भीमफेदी कारागारबाट भागेका ४४० कैदीमध्ये १ सय ६३ पक्राउ, २७७ अझै फरार छन्। कारागार प्रशासनले फर्कन आग्रह गरिरहेको छ।
What you should know
हेटौंडा — जेन-जी आन्दोलनका क्रममा क्षेत्रीय कारागार भीमफेदीको पर्खाल फोडेर भागेकामध्ये सोमबार मात्र १६ जना कैदीबन्दी आफैं कारागार फर्किएका छन् । जेलबाट भागेकामध्ये आफैं कारागार फर्कनेको संख्या ३२ पुगेको छ ।
आन्दोलनका क्रममा विभिन्न कारागार र बाल सुधार गृहबाट भागेका कैदीबन्दीमध्ये हेटौंडामा २ सय २३ जना पक्राउ परेका छन् ।
भीमफेदी कारागाबाट भागेका ४४० जना कैदीबन्दीमध्ये नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले मकवानपुरका विभिन्न स्थानबाट १ सय ६३ जनालाई पक्राउ गरेको छ भने २७७ जना अझै फरार छन् । भीमफेदी कारागारको ‘क’ र‘ख’ ब्लकको पर्खाल भत्काएर भदौ २५ गते राति साढे १२ वजे ४४० जना कैदीबन्दी फरार भएका थिए । ‘फरार भएकामध्ये १ सय ६३ जनालाई पक्राउ गरियो । २७७ जना अझै फरार छन्,’जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता श्यामु अर्यालले बताए । जेल फोडेर भागेकाहरुलाई कारागार प्रशासनले फोन गरेर फर्कनका लागि अनुरोध गर्दै आएको छ । ‘यो अवधिमा ३२ जना जेलबाट भाग्नेहरू आफै फर्किएका छन्,’भीमफेदी कारागारका प्रमुख सुवास पौडेलले भने,‘सोमबारमात्र १६ जना आफैं जेलमा आए ।’
यस्तै हेटौंडा उपमहानगरपालिका—११ थानाभर्याङमा रहेको बालसुधार गृहबाट बुधबार बिहान ७२ जना भागेका थिए । तीमध्ये प्रहरीले ५३ जनालाई नियन्त्रणमा लिएको छ भने १९ जना अझै सम्पर्कमा आएका छैनन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौंस्थित केन्द्रीय कारागार, नख्खु कारागार,भरतपुर,कास्की, तनहुँलगायत जेलबाट भागेकामध्ये मकवानपुरको विभिन्न स्थानबाट प्रहरीले ६० जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पनि भीमफेदी कारागारका राखिएको छ ।
