सामाजिक सञ्जाल बन्द हुँदा रोजगारी र डिजिटल अर्थतन्त्रमा प्रत्यक्ष असर

सरकारको सामाजिक सञ्जाल बन्दको निर्णयले डिजिटल अर्थतन्त्रमा गम्भीर प्रभाव परेको छ भने क्रिएटरहरूको आम्दानी र जनसम्पर्कमा चुनौती थपिएको छ।

भाद्र २०, २०८२

विवेक पोख्रेल

Social media shutdowns directly affect jobs and the digital economy

What you should know

काठमाडौँ — गुन्यू चोलो लगाएर गाउँले परिवेशमा गाउँकै तरिकाले खाना पकाउने कान्छीमैया भण्डारीको भिडियो उनकै छोरा प्रकाश भण्डारीले खिच्छन् र सम्पादन गर्छन् । गाउँले परिवेशमा खानाका विभिन्न परिकार पकाउने र ती पकाएका भिडिओ युट्यूबमा राखेर कान्छी किचेन नामको युट्यूब च्यानलबाट धादिङका यी आमा-छोराले मासिक दुई लाखसम्म कमाउँदै आएका छन्।

उनीहरूको हरेक भिडियो फेसबुक र युट्यूबबाट लाखौँ दर्शकले हेर्छन् । लकडाउन पछि उनका छोरा प्रकाश भण्डारीको ट्रेकिङको काम बन्द भएपछि यो कार्यको सुरु गरेका थिए ।

‘एउटै जस्तो समयमा ब्रेन ह्याम्रेजका कारण बुबाको मृत्यु, मामाघरको आमा हजुरबाको पनि मृत्युको कारण हामी शोकमा थियौँ,’ प्रकाशले भने,‘कोरोना महामारी सुरु हुनुभन्दा अगाडिको यो घटनालाई बिर्सँदै हामीले सुरु गरेको च्यानल हामीलाई खुसीसँगै आम्दानीको स्रोत बनेको थियो ।’

अहिले यसकै आम्दानीले जमिन किनेर कान्छी होमस्टे बनाउने काम अन्तिम चरणमा पुगेको छ । ‘मेरो त यस बाहेक अरू आम्दानीको स्रोत नै छैन । विदेश जाने सोच पनि युट्यूबका आम्दानी पछि रोकिएको थियो,’ भण्डारीले भने,‘ केही समयसम्म त हामी यो कमाइले खर्च चलाउन सक्छौँ । सामाजिक सञ्जाललाई नै भविष्य बनाउनेहरु त यो निर्णयले डिम्प्रेशनमा लैजान्छ ।’ उनले बन्द हुने कुरा सुनेपछि यसका विकल्पका बारेमा केही सोच्न नसकेको बताए ।

सामाजिक सञ्जाल फेसबुकमा ६ लाख धेरै फलोअर, युट्यूबमा ७ लाख धेरै सब्स्क्राइभर कमाएकी इस्टु कार्कीको आम्दानीको स्रोत पनि सामाजिक संजाल बन्दै थियो । मुख्य त उनले बनाउने छोटा र आकर्षक कन्टेन्ट विज्ञापन शैलीका कारण नै पछिल्लो समय धेरैमाझ चर्चित बनाएको उनी बताउँछिन् ।

यसरी सामाजिक सञ्जाल बन्द हुँदा आफ्नो आम्दानीको स्रोत र जनसम्पर्कनै रोकिने डर उनमा छ । ‘कति कुरा दर्ता हुन आवश्यक छ । फेसबुकले मनिटाइजेसन दिनुको कारण पनि सरकारको पछिल्लो कदमको कारण हुनसक्छ । यो लामो समयसम्म नजाला,’ कार्कीले भनिन् , ‘केही समय पछि खुल्छ होला । यदि बन्द नै भयो भने आफ्नो लक्ष्य मानै प्रभाव पर्छ ।’

पूर्व सांसद तथा पूर्व कमलरी शान्ता चौधरी ‘शान्ताको अचार’ नामक कम्पनी दर्ता गरेर करिब डेढ वर्षदेखि अचार उत्पादन र बिक्री वितरण गर्दै आएकी छिन् । उनको सामाजिक सञ्जालमा धेरै फलोअर्स भएकाले सञ्जालबाटै अचारको धेरै अर्डर आउने गरेको बत्ताउँछिन् ।

यो निर्णयले सबै क्षेत्रमा प्रभाव परे पनि सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउने कुरामा देशको कानुनमै भएकाले कार्यान्वयनमा सहयोग गर्नुपर्ने उनको धारणा छ । ‘पहिल्यै कानुनी दायरामा ल्याउनु पर्ने थियो,’ चौधरीले भनिन्,‘यो लामो समय सम्म नजाला । सिस्टम बसाउने कुरामा हामीले सहयोग गर्नु पर्छ । तर सामाजिक सञ्जाल बन्द हुँदा धेरैलाई प्रत्यक्ष प्रभाव भने पर्छ।’

कन्टेन्ट क्रिएटर विनायक कुइँकेल सरकारले डिजिटल प्लेटफर्मबाट स्वरोजगार बनेका युवाहरूलाई खाडी जानु भन्ने सन्देश यो घटनाले दिएको बत्ताउँछन् । २ वर्ष देखि आफ्नो अन्य काम छाडेर सोसल मिडियालाई आफ्नो आम्दानीको स्रोत बनाएका कुइँकेलले सरकारले आफ्नो विरुद्धको आवाज सुन्न नसकेपछि यो निर्णय गरेको आरोप समेत लगाए ।

‘औँलामा चोट लाग्यो भने त्यसको उपचार गर्ने हो । औंलानै काटेर फाल्ने हैन,’ कुइँकेलले भने,‘ सामाजिक सञ्जालमा नियमन आवश्यक छ । तर बन्द नै यसको उपाय हैन ।’ उनका अनुसार यो प्लेटफर्मले मलाई आत्मनिर्भर बनाएको छ। सरकारले बन्द गर्‍यो भने धेरैको अवसर गुम्नेछ । यो निर्णयले आफ्नो टिमको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने विषयको समेत उनलाई चिन्ता थपिएको छ।

पछिल्लो समय युट्यूब, फेसबुक लगायतका संञ्चार माध्यममाबाट न्यु मिडियाको पत्रकारिता गर्दै आएका पत्रकार टिकाराम यात्री सामाजिक सञ्जाल अस्वीकार गर्नै नसक्ने माध्यम बनिसेको बत्ताउँछन् । ‘टेलिभिजन, पत्रिका लगायतका सामाग्री पनि दर्शकले यतैबाट सहज पहुँच पाएका छन्,’ यात्रीले भने,‘सरकारले लगातार अनुरोध गर्दा पनि अन्तर्राष्ट्रिय संस्थाले बेवास्ता गर्दा यो निर्णय गर्नु ठिक हो जस्तो लागे पनि यो विषय वाक स्वतन्त्रता र व्यक्तिको अधिकार सँग पनि जोडिएको विषय हो । यो प्रत्यक्ष रोजगारीमा पनि जोडिएको छ ।’

उनका अनुसार सामाजिक सञ्जाल बन्द हुनु भनेको नेपालमा एक ठुलो डिजिटल अर्थतन्त्र नै बन्द हुनु हो । नेपालमा सामाजिक सञ्जाल बन्द हुने स्थिति आएमा कन्टेन्ट क्रिएटर र इनफ्लुएन्सरहरू सीधा प्रभावित हुनेछन्। धेरै क्रिएटरहरूको मुख्य आम्दानी युट्यूब, फेसबुक, इन्स्टाग्राम लगायतका प्लेटफर्ममा जोडिएको छ ।

हजारौँ युवाहरूले परम्परागत जागिर छोडेर सामाजिक सञ्जाललाई आफ्नो करिअर बनाइसकेका छन् । नेपाली क्रिएटरहरूको ठुलो दर्शक विदेशमा बस्ने नेपाली पनि छन् ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully