प्रदर्शनमा भएको क्षतिमा २५ अर्ब बराबरको बिमा दाबी

हालसम्म करिब एक हजार दाबी, यो संख्या धेरै बढ्ने अनुमान, आफूले गरेको बिमाको पुनर्बिमा कम्पनीमा बिमा गर्छन् बिमा कम्पनी

भाद्र ३१, २०८२

यज्ञ बञ्जाडे

25 billion worth of insurance claims for performance damage

What you should know

काठमाडौँ — यही भदौ २३ र २४ मा गरिएको प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको धमाधम बिमा दाबी आउन थालेको छ । सोमबारसम्म करिब २५ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी आइसकेको नेपाल बिमक संघले जनाएको छ ।

गत मंगलबार र बुधबारदेखि नै दाबी आउन थालेको र सोमाबारसम्म सबै निर्जीवन बिमा कम्पनीमा करिब २५ अर्ब रुपैयाँ बराबरको दाबी परिसकेको बताइएको छ । ‘सुरुको दाबीमा धेरै रकमको आएको हुन्छ, यसकारण परेकामध्ये सबै नै वास्तविक भुक्तानी हुँदैनन्,’ एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने, ‘हालसम्म करिब एक हजार दाबी आएको र यो क्रम भर्खर सुरु भएकाले यो संख्या धेरै बढ्ने अनुमान छ ।’

क्षतिमा के–कसरी छिटो बिमा दाबी भुक्तानी दिन सकिन्छ भन्ने सम्बन्धमा आइतबार नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूसँग छलफल गरेको छ । छलफलका क्रममा छिटो भुक्तानीका लागि बिमा प्राधिकरणले के–कस्तो नीतिगत व्यवस्था गर्नुपर्छ भन्ने सम्बन्धमा कम्पनीहरूसँग तीन दिनभित्र राय मागेको छ । प्राधिकरणले दिएको समय मंगलबारसम्म हो । मंगलबारसम्म प्राप्त राय सुझावका आधारमा नीतिगत व्यवस्थासहित निर्देशन जारी गरिने नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बताए ।

बिमितलाई छिटो बिमा दाबी गर्न र बिमा कम्पनीले छिटो भुक्तानी गर्न बिमक संघले आग्रह गरेको छ । ‘असहज परिस्थितिका कारण सिर्जित क्षतिको जानकारी गर्न सम्पूर्ण बिमित तथा ग्राहकलाई सम्बन्धित बिमा कम्पनीमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध छ,’ संघको विज्ञप्तिमा भनिएको छ ।

आगजनी तथा तोडफोडमा धेरै कार्यालयमा पूर्ण क्षति पुगेको छ । केहीमा आंशिक छ । एकै पटक धेरै क्षति भएकाले बिमा कम्पनीले सबै दाबी भुक्तानी गर्न सक्छन्–सक्दैनन् भन्ने चासो सबैतिर छ । यही चासोलाई ध्यानमा राखेर हालसम्म परेको बिमा दाबी, भुक्तानी प्रक्रिया, र्फ्छ्योटलगायत विषय छिटो र सहज तरिकाले टुंग्याउन बिमक संघको आग्रह छ ।

क्षतिको अवस्था हेर्दा धेरै बिमा दाबी आउने देखिन्छ । तर धेरै सरकारी संरचनाको बिमा भएको छैन । निजीलगायत अन्य क्षेत्रको बिमा भएकाले धेरै दाबी आउन सक्ने अनुमान छ । सवारी साधनको हकमा तेस्रो पक्ष बिमा गरेको रहेछ भने उसले भुक्तानी पाउँदैन ।

अहिले बिमा पाउन सवारी साधनको पूर्ण बिमा भएको हुनुपर्छ । घर, कार्यालय र सम्पत्तिको हकमा भने बिमा पाइन्छ । हाम्रोमा सबै सम्पत्ति बिमा गर्ने प्रचलन निकै कम छ । यसकारण भएको सबै क्षतिको बिमा दाबी आउने भन्ने हुँदैन । कति रकमको बिमा भएको र त्यसमा कति क्षति भएको छ, त्यसका आधारमा बिमा पाइन्छ ।

बिमा कम्पनीले आफूले गरेको बिमाको पुनर्बिमा कम्पनीमा बिमा गरेका हुन्छन् । बिमितलाई बिमा कम्पनीले भुक्तानी दिए पनि त्यो रकम उसले पुनर्बिमा कम्पनीबाट भुक्तानी पाउँछ । पुनर्बिमा कम्पनीले पनि अरु पुनर्बिमा कम्पनीसँग बिमा गरेका हुन्छन् । बिमा भनेको जोखिम स्थानान्तरण गर्ने व्यवसाय पनि हो । यसकारण जति धेरै दाबी भुक्तानी आए पनि बिमा कम्पनीले तिर्न सक्ने बिमा कम्पनीहरूको दाबी छ ।

बिमा प्राधिकरणले बिहीबार निर्देशन जारी गरेको परेका दाबी छिटो फर्छ्योट गर्न र दाबीको तथ्यांक आफूलाई पठाउन बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ । ‘यही भदौ २३ देखि उत्पन्न असहज परिस्थितिका कारण बिमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै त्यसबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्छ्योट गर्नुहुन निर्देशानुसार अनुरोध गरिन्छ,’ प्राधिकरणले जारी गरेको निर्देशनमा उल्लेख छ ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully