँच घन्टा बन्द गरेर कालोपत्रको काम गर्न लागिएको भए पनि मंसिर २६ र २७ गते दुई दिन सडक बन्द नगरिने सडक विभागले जनाएको छ ।
एमाले निकट युवा संघको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशनका लागि दुई दिन सडक खुला गरिदिन आग्रह गरेका थिए । त्यहीअनुसार मन्त्री घिसिङले स्थानीय प्रशासन र योजना कार्यालयलाई दुई दिन सडक खुला गर्न आग्रह गर्ने बताएको मन्त्रालयले जनायो । दुई दिन सडक खुला गरिए पनि त्यसपछि भने अहिलेकै कार्यतालिकाअनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने विभागका महानिर्देशक विजय जैसीले बताए ।
नागढुंगा–मुग्लिन सडक योजना कार्यालयले पूर्वनिर्धारित तालिकाअनुसार सडक बन्द गरेर काम गर्न लाग्दै गर्दा एमाले नेता महेश बस्नेतले मंगलबार सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै एमालेको महाधिवेशनलाई लक्षित गर्दै मन्त्री घिसिङले बन्द सडक गराएको आरोप लगाएका थिए । त्यसको भोलिपल्टै मन्त्री घिसिङले दुई दिन सडक खुला गर्न सम्बन्धित निकायमा आग्रह गरेका हुन् ।
उक्त सडक खण्डमा कालोपत्र गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले आंशिक रुपमा सडक बन्द गरिएको हो । उक्त सडकको काठमाडौं जिल्लाभित्र पर्ने नागढुंगा–पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई सडक विभागले उच्च प्राथमिकताका राखेको छ ।
त्यसैले उक्त खण्ड अन्यत्रभन्दा साँघुरो भएको र कालोपत्र गर्नका लागि एकै पटकमा धेरै हेभी उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने भएकाले केही समय सवारी आवागमन रोकेर काम गर्न लागिएको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए ।
