तीन दशक लामो इतिहास बोकेको रिलायन्स स्पिनिङ मिल्स अहिले देशकै सबैभन्दा ठूलो रोजगारदाता उद्योग मात्रै बनेको छैन, भारत तथा तेस्रो मुलुकमा आफ्ना उत्पादन पठाउने अग्रणी निर्यातकर्ताका रूपमा पनि स्थापित छ
विराटनगर — उद्योगी पवन गोल्यानको दिमागमा ३० वर्षअघि एउटा जुक्ति फुर्यो, धागो उद्योग सञ्चालन गर्ने । आइडिया कार्यान्वयन गर्न उनलाई दुई वर्षजति लाग्यो । त्यो समयमा उनले योजना बुने, तर लगानी डुब्ने हो कि भन्ने त्रासले छोडेन । विदेशबाट कच्चा पदार्थ ल्याउने, उत्पादित सामान विदेश निर्यात गर्ने अनि विदेशी मुद्रा भित्र्याउने आत्मविश्वास गोल्यानलाई कसरी आयो त ?
‘त्यसबेला कामदारको ज्याला कम थियो । बैंकको ब्याजदर पनि सस्तो थियो । निर्यात व्यापारमा ड्युटी कर लाग्दैनथ्यो,’ उद्योगी गोल्यानले अनुभव साटे, ‘मूलतः त्यसैलाई मध्यनजर गरेर उद्योगमा लगानी गर्ने आँट बढाएको थिएँ ।’
२०५१ चैतमा जग हालेको उद्योगले इटहरी उपमहानगरपालिका–१२ खनारमा ३२ बिघा जमिन खरिद गरी २०५३ माघबाट उत्पादन सुरु गरेको थियो । राजधानीबाहिर पहिलो पटक धागो उद्योग सञ्चालनको जोखिम बढी नै थियो । तर, गोल्यानले त्यो जोखिम उठाएका थिए । एकातिर उनले उद्योग सुरु गरे, अर्कोतिर माओवादी सशस्त्र द्वन्द्व सुरु भयो । अस्थिर राजनीति, चर्को लोडसेडिङजस्ता यावत् समस्याका पहाड गोल्यानसामु ठडिए । तर, उनी समस्यालाई पन्छाउँदै निरन्तर अघि बढिरहे ।
तीन दशक लामो इतिहास बोकेको रिलायन्स स्पिनिङ मिल्स उद्योग अहिले देशकै सबैभन्दा ठूलो रोजगारदाता उद्योग मात्रै बनेको छैन, भारत तथा तेस्रो मुलुकमा आफ्ना उत्पादन पठाउने अग्रणी निर्यातकर्ताका रूपमा पनि स्थापित भएको छ । २०४६ को राजनीतिक परिवर्तनपछि काठमाडौंमा ‘ज्योति स्पिनिङ मिल्स’ नामको धागो उद्योग कारखाना खुलेको थियो । केही समय चलेपछि बन्द भयो । ज्योति स्पिनिङ बन्द भएपछि नै गोल्यानले सुरु गरेका थिए, रिलायन्स स्पिनिङ मिल्स । सन् २०१२ देखि पुनः जय स्पिनिङ मिल्सका नाममा ज्योतिले धागो उत्पादन गरिरहेको भए पनि रिलायन्सलाई यसले कुनै नोक्सान नपुर्याएको गोल्यान बताउँछन् ।
त्यो समयमा ज्योतिले मात्रै धागोको आन्तरिक माग पूर्ति गर्न सक्दैनथ्यो । त्यही भएर दुई छिमेकी र शक्तिशाली मुलुकहरू भारत र चीनबाट धागो आयात गरेर माग धान्नु पर्ने अवस्था थियो । जब गोल्यानले धागो उद्योगको जग हाले, तब भारत र चीनबाट भइरहेको आयात प्रतिस्थापन मात्रै भएन, उल्टो भारतलाई नै धागो निर्यात गर्न थाल्यो ।
करिब २ अर्ब हाराहारी लगानीबाट थालनी गरिएको यो उद्योगको अहिले साढे १५ अर्ब लगानी पुगेको छ । मानव संशाधन विभागका अनुसार सुरुआती दिनमा पिछडिएको वर्ग र समुदायलाई रोजगारी दिएर सुरु भएको उद्योगमा अहिले ३ हजार ५ सय ४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । जसमा महिलाको संख्या १ हजार ५ सय १५ र पुरुषको संख्या १ हजार ९ सय ८९ छ । भारतीय श्रमिक ज्यादै न्यून छन् । ‘प्राविधिक विभागमा सीमित संख्यामा भारतीय श्रमिक कार्यरत छन्,’ उद्योगका प्रबन्धक महेशकुमार पोखरेलले भने, ‘मिल्सले लामो समयदेखि ६ वटा उत्पादन इकाइमा धागो उत्पादन गर्दै आएको छ ।’ थप दुई नयाँ उत्पादन प्लान्ट थप्ने योजना मुताबिक करिब साढे ४ अर्ब थप लगानी गरेको पनि उनले सुनाए । ‘नयाँ प्लान्ट अत्याधुनिक रहनेछ,’ उनले भने, ‘यसले थप सहजता थप्नुका साथै उत्पादन बढोत्तरी पनि गरेर लैजानेछ ।’ उद्योगले ६ वटा इकाइबाट दैनिक सयदेखि डेढ सय मेट्रिक टनभन्दा बढी धागो उत्पादन गर्दै आएको छ । वार्षिक रूपमा ७ अर्बभन्दा बढीको धागो भारत तथा तेस्रो देश निर्यात भइरहेको छ । ‘अब चाँडै दुई वटा नयाँ प्लान्ट सञ्चालन गरिने योजना छ,’ पोखरेलले भने ।
उनले कामदारको ज्याला, विद्युत् महसुल, दिन–प्रतिदिन ढुवानी खर्च बढेकाले विदेशबाट कच्चा पदार्थ ल्याएर नेपालमा धागो उत्पादन गरी पुनः विदेश निर्यात गर्न समस्या भइरहेको गुनासो गरे । प्रबन्धक पोखरेलले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्न जमिन, भवन, मिल, मिसिनरी, श्रमिक र बैंकको ब्याज अन्य देशको तुलनामा कम नभएका कारण उत्पादन लागतमा अत्यधिक वृद्धि भएको बताए । उनले नेपाल–भारत खुला सिमानाका कारण अवैध धागो चोरी निकासी तथा पैठारीका कारणले स्वदेशी कपडा उद्योग ध्वस्त भएसँगै स्थानीय बिक्री वितरणमा समस्या आएको सुनाए । धागो उद्योगको खपत हुने भनेको कपडा उद्योगहरू भएको भन्दै पोखरेलले रिलायन्स उद्योगको उद्देश्य उद्योगबाट उत्पादित धागो नेपालमा नै खपत गर्ने भएको बताए ।
उद्योगी गोल्यानले निर्यात गर्ने सम्भावना देखेरै धागो उद्योग सञ्चालनमा जोखिम मोलेका थिए । अहिले उद्योगको ५० प्रतिशत बढी उत्पादन टर्की, यमन, भियतनाम, जापान, कोरियालगायतका मुलुकमा निर्यात हुन्छ । ३५ प्रतिशत उत्पादन भारतमा जान्छ । १५ प्रतिशत स्वदेशी बजारमा खपत हुन्छ । ऊनी धागोको करिब ८० प्रतिशत माग रिलायन्स कम्पनीले धान्दै आएको दाबी गोल्यानको छ । आर्थिक वर्ष २०७८/०७९ मा साढे ५ अर्ब मूल्यको भारत, करिब २ अर्बको तेस्रो मुलुक निर्यात भएको थियो । आन्तरिक खपत २ अर्ब ११ करोड बढीको भएको थियो । आर्थिक वर्ष २०७९/०८० मा भारत निर्यात बढेर ६ अर्ब नाघेको थियो भने तेस्रो देशको निर्यात भने घटेर १ अर्ब २० करोडमा झरेको थियो । आन्तरिक खपत पनि १ अर्ब ८६ करोड मात्रै भएको छ । ‘टर्कीमा हालसालै गएको भूकम्पका कारण निर्यात थोरै प्रभावित भएको थियो, अब सुधारोन्मुख छ,’ प्रबन्धक पोखरेलले भने, ‘सुरुआतमा उद्योगले एकै पटक २५ सयलाई रोजगारी दिएको थियो ।’ कामदारको उद्योगप्रतिको अपनत्वका कारण कहिल्यै उद्योग बन्द गर्नुपर्ने अवस्था नआएको उनले बताए । ‘यो उद्योगलाई यहाँसम्म ल्याउन श्रमिकहरूको योगदान ठूलो छ,’ उनले भने । भारतबाट ३ सय जना कामदार ल्याएर सुरु भएको उद्योगमा अहिले सीमित प्राविधिक मात्रै भारतीय कार्यरत छन् ।
उद्योग परिसरमा अलग्गै तालिम केन्द्र छ । जहाँ नयाँ र अदक्ष श्रमिकलाई दक्ष बनाउने गरिन्छ । उद्योगका पुराना कर्मचारी तथा तालिम संयोजक रमेश सिग्देलका अनुसार नेपाली श्रमिकलाई उद्योगले प्राथमिकतामा राखेको छ । जसअनुसार तालिम दिएर उनीहरूलाई दक्ष बनाइन्छ । ‘नेपाली कामदाले नै अहिले उद्योगको मोर्चा सम्हाल्न थालेका छन्,’ उनले भने, ‘सुरुका दिनमै २५ सयलाई रोजगारी दिएको उद्योगले श्रमिक र कर्मचारीको क्षमता विकासमा त्यही बेला १७ करोड हाराहारी रकम खर्च गरेको थियो ।’ उनका अनुसार उद्योगले अहिले विभिन्न विदेशी संस्थाको सहयोगमा तालिम दिइरहेको छ अनि आफूलाई आवश्यक पर्ने जनशक्ति उत्पादन पनि गरिरहेको छ । ‘अब नेपाली कामदारले नै सुपरभाइजरको दायित्व सम्हाल्न थालेका छन्,’ सिग्देलले थपे, ‘जसले भारतीय प्राविधिकको संख्यालाई क्रमिक रूपमा घटाउँदै लगेको छ ।’ तालिममा दक्षतासँगै अनुशासन, सुरक्षा, महिला हिंसा न्यूनीकरणका अलावा वस्तु उत्पादनका विभिन्न मापदण्डबारे प्रशिक्षित गराइने सिग्देल बताउँछन् । तालिम अवधिमै प्रशिक्षार्थीलाई पारिश्रमिक उपलब्ध गराइन्छ ।
श्रमिकहरूलाई बस्नका लागि क्वार्टर उपलब्ध गराइएको छ । खानका लागि सस्तो, सफा र स्वच्छ क्यान्टिन अनि बिदाका समयमा टहलिनका लागि बगैंचा तथा खुला मैदान पनि उद्योगभित्रै छ । श्रमिकका बालबालिकाका लागि अलग्गै ‘डे केयर सेन्टर’ छ । महिला श्रमिक संगीता तिवारीले महिनावारीका समयमा उद्योगले नै प्याड दिने गरेका कारण महिला श्रमिकका लागि ठूलो राहत भएको बताइन् । उद्योगका वरिष्ठ व्यवस्थापक आशिष काफ्लेका अनुसार सुत्केरी महिलाका लागि बस्न, साना बच्चाहरूलाई खेल्न, डुल्न सहज र सुविधा होस् भनेर उद्योगले नै दुई तले घर बनाइदिएको हो । यस्तो सुविधा अहिलेसम्म सबैभन्दा राम्रो कर्पोरेट कल्चर भएको भन्ने बैंकहरूले समेत दिन नसकेको उनको दाबी छ । स्वास्थ्य चौकीदेखि एम्बुलेन्स सुविधा पनि उद्योगभित्रै छ । ‘रेडक्रससँगको सहकार्यमा एम्बुलेन्स पनि सञ्चालन गरेका छौं,’ काफ्लेले थपे, ‘श्रमिकमा आइपर्ने आपत्कालीन समस्याबारे उद्योग गम्भीर छ ।’
निकट भविष्यमा उद्योग सुनसरीको इनरुवा क्षेत्रमा पनि विस्तार गर्ने योजना सञ्चालकको छ । साढे ३ अर्ब लागतमा उद्योग विस्तार गर्ने तयारी भइरहेको प्रबन्धक पोखरेलले जानकारी दिए । ‘अर्को वर्षदेखि दुहवी–इनरुवा औद्योगिक करिडोरमा हाम्रो अर्को उद्योग स्थापना हुँदै छ,’ उनले भने । नयाँ उद्योगका लागि २५ बिघा जमिन खरिद भइसकेको छ । त्यो क्षेत्रका सीमान्तकृत र पछाडि परेको समुदायलाई उद्योगमा प्रत्यक्ष संलग्न गराइने उद्योगको योजना छ । उद्योगले भारत, चीन, थाइल्यान्ड र इन्डोनेसिया लगायतका देशबाट कच्चा पदार्थ आयात गरिरहेको छ । धागोको कच्चा पदार्थका लागि उद्योगले देशका विभिन्न स्थानमा कपास खेती सुरु गर्ने योजना पनि गर्दै छ ।
भारतको भन्दा गुणस्तरीय कपास फलाएर देशमै कच्चा पदार्थ उत्पादन गरी जतिसक्दो धेरै रोजगारी सिर्जना गर्ने योजना उद्योगको छ । हाल देशका करिब तीन हजार उद्योगलाई रिलायन्सले नै धागो उपलब्ध गराइरहेको छ । ‘भारतसहित बंगलादेश, भुटान, म्यान्मारजस्ता नजिकका छिमेकीलाई कपासको गुणस्तरीय धागो निर्यात गर्न सक्दा देशलाई आर्थिक टेवा पुग्नेछ,’ गोल्यानले भने, ‘सँगै थप रोजगारीसमेत सिर्जना हुनेछ ।’
रिलायन्सका सञ्चालक शशिकान्त अग्रवालका अनुसार नेपालबाट बंगलादेश धागो निर्यात गर्न असहज रहेका कारण सरकारले बंगलादेशमा धागो निर्यातका लागि राजनीतिक पहलकदमी लिइदिनुपर्ने बताउँछन् । ‘यहाँ उत्पादित धागोलाई बढीभन्दा बढी स्वदेशमै खपत गराउन सरकारले दीर्घकालीन नीति ल्याउनु आवश्यक छ,’ उनले भने, ‘नेपालमा उत्पादित धागो खपत गराउनका लागि सरकारले भारतलगायतका देशबाट कपडा तथा गार्मेट उद्योगमा हुने चोरी पैठारी नियन्त्रण गर्नैपर्छ ।’
अनियमित विद्युत् आपूर्तिले समस्या
रिलायन्स स्पिनिङ मिल्स सञ्चालित भव्य भवनमा पुग्दा उद्योग आन्तरिक जेनेरेटरको भरमा थियो । मुख्य उद्योग बन्द थियो । श्रमिकहरू बत्तीको पर्खाइमा समय बिताइरहेका थिए । ‘प्राधिकरणले दिनहुँ बिजुली काटिदिन्छ,’ उद्योगका वरिष्ठ व्यवस्थापक आशिष काफ्लेले गुनासो गरे, ‘कहिलेकाहीँ त दिनभरि नै बत्ती आउँदैन ।’ बत्ती नभएपछि श्रमिकहरू काम नगरी फर्किने गरेको उनले सुनाए । खासमा रिलायन्सले १ अर्ब ९४ करोड बढी विद्युत् बक्यौता तिर्न बाँकी रहेको सरकारको दाबी छ । तर, बढीमा ७३ करोड रुपैयाँ बक्यौता रहेको दाबी उद्योगको छ । उद्योगले मासिक ४ करोड बढीको विद्युत् खपत गर्दै आएको छ । प्राधिकरणले नियतवश नै उद्योगको विद्युत् काट्ने गरेको उद्योगी पवन गोल्यानको दाबी छ । ‘दैनिक ४ सय मेगावाट भारत निर्यात भइरहेको छ,’ उनले आक्रोश पोखे, ‘नेपाली उद्योगलाई नदिने अनि भारतलाई सस्तोमा विद्युत् बेच्ने रहस्यभित्रको नियत के हो त ?’
