बुधबारदेखि सुरु हुने एक्स्पोमा दुईपांग्रे १५, चारपांग्रे १५ र व्यावसायिक ५ गरी ३५ नयाँ मोडलका गाडी सार्वजनिक गरिने छ भने विभिन्न ब्रान्डमा आकर्षक छुट अफर दिइएको छ।
What you should know
काठमाडौँ — भृकुटीमण्डपमा बुधबारदेखि ‘नाइमा एक्स्पो–२०२५’ सुरु हुँदै छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को आयोजनामा हुने एक्स्पोमा ५० वटा ब्रान्डका सवारीसाधन राखिनेछ । २५ साउनसम्म चल्ने एक्स्पोमा ३५ वटा नयाँ भेरिएन्टका सवारीसाधन सार्वजनिक गरिँदै छ ।
एक्स्पोको सबै तयारी सकिएको र स्टलमा सवारीसाधन राखिएको एक्स्पो समितिका सदस्य गौरव सारडाले बताए । पाँच दिनसम्म चल्ने एक्स्पोलाई ८० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको दाबी छ । ‘एक्स्पोमा चारपांग्रे, दुईपांग्रे र कमर्सियल सवारीसाधन राखिएका छन्,’ सारडाले भने, ‘त्यसो त पहिलो पटक गाडी, बाइक मात्र राखेर यस्तो एक्स्पो आयोजना गरिएको हो ।’
दसैं नजिकिँदै गर्दा छुट अफरसहित एक्स्पो आयोजना गर्न लागिएको उनले बताए । सबै ब्रान्डले आफ्ना सवारीसाधनमा छुट अफर घोषणा एक्स्पोबाट नै गर्नेछन् । एक्स्पोमा दुईपांग्रे १५, चारपांग्रे १५ र व्यावसायिक गाडी ५ वटा सार्वजनिक गरिनेछ । एक्स्पोको राइड पार्टनर पठाओले भृकुटीमण्डप गन्तव्य भएका यात्रुका लागि ३० प्रतिशत छुट दिने जनाएको छ ।
प्रदर्शनीको पाँचौं दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको उपस्थितिमा प्यानल छलफल आयोजना गरिनेछ । प्यानल छलफलका क्रममा बैंकर अनिलकेशरी शाहले ‘मोबिलिटी हिजो, आज र भोलि’ विषयमा सत्र सञ्चालन गर्नेछन् ।
यसबाहेक प्रदर्शनीलाई लक्षित गरेर विशेष अनलाइन प्रतियोगिता राखिएको छ । प्रतियोगितामा २१ साउनसम्म नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने एक जना उत्कृष्ट प्रतिस्पर्धीलाई १ लाख रुपैयाँ दिइनेछ । त्यस्तै २१ साउनदेखि २५ गतेसम्म अपलोड भएका १० उत्कृष्ट भिडियोलाई जनही १० हजारका दरले नगद पुरस्कार दिइनेछ । प्रदर्शनीको टिकट भने खल्ती बाई आईएमईमा उपलब्ध हुनेछ । टिकटको ५ प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहकार्यमा मोबिलिटीसम्बन्धी विषयमा छात्रवृत्ति तथा फेलोसिपका लागि खर्च गरिनेछ ।
एक्स्पोलाई आयातकर्ताका लागि सवारीसाधन बेच्ने माध्यम मात्र नभई समाज र उपभोक्तालाई पनि प्रभाव पार्ने र चेतना जगाउने थलो बनाउने प्रयास गरिएको नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले बताइन् । ‘त्यसका लागि हरेक दिन ‘लर्निङ सेसन’ आयोजना गरिनेछ,’ उनले भनिन्, ‘जसमा अटोमोबाइलको भूत, वर्तमान र भविष्य, वर्कफोर्स डेभलपमेन्ट, रोजगारी, सडक सुरक्षा, पूर्वाधारलगायत विषयमा सम्बन्धित विज्ञसँग छलफल हुनेछ ।’
एक्स्पोमा बीवाईडी, एमजी, ओमोडा, फोर्थिङलगायत ३५ नयाँ सवारी सार्वजनिक गरिने नाइमाले जनाएको छ । एसपीजी अटोमोबाइल्सले पूर्ण विद्युतीय प्रिमियम एसयूभी ‘जेइको जे–५’ सार्वजनिक गर्ने तयारी गरेको छ । एड्भेन्चर्स यात्राका लागि बनाइएको जेइको जे–५ एसयूभी आरामदायी विशेषताहरूसँगै अल–रोड–रेडी देखिने रगेड बनावट तथा डिजाइनको संयोजन रहेको कम्पनीको दाबी छ ।
यसमा लेभल २ एडास (एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम), श्रेणीमा उत्कृष्ट इन्टिग्रेटेड प्यानोरामिक सनरुफ, ५४०–डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सनजस्ता उच्च गुणस्तरका सुविधा छन् । जुन सहरी यात्रा तथा हल्का अफ–रोड यात्रा दुवैका लागि एकदमै उपयुक्त रहेको कम्पनीको दाबी छ ।
जे–५ मा कनेक्टेड कार टेक्नोलोजीसहितको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्स्टुमेन्ट क्लस्टर, १३२० मिलिमिटर चौडाइ भएको फराकिलो र आरामदायी सेकेन्ड–रो सिट, २५६–कलर एम्बिएन्ट लाइटिङ र ४८० लिटरको ट्रंक स्पेस तथा ३६ इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्ट छन् ।
एमजीको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले एक्स्पोमा आईएम–६ सार्वजनिक गर्ने जनाएको छ । यो सवारी यसअघि नै सार्वजनिक गरिएको भए पनि बुधबारदेखि बिक्री सुरु हुनेछ । आईएम–६ को मूल्य ७४ लाख ९९ रुपैयाँ तोकिएको छ । बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इन्कले एक्स्पोमा सिगल (एट्टो १) र सिलायन–७ नाइमा प्रदर्शनीमा राख्ने जनाएको छ । सिगल (एट्टो १) को मूल्य ३५ लाख रुपैयाँभन्दा कम पर्ने कम्पनीले जनाएको छ । सिलायन–७ को मूल्य ७२ लाख ९९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
यस्तै लक्ष्मी ई–मोबिलिटीले चीनको विद्युतीय सवारी ब्रान्ड ‘फोर्थिङ’ लाई नेपाली बजारमा ल्याउने जनाएको छ । स्मार्ट डिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागि चिनिएको ‘फोर्थिङ’ ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक एसयूभीसँग आफ्नो व्यवसाय सुरुवात गर्न लागेको जनाएको छ । ६४.४ किलोवाट आवर ब्याट्री, ९९ किलोवाट मोटर पावरसहितको यो एसयूभीले ४०० किलोमिटरभन्दा बढीको दूरी तय गर्न सक्ने कम्पनीको दाबी छ ।
वेबर ग्रुपअन्तर्गतको ब्लु कर्पोरेसनले चिनियाँ कमर्सियल भेहिकल ब्रान्ड सनलङका दुई नयाँ इलेक्ट्रिक माइक्रोभ्यान सार्वजनिक गर्ने छ । ब्लु कर्पोरेसनले १२ सिटे यू वान र १३ सिटे यू टु मोडल नेपाली बजारमा ल्याउने भएको हो । ब्लु कर्पोरेसनले १२ सिटे यू वानको मूल्य ४७ लाख ४७ हजार रुपैयाँ र १३ सिटे यू टुको मूल्य ५१ लाख ५१ हजार रुपैयाँ तोकेको छ ।
ब्लु कर्पोरेसनका अनुसार यू वानमा ४६.३६ किलोवाट–आवर र यू टु मा ५०.२३ किलोवाट–आवरको लिथियम ब्याट्री प्याक जडान गरिएको छ । ८० किलोवाटको मोटरसहित, यू वानको दाबी गरिएको ड्राइभिङ रेन्ज ३२५ किलोमिटर र यू टुको ३५० किलोमिटर रहेको छ ।
दुवै भ्यानमा १५ इन्चका ह्वील, १८० एमएम ग्राउन्ड क्लियरेन्स, एलसीडी ड्यासबोर्ड, यूएसबी चार्जिङ इन्टरफेस, एयर कन्डिसन, प्रेडेस्ट्रियन वार्निङ सिस्टम, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामरा र फ्रन्ट पावर विन्डो जस्ता फिचर समावेश छन् । सुरक्षाका लागि भ्यानमा एबीएस, ईबीडी, ईपीएस, ईएससी, ब्रेक असिस्ट सिस्टम, फ्रन्ट डिस्क तथा रियर ड्रम ब्रेक, सिटबेल्ट वार्निङ जस्ता प्रविधि उपलब्ध छन् ।
चार्जिङ सुविधाका रूपमा कम्पनीले ३.३ किलोवाटको पोर्टेबल चार्जर र ६.६ किलोवाटको वाल–माउन्टेड चार्जरसमेत उपलब्ध गराउनेछ । एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले एक्स्पोमा ‘एलईभी ०५’ र ‘एलईभी एक्स’ गरी दुई नयाँ मोडल सार्वजनिक गर्ने भएको छ । एलईभी ०५ प्रिमियम ह्याचब्याक सेग्मेन्टको इलेक्ट्रिक कार हो ।
यसको लम्बाइ ४२०० एमएम, चौडाइ १७७० एमएम र उचाइ १६१० एमएम छ । यो कारमा २६५० एमएम लामो ह्वीलबेस रहेको छ । १७ इन्चको अलोय ह्वील रहेको एलईभी ०५ मा १७५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । एलईभी ०५ लाई कम्पनीले ५० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटरमा ल्याउनेछ । यो यसको अधिकतम टर्क १८० न्युटन मिटर छ ।
यो कारमा सेग्मेन्ट फस्ट सबैभन्दा ठूलो साइजको ब्याट्री प्याक छ । एलईभी ०५ मा ५६ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक छ । जसले सिंगल चार्जमा ४०० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ । यो कारलाई ६० किलोवाटको डीसी फास्ट चार्जर र ७ किलोवाटको एसी चार्जरले चार्ज गर्न सकिन्छ । एलईभी एक्समा मोटर पावरको साथै फ्रन्ट र रियर गरी २०० किलोवाटको मोटर रहनेछ । यसमा ७७ किलोवाट आवरको ठूलो साइजको ब्याट्री प्याक रहनेछ । एलईभी एक्सको ड्यासबोर्डमा नयाँ डिजाइनको एसी भेन्ट आएको छ ।
सेग्वे–नाइनबोटको नेपालका अधिकृत वितरकले आइहबले सेग्वेका चार नयाँ मोडल सार्वजनिक गर्ने भएको छ । नाइमा एक्स्पोमा दुईवटा विद्युतीय स्कुटर ई–१५० एमके २ र ई–१२५ एमके २ र एक विद्युतीय मोटरसाइकल (जाइबर) र एक विद्युतीय साइकल (जाफारी) सार्वजनिक गर्नेछ । यी मोडलहरू सहरी क्षेत्रमा दैनिक प्रयोगदेखि जीवनशैली र वातावरणमैत्री यात्रासम्मका विभिन्न आवश्यकतामा उपयुक्त हुने गरी डिजाइन गरिएको कम्पनीको दाबी छ ।
सेग्वे ई–१५० एमके २ मा ७५०० वाटको मोटर र दुईवटा १९४४ वाट–घण्टा ब्याट्री छ भने ७५ देखि १२० किलोमिटरसम्म यात्रा गर्न सकिनेछ । ‘सेग्वे ई–१२५ एमके २’ मा ३६०० वाट मोटर र १९४४ वाट–घण्टा ब्याट्री छ भने ६० देखि १०० किमिसम्मको दायरा दिनेछ ।
एक्स्पोले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्छ
शिरीष मुरारका, संयोजक, नाइमा मोबिलिटी एक्स्पो–२०२५
नाइमा एक्स्पोको तयारी कस्तो छ ?
सबै तयारी सकिएको छ । बुधबार उद्घाटनसँगै एक्स्पो सुरु हुन्छ । एउटै एक्स्पोमा ५० वटा ब्रान्ड सहभागी हुँदै छन् । ४८ वटा ठूला आकारका स्टल छन् । कम्पनीहरूले राम्ररी गाडी प्रदर्शन र ग्राहकले आनन्दले अवलोकन गर्न पाउनेछन् ।
नाइमाले पहिलो पटक एक्स्पो गर्न लागेको हो । अन्य अटो शोको तुलनामा यसमा के फरक छ ?
हामीले चारपांग्रे, दुईपांग्रे र कमर्सियल भेहिकल प्रदर्शनीमा जोड दिएका छौं । एउटै एक्स्पोमा ५० ब्रान्ड सहभागी हुनु अहिलेसम्मकै ठूलो हो । नयाँ सवारीसाधन सार्वजनिक हुनेछ । पेट्रोल, डिजेल, विद्युतीय र हाइब्रिड सवारीसाधन देख्न पाइनेछ ।
एक्स्पोमा ३५ ब्रान्डका नयाँ सवारीसाधन लन्च गर्ने तयारी छ । कुन कुन ब्रान्डको सवारी आउँदै छन् ?
सबै कम्पनीले विस्तृत विवरण दिइसकेका छैनन् । एक्स्पोमै नयाँ सवारीसाधन सार्वजनिक गर्ने हो । एक्स्पोमै मार्केटिङ क्याम्पेन हुन्छ ।
पाँचदिने एक्स्पोमा कति अवलोकनकर्ता आउनेछन् ?
८० हजारले एक्स्पो अवलोकन गर्ने अनुमान छ । खल्ती एपमार्फत टिकट काटेर जान सकिनेछ । एक्स्पोमै आएर टिकट लिन सकिन्छ ।
सवारीसाधन खरिदकर्तालाई के–कस्ता अफर छन् ?
नाइमा एक्स्पोदेखि नै दसैंतिहारलाई लक्षित गरेर अफर सार्वजनिक हुन्छ । आफ्नो सहजताअनुसार गाडी हेरेर बुक गर्न वा किन्न सकिन्छ । एक्स्पोमा बुक गरेर दसैंतिहारमा समेत लिन सकिन्छ ।
एक्स्पोले अर्थतन्त्र कति चलायमान बनाउँला ?
गतिशीलता अर्थतन्त्रका लागि महत्त्वपूर्ण छ । एक्स्पोले यातायात क्षेत्रमा गतिशीलता बढ्छ, त्यसले अर्थतन्त्रलाई चलायमान बनाउँछ । नयाँ–नयाँ प्रविधि आइरहेका छन् । सवारीको माग बढ्दो छ । यसले अर्थतन्त्रलाई चलायमान नै बनाउँछ ।
