कार्यालय बन्द भएपछि आउने ग्राहकलाई लक्ष्य गरी एक्स्पो हेर्न समय थप गरिएकाले अवलोकनकर्ता निरन्तर बढिरहेको नाइमाको स्पष्टोक्ति
What you should know
काठमाडौँ — नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ को तेस्रो दिन शुक्रबार मात्रै १९ हजार ५ सय जनाले अवोलकन गरेका छन् । तीन दिनमा भने ४७ हजार ५ सय जनाले एक्स्पोको अवलोकन गरेको नाइमाले जनाएको छ ।
बुधबार १५ हजार, बिहीबार १३ हजार र शुक्रबार १९ हजार ५ सय जनाले एक्स्पोको अवलोकन गरेको आयोजकको भनाइ छ ।
एक्स्पो हेर्न समय थप गरिएकाले अवलोकनर्ता निरन्तर बढिरहेको नाइमाको मिडिया एन्ड मार्केटिङ कन्सल्टेन्ट प्रतीक अर्यालले बताए । ‘बिहीबारदेखि कार्यालय बन्द भएपछि आउने ग्राहकलाई लक्ष्य गरी एक्स्पो घुम्ने अवधि पनि बढाएका थियौं, त्यसकारण पनि अवलोकनकर्ता बढेका हुन्,’ उनले भने, ‘बिहीबारदेखि नाइमाले एक्स्पोको समय अवधि बिहान ११ देखि राति ८ बजेसम्म राखेको छ ।’
पाँच दिनसम्म चल्ने प्रदर्शनी ८० हजारले अवलोकन गर्ने नाइमाको अपेक्षा छ । शनिबार थप अवलोकर्ता बढ्ने अपेक्षा गर्दै व्यवस्थापन गर्न चुस्त बनाइएको अर्यालको भनाइ छ । नाइमाले शुक्रबार ‘सडक सुरक्षा र पूर्वाधार ः गतिशीलता’ बारे अन्तरक्रिया गरेको थियो ।
एक्स्पोको पहिलो दिन प्रायः कम्पनीले गाडीका नयाँ मोडल सार्वजनिक गरेका थिए । दोस्रो दिन नयाँ मोडलसँगै अफर सार्वजनिक गरिएको छ । प्रायः कम्पनीले नाइमा एक्स्पोमा दिएको अफर आउने दसैंतिहारसम्म रहनेसमेत बताएका छन् । नाइमा एक्स्पोका अवसरमा कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले चाडपर्वको अवसरमा ‘किया फेस्टिभ ड्राइभ’ अभियान सार्वजनिक गरेको छ । यो अभियान विशेष छुट, आकर्षक अफर र सुविधासहित उत्सवको रौनक अझ बढाउने उद्देश्यले ल्याइएको जनाएको छ ।
अभियानअन्तर्गत ग्राहकहरूले चुनिएका किया मोडलमा अधिकतम १० लाख रुपैयाँसम्मको नगद फिर्ता पाउनेछन् । १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स प्याकेज पनि उपहारस्वरूप पाउने कम्पनीले बताएको छ । किया नेपालले नाइमा एक्स्पोअन्तर्गत सीमित समयका लागि थप चाडपर्व छुट पनि उपलब्ध गराएको छ । ग्राहकले किया ब्रान्डका अत्याधुनिक सवारीसाधनको अवलोकन गर्न र एक्सपो–विशेष अफरहरूबाट लाभ लिन सक्ने कम्पनीको भनाइ छ ।
नाइमा एक्स्पोको अवसरमा भारतीय मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेट नेपाल भित्रिएको छ । एक्स्पोमा केडिया इन्टरनेसनलसँगको रणनीतिक साझेदारीमार्फत अल्ट्राभायोलेट एफ ७७ म्याक २ रिकन सार्वजनिक गरिएको हो । उक्त मोटरसाइकलले पहिलो दिनदेखि नै सवारीप्रेमी र वातावरणप्रति सजग युवाको उल्लेखनीय ध्यान खिचेको कम्पनीको दाबी छ । मोटरसाइकल ‘प्याराल्याक्स’ र ‘राडार’ नामक सूचना प्यानल थिममा आधारित छ । मोटरसाइकलमा ३० किलोवाटको ब्याट्री, अधिकतम १५५ किलोमिटर प्रतिघण्टा गति रहेको कम्पनीको दाबी छ ।
मोटरसाइकलमा १० दशमलव ३ किलोवाट घण्टा क्षमताको धूलो तथा पानी प्रतिरोधी ब्याट्री राखिएको कम्पनीले जनाएको छ । ब्याट्रीको ग्यारेन्टी ८ वर्ष वा ८ लाख किलोमिटर (जुन पहिला पूरा हुन्छ) सम्म विस्तार गर्न सकिने सुविधा दिइएको छ । प्रदर्शनीमा १२ महिनासम्म शून्य ब्याजदरमा सुलभ ऋण, एक्सचेन्ज गर्दार् एक लाख रुपैयाँ नगद छुट, दुई लाख रुपैयाँ अग्रिम भुक्तानीपछि तीन लाख रुपैयाँ ६ महिनासम्म शून्य ब्याजमा किस्तामा तिर्न सकिने कम्पनीले बताएको छ । बाँकी रकममा साधारण ब्याजदर लाग्नेछ ।
नाइमा एक्स्पोमा बीवाईडी सिगल (एट्टो–१) मा ग्राहक तथा अवलोकनकर्ताको उच्च आकर्षण देखिएको छ । सिगल (एट्टो–१) को डाइनामिकको २८ लाख ९५ हजार र प्रिमियमको ३२ लाख ९९ हजार २९ लाख रुपैयाँ पर्नेछ । एक्स्पो अवधिका लागि विभिन्न अफर ल्याएको छ । एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नाइमा एक्स्पो अवधिका लागि विभिन्न अफर घोषणा गरेको छ । यो अफर एमजी ४ ईभी (कम्फर्ट, डिलक्स भेरियन्ट), एमजी एसछ ईभी (कम्फर्ट, लक्जरी भेरियन्ट), विन्डसर ईभी (एक्साइट, एक्सक्लुसिभ भेरियन्ट), कमेट ईभी (एक्साइट, एक्जिक्युटिभ भेरियन्ट) र एमजी आईएम ६ (प्रिमियम ७५ किलोवाट भेरियन्ट) जस्ता चर्चित मोडेलमा उपलब्ध छ ।
कम्पनीका अनुसार ४ लाख रुपैयाँसम्मको छुट, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र प्रत्येक खरिदमा ३ किलोवाट वा ७ किलोवाट चार्जर निःशुल्क पाइनेलगायत सुविधा छन् । यो एमजीको अहिलेसम्मकै सबैभन्दा आकर्षक अफर रहेको कम्पनीको दाबी छ । ‘यो एक्स्पो गाडी देखाउन मात्र होइन, ग्राहकलाई स्मार्ट र ग्रिन मोबिलिटीतर्फ सहज रूपले अघि बढाउने प्रयास पनि हो,’ पारामाउन्टका महाप्रबन्धक सुनीलबहादुर क्षेत्रीले भने, ‘हामीले एमजीको स्वामित्वलाई अझ सहज र पहुँचयोग्य बनाउन यस अफरार्फत अतुलनीय मूल्य प्रदान गरिरहेका छौं ।’ एक्स्पो अवधिमा मात्र उपलब्ध विशेष अफरले आगामी दिनमा उल्लेखनीय रुचि र बुकिङ बढ्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
