नाडा अटो शोमा बढ्दै छन् आगन्तुक

दुई दिनमा करिब ४८ हजारले अवलोकन गरेका छन्। प्रायः ब्रान्डमा केही न केही छुट अफर राखिएको आयोजक नाडाको भनाइ छ । १७औं संस्करणको अटो शो भदौ ८ सम्म चल्नेछ ।

भाद्र ५, २०८२

कान्तिपुर संवाददाता

Visitor numbers are increasing at the NADA Auto Show

What you should know

काठमाडौँ — भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो–२०२५’ मा आगन्तुकको भीड बढ्दै गएको छ । पहिलो दिन मंगलबार १९ हजार ७ सय ६ जनाले अवलोकन गरेको अटो शोमा दोस्रो दिन २८ हजार ९ सय ७८ जनाको उपस्थिति रहेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।

चाडबाडको मुखमा आयोजना गरिएको अटो शोमा टायर, ब्याट्रीदेखि चारपांग्रे सवारीसाधनसम्म बुकिङ गर्न पाइनेछ । प्रायः ब्रान्डमा केही न केही छुट अफर राखिएको आयोजक नाडाको भनाइ छ । १७औं संस्करणको अटो शो भदौ ८ सम्म चल्नेछ । अटो शोमा मुख्य आकर्षण युनिट्री रोबोटिक डग, अत्याधुनिक चारपांग्रे रोबोट्स र दीपलको ईभीटीओएल 

फ्लाइङ ट्याक्सी (उड्ने ट्याक्सी) छ । बुधबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली अटो शोको अवलोकन गर्न पुगेको थियो । अटो शोमा पुगेर दीपलको ईभीटीओएल फ्लाइङ ट्याक्सीबारे जानकारी लिँदै दाहालले त्यसमाथि चढेर फोटोसमेत खिचाए । 

अटो शोको अवलोकन गरेर दाहालले आयोजकलाई हौसला प्रदान गर्ने काम गरेको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले बताए । ‘यो वर्षको अटो शोमा आगन्तुकको उपस्थिति सोचेभन्दा राम्रो छ,’ उनले भने, ‘नेपालमा यो एउटा मात्र यस्तो अटो शो हो, जहाँ ब्याट्री, टायर, लुब्रिकेन्ट र विभिन्न कम्पनीका सवारीसाधनको स्टल, बैंक तथा वित्तीय संस्था, बिमालगायतबारे जानकारी र सुविधा एउटै छानामुनि पाइन्छ ।’ अटो शोमा विभिन्न कम्पनीले सवारीसाधनको खरिदमा आकर्षक छुट दिएका छन् । 

‘यस्ता छुट चाडबाडका बेला कम्पनीले आआफ्नै सोरुमबाट दिन सक्थे,’ उप्रेतीले भने, ‘तर हाम्रा लागि ठूलो चाड अटो शो हो, त्यसैले एउटै छानामुनि सबैको उपस्थिति हुने हुँदा यहींबाट छुट अफर घोषणा गर्ने गरिएको छ ।’ 

विगतका वर्षमा आयोजना हुँदै आएको अटो शोको तुलनामा यस पटक आगन्तुकको उपस्थिति सोचेभन्दा धेरै राम्रो रहेको ‘नाडा अटो शो–२०२५’ का संयोजक अनुपकुमार बरालले जनाए । ‘दुई दिनमा मात्र ४८ हजार ६ सय ८४ जनाले अटो शोको अवलोकन गरिसकेका छन्,’ उनले भने, ‘यो पटक स्टल पनि धेरै छन् । रोबोट, उड्ने ट्याक्सी राखिएको छ, नयाँ प्रविधिले गर्दा अटो शो हेर्न 

आउने इन्जिनियरिङ र सूचना प्रविधिबारे अध्ययन गरिरहेका विद्यार्थी बढी छन् ।’ 

अटो शो अवधिभर एक लाखभन्दा बढी अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ । अटो शो प्रत्येक दिन बिहान साढे १० देखि साँझ ७ बजेसम्म चल्नेछ । अटो शोमा १ सय २५ भन्दा बढी अटो र यससँग सम्बन्धित ब्रान्ड प्रदर्शनीमा छन् । अटो शोमा आफूले खोजेको सवारीसाधनमा विशेष छुट पाइने भएकाले आगन्तुकको आकर्षण बढेको बरालको भनाइ छ । ‘छुट अफरका कारण दुई र चारपांग्रे सवारीसाधन बुकिङ गर्ने पनि बढिरहेका छन्,’ उनले भने । 

कान्तिपुर संवाददाता

Link copied successfully