पाँच दिनमा १ लाख ४९ हजारभन्दा बढीले अटो शोको अवलोकन गरेका छन्। शनिबार मात्र ४५ हजार सहभागी भएका थिए।
What you should know
काठमाडौँ — भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो–२०२५’ आज अर्थात् आइतबार सकिँदै छ । १७औं संस्करणको ६ दिने नाडा अटो शोमा शनिबारसम्म १ लाख ४९ लाख हजारले अवलोकन गरिसकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
चाडबाडको मुखमा आयोजना गरिएको अटो शोमा टायर, ब्याट्रीदेखि चारपांग्रे सवारीसाधनसम्म बुकिङ गर्न पाइने सुविधा रहेको आयोजकले जनाएको छ ।
प्रायः ब्रान्डमा केही न केही छुट अफर राखिएको आयोजक नाडाको भनाइ छ । अटो शोमा मुख्य आकर्षण युनिट्री रोबोटिक डग, अत्याधुनिक चारपांग्रे रोबोट्स र दीपलको ईभीटीओएल फ्लाइङ ट्याक्सी (उड्ने ट्याक्सी) छ ।
शनिबार मात्रै ४५ हजारभन्दा बढी अवलोकनकर्ता अटो एक्स्पोमा सहभागी भएको ‘नाडा अटो शो–२०२५’ का संयोजक अनुपकुमार बरालले बताए । ‘आइतबार नाडो अटो शोको अन्तिम दिन हो,’ उनले भने, ‘हामीले अपेक्षा गरेभन्दा बढी अवलोकनकर्ता सहभागी भइरहेका छन् ।’
ब्याट्री, टायर, लुब्रिकेन्ट र विभिन्न कम्पनीका सवारीसाधनका स्टल, बैंक तथा वित्तीय संस्था, बिमालगायतबारे जानकारी र सुविधा एउटै छानामुनि पाइने भएकाले धेरैको रोजाइमा नाडा अटो शो पर्ने नाडाले जनाएको छ । अटो शोमा विभिन्न कम्पनीले सवारीसाधनको खरिदमा आकर्षक छुट दिएका छन् ।
विगतका वर्षमा आयोजना हुँदै आएको अटो शोको तुलनामा यस पटक आगन्तुकको उपस्थिति सोचेभन्दा धेरै राम्रो रहेको नाडाले बनाएको छ । पाँच दिनमा १ लाख ४९ हजारभन्दा बढीले अटो शोको अवलोकन गरिसकेको बरालको भनाइ छ ।
१७औं संस्करणको अटो शोमा स्टल धेरै रहेको रोबोट, उड्ने ट्याक्सीलगायत नयाँ प्रविधिले गर्दा अटो शो हेर्न अवलोकनकर्ता बढिरहेको बरालले बताए । गत वर्षको अटो शो ८२ हजारले अवलोकन गरेका थिए । यस वर्ष १ लाख जनाले अटो शो अवलोकन गर्ने अपेक्षा गरे पनि साढे १ लाख जनाले अवलोकन गरिसकेको उनले सुनाए । छुट अफरका कारण दुई र चारपांग्रे सवारीसाधन बुकिङसमेत बढिरहेको नाडाले जनाएको छ ।
अवलोकनकर्तासँगै अटो शोमा उपलब्ध सवारीको बुकिङ समेत अपेक्षा गरेभन्दा राम्रो भइरहेको स्टलहरूबाट जानकारी आइरहेको छ,’ उनले भने, ‘स्टलहरूका अनुसार अपेक्षा गरेभन्दा १५ देखि २० प्रतिशत बढी बुकिङ भइरहेको छ ।’ अटो शो प्रत्येक दिन बिहान साढे १० देखि साँझ ७ बजेसम्म चल्नेछ ।
अटो शोमा १ सय २५ भन्दा बढी अटो र यससँग सम्बन्धित ब्रान्ड प्रदर्शनीमा छन् । अटो शोमा आफूले खोजेको सवारीसाधनमा विशेष छुट पाइने भएकाले आगन्तुकको आकर्षण बढेको बरालको भनाइ छ ।
