६ दिनसम्म चलेको नाडा अटो शोमा १ लाख ७६ हजारभन्दा बढी दर्शक सहभागी भएको नाडाले बताएको छ ।
What you should know
काठमाडौँ — भृकुटीमण्डपमा सञ्चालित १७ औं संस्करणको ‘नाडा अटो शो–२०२५’ सकिएको छ । गत वर्षको तुलनामा दोब्बरले अवलोकन गरेको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ । ६ दिनसम्म चलेको नाडा अटो शोमा १ लाख ७६ हजारभन्दा बढी दर्शक सहभागी भएको नाडाले बताएको छ ।
सबैभन्दा बढी अवलोकनकर्ता गाडी निर्माता कम्पनी दीपलको स्टलमा पुगेको नाडाको भनाइ छ । दीपलको फ्लाइङ ट्याक्सी (उड्ने ट्याक्सी) तथा रोबोटसँगै गाडीहरू पनि प्रदर्शनमा राखिएका थिए । दुईपांग्रेतर्फ सबैभन्दा बढी आकर्षण रोयल इन्फिल्ड मोटरसाइकलको स्टलमा देखियो । यी दुई स्टललाई अटो शोको समापन समारोहमा सम्मानसमेत गरिएको थियो । यस पटकको नाडा एक्स्पो सफल रहेको नाडाका अध्यक्ष करणकुमार चौधरीले बताए ।
नाडा अटो शो सुरु हुनुभन्दा ९ दिनअघि अर्थात् साउन २५ मा नाइमा अटो एक्स्पो सकिएको थियो । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गरेको एक्स्पोलाई लक्ष्य गर्दै चौधरीले नाडाले आगामी दिनमा पनि अन्य संस्थाले गरेभन्दा राम्रो एक्स्पो हुने दाबी गरे । नाडाका हरेक संस्करण स्मरणयोग्य भइरहेको दाबी गर्दै नेपालले पनि नयाँ प्रविधि र उपकरण उत्पादन गरी समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा चौधरीले जोड दिए । प्रदर्शनीमा फ्लाइङ ट्याक्सी, रोबोट, भिन्टेज गाडीलगायत राखिएको थियो ।
प्रदर्शनी समापनका अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उत्कृष्ट प्रदर्शनी कक्ष सञ्चालन गर्ने उत्पादनकर्तालाई प्रशंसापत्र प्रदान गरे । मुलुकमा सबैभन्दा बढी राजस्व प्राप्त गर्ने र उपभोक्ता जोडिएको क्षेत्र अटोमोबाइल रहेको मन्त्री पौडेलले बताए । ‘आफ्ना उत्पादनबारे जानकारी दिन र त्यसमा उत्पादकले विश्वास हासिल गर्न यस्ता प्रदर्शनी महत्त्वपूर्ण साबित हुनेछन्,’ उनले भने ।
नेपालले अटोमोबाइल क्षेत्रमा उत्पादन बढाउन र आत्मनिर्भर बन्नेतर्फ पाइला अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिँदै मन्त्री पौडेलले सडक यात्रालाई दुर्घटनारहित तुल्याउन तथा वातावरणमैत्री अटोमोबाइलका सामान उत्पादन गर्नेतर्फ ध्यान पुर्याउनुपर्ने बताए । प्रदर्शनीमा पछिल्लो समय उत्पादित विभिन्न प्रकारका विद्युतीय सवारीसाधन, पार्टपुर्जा, टायर र लुब्रिकेटजस्ता सामग्री राखिएका थिए ।
नाडा अटो शोमा हरेक दिन विभिन्न विषयमा अन्तरक्रियासमेत गरिएको थियो । सडक र यातायातदेखि मेड इन नेपाललगायत विषयमा अन्तरक्रिया गरिएको नाडाले जनाएको छ । ‘यी उपलब्धिलाई एउटा शुभारम्भका रूपमा लिएको छु, यसले हाम्रो अपेक्षामा अझ वृद्धि भएको छ,’ चौधरीले भने, ‘नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ ।’
