नाडा अटो शो २०२५ आगामी भदौ ३ देखि

युनिट्री रोबोट्स र डिपलको इभीटोल युएभीसहितको प्रदर्शनीमा १२५ भन्दा बढी प्रदर्शक र एक लाखभन्दा बढी आगन्तुकको सहभागिता हुने अपेक्षा गरिएको छ ।

श्रावण २०, २०८२

कान्तिपुर संवाददाता

NADA Auto Show 2025 from 3rd August onwards

काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७औं संस्करणको नाडा अटो शो २०२५ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

‘गो फर मोर’ नाराका साथ आयोजना हुने प्रदर्शनीले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिक तन्त्रलाई एकै छानामुनि ल्याउनेछ। प्रदर्शनी मात्र नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब रहेको नाडाले जनाएको छ।

प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड, र ३५ वटा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक कम्पनीहरूको सहभागिता रहनेछ।

एक लाखभन्दा बढी आगन्तुकको सहभागिता हुने अपेक्षा गरिएको शोमा १२५ भन्दा बढी प्रदर्शकहरू रहनेछन्। करिब तीन लाख वर्गफुट क्षेत्रमा फैलिएको प्रदर्शनीस्थलमा १ लाख ६२ हजार ५०० वर्गफुट प्रदर्शनी क्षेत्र समेटिनेछ।

प्रदर्शनीको मुख्य आकर्षणमा युनिट्री रोबोट्स, अत्याधुनिक चारपांग्रे रोबोटहरू र डिपलको इभीटोल युएभी (उड्ने सवारी) रहेका छन्। साथै, भिन्टेज मोटर शोमा मोरिस माइनर, बिटल, मिनी कुपर, टोयोटा आरटी ४०, माज्दा फेमिलिया, टोयोटा एमआर २ जस्ता ब्रान्डका सवारीसाधन प्रदर्शन गरिनेछ।

‘मेड इन नेपाल’ प्याभिलियनमा स्वदेशमै निर्मित सवारी तथा अटो पार्ट्स देखाइनेछ भने अन्तर्राष्ट्रिय व्यापार प्याभिलियनमार्फत विदेशी सहकार्य प्रवर्द्धन गरिनेछ। ईभी र स्मार्ट मोबिलिटीसम्बन्धी सेमिनार, कार्यशाला र अन्तरक्रिया कार्यक्रम पनि हुनेछन्।

कान्तिपुर

Link copied successfully