२५ साउनसम्म चल्ने प्रदर्शनीको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे । निजी क्षेत्रको मनोबल बढाउन सरकार स्थिर नीतिको पक्षमा रहेको उनको भनाइ छ ।
What you should know
काठमाडौँ — ‘नाइमा मोबिलिटी एक्स्पो–२०२५’ को पहिलो दिन बुधबार १५ हजारले प्रदर्शनीको अवलोकन गरेका छन् । पाँच दिनसम्म चल्ने प्रदर्शनी ८० हजारले अवलोकन गर्ने आयोजक नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले जनाएको छ ।
२५ साउनसम्म चल्ने प्रदर्शनीको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे । निजी क्षेत्रको मनोबल बढाउन सरकार स्थिर नीतिको पक्षमा रहेको उनको भनाइ छ ।
‘बजेट निर्माण गर्दा निजी क्षेत्रसँगै बसेर छलफल र संवाद गर्यौं,’ उनले भने, ‘यो अर्थमन्त्रीले होइन, निजी क्षेत्रले बनाएको बजेट होस् भन्ने थियो, त्यही अपेक्षाअनुसार बजेट ल्याएका छौं ।’
नीतिगत अस्थिरताले गर्दा व्यवसाय, उद्योगमा कस्तो प्रकारको प्रतिकूलता सिर्जना हुन्छ भन्ने सरकारलाई थाहा भएको उनको भनाइ छ । ‘निजी क्षेत्रको मनोबल कसरी उठाउने, आत्मविश्वास र रोजगारी सिर्जना कसरी गर्ने भन्नेतर्फ सरकारको ध्यान छ,’ उनले भने । सडक पूर्वाधार निर्माण सरकारको उच्च प्राथमिकताको विषय रहेको मन्त्री पौडेलले जनाए ।
गुणस्तरीय सडक पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने सरकारको अभियानमा निजी क्षेत्रको पनि साथ रहनेमा आफू विश्वस्त रहेको उनले बताए । ‘राजधानीमा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल छैन, जुन हाम्रा लागि शोभनीय थिएन,’ उनले भने, ‘चालु आर्थिक वर्षको बजेटमा सरकारले उच्च प्राथमिकतासाथ भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीमार्ग निर्माण गर्ने भनेर बजेट विनियोजन गरेको छ, बढीमा तीन वर्षभित्र यसको निर्माण सकिन्छ ।’
अटोमोबाइल क्षेत्र नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको महत्त्वपूर्ण इन्जिन भएको नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले बताइन् । नाइमाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँगको सहकार्यमा दक्ष जनशक्ति विकासमा लगानी गरिरहेको र यसले नेपाली युवाका लागि समावेशी एवं भविष्य उन्मुख रोजगारी सुनिश्चित गर्ने उनको भनाइ छ ।
नाइमा गैरनाफामूलक संस्था भएकाले एक्स्पो र अन्य गतिविधिबाट आउने सबै आम्दानी अटोमोबाइल क्षेत्र र यातायातसम्बन्धी विषयको विकासमा खर्च गरिने वैद्यले जनाइन् । यस क्षेत्रले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा १२ लाख ४० हजारभन्दा बढीलाई रोजगारी दिएको र कुल गार्हस्थ्य उत्पादनमा ७.१३ प्रतिशत योगदान पुर्याएको उनले बताइन् ।
५५ लाखभन्दा बढी सवारी दर्ता भएको यस क्षेत्रले बिक्री, मर्मत, लजिस्टिक, पूर्वाधारलगायत क्षेत्रमा रोजगारी सिर्जना गरिरहेको उनले प्रस्ट्याइन् । एक्स्पोमा ५० ब्रान्डका सवारी राखिएका छन् । साथै ३५ वटा नयाँ भेरिएन्टका सवारी सार्वजनिक गरिएको आयोजक नाइमाले जनाएको छ ।
प्रदर्शनीस्थल दुई र चारपांग्रे सवारीसाधनले भरिएको छ । एक्स्पोमा १७ ब्रान्डका दुईपांग्रे सवारी राखिएको छ । चाडबाड लक्षित गरेर आयोजित एक्स्पोमा राखिने सवारीसाधनमा कम्पनीहरूबीच छुट दिन प्रतिस्पर्धा छ । एक्स्पोमा घोषणा गरिने यस्तो छुट चाडबाड अवधिभर जारी रहने कम्पनीहरूले बताएका छन् ।
नेपालको इतिहासमा सबैभन्दा ठूलो एक्स्पो आयोजना गरिएको आयोजक समितिका संयोजक शिरीष मुरारकाको दाबी छ । ‘हामीले सुरु गरेको एक्स्पो सवारीसाधन र प्रविधिको प्रदर्शनी मात्र होइन,’ उनले भने, ‘यो सफा, स्मार्ट र समावेशी यातायात प्रणालीतर्फको सामूहिक प्रतिबद्धताको सुरुवात पनि हो ।’ यो कार्यक्रम नेपाल मोबिलिटी क्षेत्रको भविष्य निर्माण गर्ने साझा अभियान रहेको उनको भनाइ छ ।
पहिलो दिनको सहभागिता उत्साहजनक रहेकाले बिहीबारबाट राति ८ बजेसम्म एक्स्पो खुला रहने एक्स्पो समितिका सदस्य गौरव शारडाले बताए । ‘पहिलो दिन अवलोकनकर्ताको सोचेभन्दा राम्रो सहभागिता रह्यो,’ उनले भने, ‘दोस्रो दिनबाट साँझ ७ बजेसम्म टिकट उपलब्ध हुन्छ । ८ बजेसम्म एक्स्पो चल्छ ।’
‘एक्स्पोको व्यवस्थापकीय पक्ष राम्रो लाग्यो’
लोकेश ओली (बिजुली दाइ), ईभी इन्फ्लुएन्सर
‘नाइमा मोबिलिटी एक्स्पो–२०२५’ कस्तो लाग्यो ?
एक्स्पोमा जाँदा धेरै नै गाडी देखें । विगतका अटो शोको तुलनामा यसको व्यवस्थापकीय पक्ष एकदम राम्रो लाग्यो । बिहानैबाट अटो शोमा भिड थियो । अटो शोभित्र जता गए पनि आफूलाई हिरो भएजस्तो ठानें । किनकि जहाँ पनि रेड कार्पेट ओछ्याइएको थियो । पानी परिरहेका बेला भए पनि राम्रोसँग अटो शो सञ्चालन गरिएको थियो । यस पटक डिजल–पेट्रोलबाट चल्ने सवारीको तुलनामा विद्युतीय गाडी बिक्री गरिरहेका कम्पनी बढी देखिए । अटो क्षेत्रमा यो भनेको देखिने गरी नै आएको परिवर्तन हो ।
एक्स्पोमा थप सुधार गर्न के गर्नुपर्छ होला ?
भृकुटीमण्डपमा एक्स्पो गर्न एकदमै साँघुरो भयो । पहिला ३/४ वटा गाडी कम्पनी हुँदा यो ठाउँ ठीक थियो होला । तर अहिले गाडीका कम्पनी बढेका छन् । त्यसअनुसार ठाउँ पर्याप्त छैन । यसमा सरकारले ध्यान दिन जरुरी छ । यस्तो साँघुरो ठाउँलाई पनि राम्रोसँग व्यवस्थापन गरेर सवारीहरू प्रदर्शनीमा राखेको देख्दा खुसी लाग्यो ।
विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्न के गर्न सकिन्छ ?
विद्युतीय सवारीसाधनको आयातमा सरकारले राम्रो सहयोग गरेको छ । डिजल र पेट्रोलका गाडी आयातमा जस्तो कर लगाएको भए अहिले जस्तो धेरै ईभी गाडी हुँदैनथे । हामीहरूले यस्ता गाडीको प्रवर्द्धन गरिरहेका छौं । वातावरण जोगाउन विद्युतीय गाडी चढ्नुपर्छ भनेर मैले सर्वसाधरणमा जनचेतना जगाउने काम गर्दै आएको छु । अन्य इन्फ्लुएन्सर पनि आएर यसको प्रवर्द्धन गरिरहनुभएको छ । तर सरकारले त्यहीअनुसारको पूर्वाधार निर्माण गर्न जरुरी छ ।
