एक्स्पोमा १७ वटा ब्रान्डका दुइपांग्रे सवारीसाधन राखिएको छ । दैनिकजस्तो नाइमाले विभिन्न क्षेत्रसंग सम्बन्धित विज्ञको उपस्थितिमा समसामयिक विषयमा छलफलसमेत आयोजना गर्दै आएको छ ।
What you should know
काठमाडौँ — साउन २१ बाट सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो–२०२५’ को चौथो दिन शनिबार २१ हजार ५ सय जनाले अवलोकन गरेका छन् । एकै दिन आगन्तुकको यो उपस्थिति अति धेरै रहेको आयोजक नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले जनाएको छ ।
दिनकै भीड बढीरहँदा आगन्तुक र एक्स्पोमा सहभागी विभिन्न सवारी कम्पनीको मागअनुसार प्रदर्शनीको समय एक दिन थप गरिएको हो । प्रदर्शनी आइतबारसम्मका लागि मात्र तय थियो । तर आगन्तुकको उपस्थिति सोचेभन्दा राम्रो भएको भन्दै सोमबारसम्म समय थप्ने निर्णय गरिएको आयोजक समितिका संयोजक शिरीष मुरारकाले जनाए ।
‘सबैले एक्स्पो एकदम राम्रो भयो, एक दिन समय थप्नुपर्छ भन्नुभयो,’ उनले भने, ‘आगन्तुक र प्रदर्शककै मागअनुसार समय थपिएको हो ।’ प्रदर्शनीलाई व्यवस्थित गरिएका कारण स्टल घुम्न सजिलो भएको सहभागी बताउँछन् । शनिबार सर्वाजनिक बिदाको दिन भएका कारण आगन्तुकको उपस्थिति राम्रो भएको एक्स्पो समितिका सदस्य गौरव सारडाको भनाइ छ ।
पहिलो दिनको सहभागिता उत्साहजनक देखिएपछि आयोजकले राति ८ बजेसम्म एक्स्पो खुला रहने व्यवस्था गरेको छ । कार्यालय बन्द भएपछि पनि एक्स्पोमा आउने ग्राहकलाई लक्ष्य गरेर समय थप गरिएको आयोजकको भनाइ छ । जसअनुसार बिहीबारदेखि नाइमाले एक्स्पोको समय अवधि बिहान ११ देखि राति ८ बजेसम्म कायम गरेको हो ।
‘एक्स्पो अहिलेसम्म एकदमै राम्रो भइरहेको छ, प्रतिक्रिया पनि राम्रो पाइरहेका छौं,’ सारडाले भने । एक्स्पोमा राखिएका दुई र चारपांग्रे सवारीसाधन धमाधम बुकिङ भइरहेको उनको भनाइ छ । चाडबाडको मुखमा आयोजना गरिएको एक्स्पोमा कम्पनीहरूबीच छुट दिन प्रतिस्पर्धा छ । एक्स्पोमा घोषणा गरिएको छुट अफर चाडबाड अवधिभर चल्ने कम्पनीहरूले जनाएका छन् ।
एक्स्पोमा कुन दिन कति अवलोकनकर्ता ?
बुधबार : १५ हजार
बिहीबार : १३ हजार
शुक्रबार : १९ हजार ५ सय
शनिबार : २१ हजार ५ सय
अपेक्षा गरेभन्दा धेरै राम्रो प्रतिक्रिया आएको र सवारीसाधन बुकिङ पनि राम्रो भइरहेको लिपमोटरको आधिकारिक बिक्रेता सांग्रिला मोर्टसको निर्देशक जय गोल्छाले बताए । ‘ग्राहकले उच्च भेरियन्टका राम्रो ग्राउन्ड क्लियरेन्स र रेन्ज भएका गाडी नै खोज्छन्,’ उनले भने, ‘लिपमोटर ब्रान्ड नेपालमा भित्रिएको १० महिना भयो । यस अवधिमा सी १० र टी०३ मोडलका २६० युनिटभन्दा बढी गाडी बिक्री गरिसक्यौं ।’
लिपमोटरको सी १० मोडलको मूल्य ७२ लाख रुपैयाँ भए पनि एक्स्पो अवधिभरका लागि ६५ लाख रुपैयाँमा राखिएको उनले सुनाए । लिपमोटरको टी०३ मोडलको २७ लाख ९९ हजार र बी १० मोडलको ४९ लाख ९९ हजार रुपैयाँ मूल्य छ ।
विद्युतीय सवारीमा चिनियाँ ब्रान्ड धेरै भित्रिसकेकाले प्रतिस्पर्धा बढ्दो रहेको उनले बताए । ‘चिनियाँ ब्रान्ड भए पनि युरोपमा पनि लिपमोटरको म्यानुफ्याक्चरिङ प्लान्ट छ,’ उनले भने, ‘यसले ४ सय ६० किलोमिटर रेन्ज दिन्छ । मोटर पनि त्यस्तै छ ।’
एक्स्पोमा लिपमोटरले ‘बी१०’ ईभी सार्वजनिक गरेको थियो । यसको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रुपैयाँ छ । बी १० मा १६० किलोवाट क्षमताको मोटर तथा ६७.१ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । एक पटकको पूरै चार्जमा ४ सय ६० किलोमिटर यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।
नाइमा एक्स्पोमा शनिबार मध्याह्नसम्म ७० वटाभन्दा बढी बुक भइसकेको विद्युतीय स्कुटर ‘न्यु’ को आधिकारिक बिक्रेता इको इन्फिनिटीका सेल्स इन्चार्ज मनोज थापा मगरले बताए । ‘शनिबार पनि २० वटा बुकिङ लियौं,’ उनले भने, ‘बुकिङ बढ्दो छ, विद्युतीय सवारीमा पुरानो ब्रान्ड र बिक्रीपछिको सेवा पनि राम्रो छ । त्यसले पनि ग्राहक आकर्षित भइरहेका छन् ।’ एक्स्पोमै आरक्यूआई मोडल विद्युतीय बाइक सार्वजनिक गरेको उनले जनाए । स्पोर्टी लुक्समा डिजाइन गरिएको उक्त विद्युतीय बाइकको मूल्य १० लाख रुपैयाँ पर्ने उनले सुनाए । ‘स्पोर्टी लुक्समा डिजाइन गरिएको छ, बाइकमा ७.५ किलोवाटको ब्याट्री छ,’ उनले भने, ‘१ सय २० किमि गतिमा कुद्छ ।’
एफक्यूआई ३०० मोडलको विद्युतीय स्कुटर पनि एक्स्पोमै सार्वजनिक गरिएको छ । उक्त स्कुटरको मूल्य ३ लाख ८५ हजार रुपैयाँ पर्ने थापा मगरले बताए । ‘स्कुटरमा ब्याट्री पोर्टबल छ, ब्याट्री झिकेर पनि चार्ज गर्न मिल्छ, स्कुटरमै राखेर पनि मिल्छ,’ उनले भने । चिनियाँ ब्रान्ड ‘न्यु’ को विद्युतीय स्कुटर नेपालमा ९ वर्षदेखि रहेको उनले सुनाए ।
जिकर ब्रान्डको आधिकारिक वितरक पायोनियर मोटो कर्पले पनि नाइमा एक्स्पोमा विशेष छुट योजना ल्याएको छ । ग्राहकका लागि विशेष अफरसहित जिकर एक्स ८४ लाख ९९ हजार रुपैयाँको सवारी ६९ लाख ९९ हजारमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । एक्स्पोमा जिकर एक्स बुक गर्ने ग्राहकले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी पनि प्राप्त गर्ने कम्पनीले बताएको छ । शनिबारसम्म जिकर एक्सको १० वटा बुकिङ भइसकेको कम्पनीले जनाएको छ ।
गाडीको बुकिङ अपेक्षा गरेभन्दा राम्रो भएको महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटकी सिनियर मार्केटिङ म्यानेजर सन्तोषी नेपालले पनि सुनाइन् । ‘गाडी बुकिङको संख्या ‘थर्ड डिजिट’ पुगिसकेको छ, ग्राहक बढिरहेका छन्,’ उनले भनिन् । गाडीको प्रविधि, फिचर, रेन्ज, ग्राउन्ड क्लियरेन्सलगायतले महिन्द्राको गाडी मन पराइरहेको उनको दाबी छ । ‘पहिलो दिनदेखि नै भिडभाड छ, एक्स्पोको दोस्रो दिनसम्म आइपुग्दा गाडीभित्र बसेर हेर्नसमेत कुर्नुपर्ने भएको छ,’ उनले भनिन्, ‘सबैले हेर्न पाउन भनेर तेस्रो दिन गाडीसमेत थप्यौ । तीन दिनसम्म सबै गाडी हेरेर बुक गर्न आउने ग्राहक पनि छन् ।’
कम्पनीले महिन्द्रा ब्रान्डको बीई ६ र एक्सईभी ९ई मोडल एक्स्पोमा विद्युतीय सवारी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार बीई६ का दुई र एक्सईभी ९ई का ३ भेरियन्ट नेपाली बजारमा उपलब्ध हुनेछन् । बीई६ मूल्य ५७ लाख रुपैयाँ र एक्सईभी ९ई को ६९ लाख रुपैयाँ तोकिएको छ ।
दुवै गाडीमा ९९ किलोवाटको मोटर छ । एक्सईभी ९ईको एउटा भेरियन्टमा भने १९९ किलोवाटको मोटर छ । कम्पनीले दुवै एसयूभीमा ५९ किलोवाट र ७९ किलोवाटसम्मका ब्याट्री प्याक उपलब्ध गराएको छ ।
एक्स्पो सुरु भएको चौथो दिनसम्म ६९ हजारले एक्स्पोको अवलोकन गरिसकेको आयोजकले जनाएको छ । एक्स्पो थाल्दै गर्दा आयोजकको अपेक्षा भने ८० हजारले अवलोकन गर्ने थियो । एक दिन समय थप गरिएकाले यो संख्या बढ्न सक्ने आयोजक नाइमाको भनाइ छ । एक्स्पोमा ५० वटा ब्रान्डका सवारीसाधन राखिएको र ३५ वटा नयाँ भेरियन्टका सवारी सार्वजनिक गरिएको छ ।
एक्स्पोमा १७ वटा ब्रान्डका दुइपांग्रे सवारीसाधन राखिएको छ । दैनिकजस्तो नाइमाले विभिन्न क्षेत्रसंग सम्बन्धित विज्ञको उपस्थितिमा समसामयिक विषयमा छलफलसमेत आयोजना गर्दै आएको छ ।
