उत्कृष्ट करदाता बन्यो युवाले हाँकेको कोडावतार

आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्नेमध्ये कोडावतार टेक प्रालिले सबैभन्दा बढी आयकर दाखिल गरेकोमा सम्मान पत्र प्राप्त गरेको थियो

मंसिर ४, २०८१

सजना बराल

Kodavatar driven by the youth became the best taxpayer

काठमाडौँ — सूचना प्रविधि क्षेत्रले नेपालको अर्थतन्त्रमा दिने योगदान बलियो हुँदै गइरहेको सन्दर्भमा अर्को एउटा उदाहरण थपिएको छ । शनिबार राष्ट्रिय कर दिवसका अवसरमा सरकारले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरिरहँदा सूचना प्रविधि क्षेत्रबाट पनि एउटा कम्पनी सम्मानित भयो ।

आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्नेमध्ये कोडावतार टेक प्रालिले सबैभन्दा बढी आयकर दाखिल गरेकोमा सम्मान पत्र प्राप्त गरेको थियो । 

कम्पनीले आर्थिक वर्ष २०७९/८० को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिल गरेको विभागले जनाएको छ । यसलाई करदाताका रूपमा महत्त्वपूर्ण भूमिका मात्र नभएर नेपालको बढ्दो सूचना प्रविधि क्षेत्रको प्रतिबिम्बका रूपमा हेरिएको छ । ‘नियमित कर बुझाउनुलाई हामीले हाम्रो दायित्वका रूपमा लिएका थियौं, यसरी सम्मान पाइन्छ भनेर सोचिएको थिएन,’ कोडावतारका चिफ अपरेटिङ अफिसरसमेत रहेका सहसंस्थापक प्रशान्त राउतले भने, ‘यसले हामीलाई मात्र नभएर समग्र सूचन प्रविधि सेवा निर्यात क्षेत्रलाई प्रोत्साहन गरेको छ ।’ 

Kodavatar driven by the youth became the best taxpayerसन् २०२१ मा स्थापना भएको कोडावतारले अमेरिका र क्यानडामा सफ्टवेयरमा आधारित आफ्ना विविध सूचना प्रविधि सेवा उपलब्ध गराउँदै आएको छ । काठमाडौंको कालोपुलमा मुख्य कार्यालय रहेको कम्पनीले भारतको बैंलगुरु र फिलिपिन्समा पनि सम्पर्क कार्यालय सञ्चालन गरेको सहसंस्थापक राउतले जानकारी दिए । कम्पनीले ‘क्रिस्पकल’ नामक एआईसहितको भर्चुअल क्लाउड फोन सिस्टम र कन्ट्याक्ट सेन्टर सोलसुनका रूपमा ‘डायलेक्सी’ गरी दुई प्रमुख प्रोडक्ट निर्माण गरेको छ । ल्यान्डलाइन, मोबाइल फोनजस्ता भौतिक टेलिफोन र ह्वाट्सएप, भाइबर, म्यासेन्जरजस्ता ओटीटीभन्दा फरक भर्चुअल क्लाउड फोन विशेषतः विकसित देशका ठूल्ठूला बिजनेस कम्पनीहरूले प्रयोग गर्ने गरेका छन् । 

‘हामी हाम्रा क्लाइन्टलाई सयभन्दा धेरै देशहरूको भर्चुअल नम्बरहरू उपलब्ध गराउँछौं, हामीले दिने यी नम्बरलाई भौतिक टेलिफोनलाई जस्तो बेस स्टेसन टावरहरू चाहिँदैन,’ कोडावतारका सहसंस्थापक राउतले भने, ‘भारत, नेपाल, अमेरिका जहाँ बसेर पनि यी नम्बरबाट फोन गर्न, फोन उठाउन, एसएमएस र एमएमस पठाउन/पाउन सकिन्छ ।’ बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) कम्पनीहरूले प्रयोग गर्ने प्लाटफर्म आफूहरूले बनाएको उनले बताए । ‘बैंगलुरुका बीपीओ कम्पनीहरूले त्यहीं बसेर टेक्ससका कम्पनीको प्रतिनिधिका रूपमा फोन उठाउने र ग्राहक सेवा दिने गरेको समाचार हामी पढ्छौं, ती बीपोओ कम्पनीले फोन उठाउने प्लाटफर्म चाहिँ हामीले बनाएको हो,’ उनले भने, ‘हामी अन्तर्राष्ट्रिय मानकीकरण संस्था आईएसओबाट प्रमाणित पनि छौं ।’ 

प्रशान्तसहित दिनेश सिलवाल, राजेन्द्र डंगोल र दिवाकार घिमिरेले स्थापना गरेको कम्पनीमा हाल करिब ३ सयको संख्यामा सूचना प्रविधि जनशक्ति आबद्ध छन् । पछिल्लो समय सरकारले यो क्षेत्रलाई प्रोत्साहन गरेकाले व्यवसाय सहज भइरहेको राउतको अनुभव छ । नेपालको सूचना प्रविधि क्षेत्रले गत केही वर्षयता उल्लेखनीय प्रगति हासिल गरिरहँदा कोडावतारजस्ता कम्पनीहरूले नयाँ–नयाँ ‘बिजनेस सोलुसन’ प्रस्तुत गर्दै सूचना प्रविधि सेवाको निर्यातलाई प्राथमिकता दिइरहेका छन् । पछिल्लो समय नेपालको सबैभन्दा ठूलो निर्यात नै सूचना प्रविधि सेवा रहेको पनि अध्ययनले पुष्टि गरिसकेको छ । 

Kodavatar driven by the youth became the best taxpayerसर्वांगीण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले गरेको अध्ययनअनुसार नेपालले सन् २०२२ मा करिब ६७ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेवा निर्यात गरेको थियो । उक्त अध्ययनका आधारमा सन् २०२२ मा सूचना प्रविधि सेवा निर्यातबाट देशको कुल गार्हस्थ्य उत्पादनमा १.४ र वैदेशिक मुद्रा सञ्चितिमा ५.५ प्रतिशत योगदान देखिएको थियो । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले पनि सूचना प्रविधि सेवा निर्यात गरेर नेपालले दुई महिनामा ३ अर्ब रुपैयाँ प्राप्त गरेको देखाएको छ ।

नेपालबाट निर्यात हुने आईटी सेवाहरूमा प्रोग्रामिङ, कोडिङ, डिजाइनिङ, सफ्टवेयर डेभलपमेन्ट र टेस्टिङ मुख्य छन् । नेपाली कम्पनीमध्ये ७८ प्रतिशतले प्रोजेक्टमा आधारित काम पाउने गरेका छन् । आईआईडीएसको प्रतिवेदनमा सन् २०२२ सम्म नेपालमा ७ हजार ६ सय ३७ आईटी कम्पनीमध्ये १ सय ६ ले सेवा निर्यात गर्ने र यसमा १४ हजार ७ सय २८ फ्रिलान्सरसहित ६६ हजार ५ सय ९ जना सूचना प्रविधिसम्बन्धी काम गर्ने जनशक्ति रहेको उल्लेख थियो । 

देशको अर्थतन्त्रमा महत्त्वपूर्ण हिस्सा बन्दै गएको सूचना प्रविधि क्षेत्रलाई थप विस्तार गर्न करदातामैत्री वातावरण निर्माण गरेर सूचना प्रविधि सेवाको दायरा बढाउनुपर्नेमा यस क्षेत्रका विज्ञहरूले औंल्याउँदै आएका छन् । कोडावतार जस्ता कम्पनीहरूको सक्रियताले यस क्षेत्रलाई अझ सशक्त बनाउँदै आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । नेपालको आईटी क्षेत्रको यो प्रगतिलाई राष्ट्रिय नीति र सहकार्यले अझ मजबुत बनाउने हो भने भविष्यमा यो क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड बन्ने सम्भावना रहेको बताइन्छ । 

सरकारले यसपालि पहिलो पटक सबैभन्दा धेरै कर तिर्नेहरूको सूचीमा सूचना प्रविधि सेवा निर्यात विधालाई पनि समावेश गरेको हो । यो विधालाई उद्योगका रूपमा यसरी पहिचान गर्नु सकारात्मक भएको सूचना प्रविधि सेवा निर्यातमा संलग्न कम्पनीहरूको छाता संगठन ‘एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज’ (नास आईटी) का कोषाध्यक्ष अभय पौडेल बताउँछन् ।

‘सर्वाधिक कर तिर्नेको सूचीमा राखेर सरकारले यसपालि पहिलो पटक आईटी निर्यातलाई छुट्टै उद्योगका रूपमा पहिचान गरिदिएको छ,’ उनले भने, ‘अब हरेक नीति निर्माणका बेला आईटी सेवा निर्यात क्षेत्रले पनि महत्त्व पाउने अपेक्षा गर्न सकिन्छ, यो निकै सकारात्मक कुरा हो ।’ 

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully