‘मेलामा सबैभन्दा ठूलो उत्साहप्रद भीड दीपलको स्टलमा छ, नेपाली युवाले धेरै रुचिपूर्वक फ्लाइङ ट्याक्सी हेरे, सोधपुछ गरे, फोटो र भिडियो खिचे’
What you should know
काठमाडौँ — दसैंअघि काठमाडौंमा बर्सेनि हुने ‘नाडा अटो शो’ सधैं नयाँ र आकर्षक गाडी प्रदर्शनका लागि चर्चामा रहन्छ । मंगलबारदेखि सुरु नाडाको १७ औं प्रदर्शनीमा सबैको ध्यान खिच्यो, उड्ने ट्याक्सीले । यस ट्याक्सीले नेपाली जनतालाई रेलको सपना बाँड्ने प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई उत्साहित बनायो ।
प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेलसहित देशभरका युवा, यद्यमी, व्यवसायी, उपभोक्तालाई उत्साहित बनाउने यो ट्याक्सी हो– चिनियाँ अटोमेकर कम्पनी चांगान–इहाङको संयुक्त उत्पादन ‘दीपल फ्लाइङ ट्याक्सी’ ।
भूबनोट जटिल भएकाले जहाँ सबै जिल्लामा यातायात सहज छैन । दुर्गम भूभाग र विकट क्षेत्र अझै सडकको पहुँचबाहिर छन् । पक्की सडक अभावले ग्रामीण समुदायलाई सहरी केन्द्रमा जोड्न कठिनाइ छ । तर यस्तो अवस्थामा एमएडब्लूले चिनियाँ कार निर्माता चांगान–इहाङ अटोसँग सहकार्य गर्दै नेपालमा नयाँ युगको मोबिलिटी सुरुवात भएको सन्देश दिन स्वचालित इलेक्ट्रिक भर्टिकल टेकअफ र ल्यान्डिङ हवाई कार सार्वजनिक गरेको एमएडब्लू समूहका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल बताउँछन् ।
उनी भन्छन्, ‘यो हवाई ट्याक्सी कुनै एक कमान्ड क्षेत्रबाट नियन्त्रण गर्न सकिन्छ, त्यहीभित्र कुनै मानव पाइलट/चालक आवश्यक पर्दैन ।’ चीनमा बीवाईडीपछिको दोस्रो प्रतिस्पर्धी मानिएको चांगानले यसलाई ‘सहरी हवाई आवागमनका लागि डिजाइन गरिएको’ ड्रोन कार भनेको छ । प्रदर्शनीमा राखिएको मोडल दुई सिट भएको हवाई कार हो । यो पूर्ण स्वचालित उडान क्षमता भएको यन्त्र हो ।
दीपल ब्रान्डका सवारीसाधनको आधिकारिक वितरक चांगान नेपालले यसलाई तीन दिनअघि सांघाईबाट तातोपानी नाकाको सडकमार्ग हुँदै काठमाडौं भित्र्याएको हो । यो ईएच२१६–एस मोडल हो । करिब ६ सय किलो भार बोकेर साधन अधिकतम १३५ किमि प्रतिघण्टाको गतिमा उड्न सक्छ । एक पटक पूरा चार्ज गर्दा यसले ३० किमि दूरी वा २५ मिनेटसम्म उडान गर्न सक्छ । यसमा अत्याधुनिक सुरक्षा प्रणाली समेटिएका छन् ।
ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) कार भनिने यसलाई नाडा अटो शोमा पहिलो पटक प्रदर्शनीमा राखिएको हो । हालसम्म भएका परीक्षण उडानमा कुनै घटना/दुर्घटना नभएकाले सुरक्षित दाबी गरिएको छ । ‘एउटा बिन्दुबाट अर्को बिन्दुसम्म (प्वाइन्ट–टु–प्वाइन्ट) को यात्रा, पर्यटकीय अवलोकन र सर्भेका लागि यो बढी उपयोगी रहेको एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया बताउँछन् ।
मानव चालकरहित विमानमा आठ वटा मोटर छन्, तीमध्ये ६ वटाले काम नगरे पनि यो उड्न सक्छ । यसको अधिकतम उडान भार (एमटीओडब्लु) ६ सय किलोग्रामसम्म रहेको छ। करिब ३ किमि माथि उचाइमा उडेर ३० किमि दूरी कभर गर्न सक्ने क्षमता यसमा छ । हलुका र मजबुत कार्बन–फाइबर कम्पोजिट संरचना भएको पारदर्शी क्याबिन र आधुनिक डिजाइनले यात्रुलाई आकाशको प्यानोरामिक दृश्य अनुभव गराउँछ । यस्तो साधनको नियमन संसारभरि उड्डयन प्राधिकरणले गर्छन् । तर यस पटक नेपालमा यसको उडान गराइने छैन ।
‘विश्वभरि ट्राफिक जाम र सहरीकरण बढ्दो छ,’ प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुल भन्छन्, ‘यस्तो अवस्थामा, उड्ने कारले यात्रालाई छिटो, सुरक्षित र वातावरणमैत्री बनाउन सक्छन् । विशेष गरी नेपालजस्तो पहाडी भू–भाग भएको मुलुकमा यसको सम्भावना अझै बढी छ ।’ नेपालमा यसको प्रयोगअघि आधारभूत पूर्वाधार जस्तै चार्जिङ स्टेसन, एयर करिडोर, ट्राफिक व्यवस्थापन प्रणाली निर्माण र नागरिक उड्डयन कानुन बनाउनु आवश्यक रहेको उनको भनाइ छ ।
प्रदर्शनपछि यो पुनः चीनमै फर्काइनेछ । कम्तीमा ८ करोड रुपैयाँ मूल्य पर्ने यसको अहिले नेपालमा बिक्री खुला भइसकेको छैन । तर यसले नेपालको युवा पुस्तामा वैज्ञानिक सोच र नवप्रवर्तनप्रतिको उत्साह जगाउने एमएडब्लूले जनाएको छ । ‘यो केवल उड्ने कार मात्र होइन, भविष्यको यातायात प्रणालीतर्फको महत्त्वपूर्ण कदम हो, हाम्रो सोचाइलाई पैदलयात्राबाट रेलसम्म पुर्याएझैं, अब सडकबाट आकाशतर्फ लैजानेछ । नेपालले यस प्रविधिलाई योजनाबद्ध रूपमा अघि बढायो भने पर्यटन, आपत्कालीन सेवा र सहरी विकासमा क्रान्ति ल्याउन सक्छ,’ अग्रवालले भने, ‘अहिले चीन यो उडानको अन्तिम तयारीमा छ, यूएईले अब चाँडै प्रयोगमा ल्याउँदै छ ।’
प्रदर्शनीमा एमएडब्लूले नेपालमै पहिलो पटक मानव आकारका रोबोट पनि प्रदर्शनीमा राखेको छ । यी रोबोटले आगन्तुकसँग प्रत्यक्ष संवाद गर्ने, मानिसकै जस्तो गतिविधि प्रदर्शन गरेर दर्शकलाई वास्तविकताको अनुभव दिँदै छन् ।
न्युयोर्क टाइम्सका अनुसार, यसअघि २०२० मा हुन्डाई र उबरले अमेरिकाको लसभेगसमा आयोजित ‘कन्ज्युमर इलेक्ट्रोनिक्स शो’ मा भविष्यको हवाई राइडको हिस्साका रूपमा पूर्ण इलेक्ट्रिक हवाई ट्याक्सी विकास गर्न सहकार्य गर्ने घोषणा गरेका थिए । त्यसअघि अटो र उड्डयन व्यवसायी र उद्यमीले शताब्दीकै लामो समयदेखि मास प्रोडक्सनका रूपमा उड्ने कारको उत्पादन हुने वाचा गर्दै आइरहेका छन् ।
‘सहरभित्रका सडकमा जाम, सार्वजनिक सवारीको अभाव र दैनिक यात्रामा घण्टौं समय गुमाउनुपर्ने, लाइन बसेर चढ्नुपर्ने समस्या झेल्दै आइरहेका उपत्यकावासीले भविष्यको उड्ने ट्याक्सीमा निकै धेरै रुचि देखाए,’ फ्लाइङ ट्याक्सी आयातकर्ता एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले कान्तिपुरसँग भने, ‘मेलामा सबैभन्दा ठूलो उत्साहप्रद भीड दीपलको स्टलमै रह्यो । नेपाली युवाले धेरै रुचिपूर्वक फ्लाइङ ट्याक्सी हेरे । सोधपुछ गरे । फोटो/भिडियो खिचे ।’
चिनियाँ कम्पनी चांगान–इहाङले चार वर्षअघि मात्र यसलाई उत्पादन गरेका थिए । चीनमै यो मोडलका फ्लाइङ ट्याक्सी करिब ४ सय वटा बिक्री भइसकेको सिकारिया बताउँछन् ।
