ऊर्जा र हिम्मतकी बिम्ब

टेलिभिजनमा सुबिनको अन्तर्वार्ता प्रसारण हुँदा असाध्यै उत्सुक भएर हेर्छिन् मुना । प्रेसबाट भर्खर छापिनेबित्तिकै सुबिनका सबै किताब पढिसक्छिन् । पत्रिकामा छापिएका हरेक अन्तर्वार्ता, लेख नछुटाई पढ्छिन्, एक–दुई वाक्यका टिप्पणी दिन्छिन् । 

जेष्ठ १५, २०८१

दीपक सापकोटा

An epitome of energy and courage

काठमाडौँ — सन्तान र आमाको सम्बन्ध केवल सरल रेखामा हिँड्दैन, अनेक भाव र उतारचढावबाट गुज्रिन्छ । तिनका सम्बन्धका यात्राहरू बहुआयामिक हुन्छन् । यिनै सम्बन्धका आँखीझ्यालबाट हेर्दा आमालाई कहिले कोमल, कहिले कठोर भएकी देखेका छन्– आख्यानकार सुबिन भट्टराईले । अनेक हन्डर, ठक्कर र संघर्षले आमालाई जति नै बलियो बनाए पनि छोराछोरीका सवालमा ती करुण हुन्छन् भन्ने बुझेका छन् उनले । 

निकै लामो समय बिरामी भएकाले होला, सुबिन वयस्क हुँदासम्म पनि उनकी आमालाई केही चिन्ताले असाध्यै छोप्थ्यो– छोरो कहाँ गयो ? के खायो ? केही अनिष्ट पो हुने हो कि ? सुबिनको शरीर पनि त्यस्तै थियो, मानौं त्यो कमजोर काँचले निर्माण भएको हो, जुन सामान्य छुवाइले पनि प्याट्टै फुटिजान्छ । कस्तो भने एकदमै नाजुक र प्रतिरोधात्मक शक्ति कमसल भएको शरीर थियो उनको । त्यसैले छोरो स–सानो बिरामी पर्दा पनि भयंकरै आत्तिन्थिन् उनकी आमा– मुना लम्साल भट्टराई (६६) । 

ती दिनका स्मरणले अहिले पनि फतक्कै गलाउँछ सुबिन र उनकी आमालाई । उसबेला सुबिनलाई लागेको थियो– जीवन त एउटा रबर रहेछ, जो च्वाट्टै चुँडिएर जान्छ । हरक्षण एउटै तनावको कालो बादलले छोप्थ्यो– यो जीवनको सिलसिला अब टुंगिन्छ–टुंगिन्छ । तर त्यस्तो भएन, ती अत्यासलाग्दा अँधेरीमय दिनबाट उठे सुबिन र लेखक बने । सुबिनको लेखन–मेनुमा बहुचर्चित किताबका लस्कर छन् । बिक्रीका हिसाबले ती किताब नेपाली बजारमा बेस्टसेलर छन् । ‘कथाकी पात्र’ (२०६७) कथासंग्रह, ‘समर लभ’ (२०७९), ‘साया’ (२०७१), ‘मनसुन’ (२०७३), ‘प्रिय सुफी’ (२०७५), ‘इजोरिया’ (२०७९) उपन्यासका लेखक हुन् सुबिन, जसले नेपाली पाठक र समाजलाई मन्त्रमुग्ध पारिरहेकै छ । ‘समर लभ’ मा अतीत र सायाको रोमान्स तथा प्रेमको गुलाबी कथा वाचन गर्छन् सुबिन । प्रेम, संघर्ष, तनाव र अन्ततः वियोगको यो आख्यानले ठूलो युवा–पंक्ति सुबिनको फ्यान बन्यो । 

सुबिनका कथा कन्टेन्टका पक्ष–विपक्षमा भएका बहस–विमर्शले लामो समयदेखि नेपाली समाजमा तरंग छ । ‘उनलाई किन पढ्ने’ भन्ने पनि छन्, ‘नपढी हुँदैन’ भन्ने पनि । जे होस्, कोमल र ओजिला उनका कथाले नेपाली समाजका युवा र तिनका सुख–दुःखलाई सम्बोधन गरिरहेकै छन् । सुबिनको पछिल्लो उपन्यास ‘इजोरिया’ मधेशको कथा हो, जहाँ एकै परिवारका सदस्यहरूको प्रेम, द्वन्द्व र घृणाका पत्र–पत्र उतारिएको छ । ‘इजोरिया’ मैथिली शब्द हो, जसको अर्थ हुन्छ– ‘जुनको उज्यालो’ । ‘इजोरिया’ हालसम्म ८० हजार र ‘समर लभ’ करिब १ लाख प्रति बिक्री भएको सुबिन बताउँछन् ।

यी युवा लेखकका ती अनकन्टार र रङ्गहीन आयतनमा टाँगिएका दिन कस्ता थिए ? जब एसएलसी सकियो र कलेज सुरु भयो, सुबिन बाथले ओछ्यान परे । डाक्टरले भनेका थिए– ट्वाइलेटसम्म पनि नहिँड्नु, पूरै ‘बेड रेस्ट’ गर्नु । हुर्केर किशोरवयमा पुगिसकेको छोरालाई आमाले फेरि नवजात शिशुझैं हुर्काउनुपर्‍यो । ओछ्यानमा दिसा–पिसाब गराउनु, नुहाइदिनु, हाडजोर्नीमा अत्यधिक दुखाइ हुने भएकाले ओल्टोकोल्टो गर्दा सिरक पन्छाइदिनु, प्रत्येक दिन जीउमा तेल वा गाईको घिउ घसिदिनु– आठ/नौ महिनासम्म चलिरह्यो यो क्रम । लामो अवधिको उपचारपछि बल्ल–बल्ल ठीक भए उनी ।

१२ कक्षा पढ्दा बाथ फेरि बल्झियो । अर्को आठ–नौ महिना फेरि ओछ्यानग्रस्त भए । बाथ सुरु भएपछि शौचालय पनि जान नहुने, बेड रेस्ट गरिरहनुपर्ने । र, निको हुन कम्तीमा सात–आठ महिना लाग्ने । छोरालाई रोगले च्यापेपछि आमालाई फेरि उस्तै हत्ते । स्नातकोत्तर पढ्दा–पढ्दै फेरि यही रोगले च्याप्यो । र, अर्को आठ महिना फेरि ओछ्यानग्रस्त भए सुबिन । सुबिनको बुझाइमा आमाहरूलाई आफ्ना छोराछोरीका समस्यामा झन्झट वा हत्तेभन्दा पनि मानसिक पीर ठूलो हुन्छ । ती कठिन र अँध्यारा गुफाभित्र पसिरहेजस्ता अत्यासिला दिनका स्मृतिले अझै सुबिनका नौनाडी फतक्कै गल्छन् । झ्यालनेरको ओछ्यानबाट आकाशमा धमिला बादल हेर्दै घोरिइरहेका ती दिन उनका सपनामा हरिया बिच्छीहरू आउँथे र उनैलाई डस्थे । 


बडो विकट र पिछडिएको थियो– खोटाङ । न गाडीको सुविधा थियो, न त एयरपोर्ट । मधेशबाट हिँडेर पूरै दुई/तीन दिन लाग्थ्यो घर पुग्न । खोटाङको नौला गाउँमा माइली छोरी भएर जन्मिइन्, सुबिनकी आमा मुना । मुनाको बाल्यकाल ठूलो परिवारबीच बित्यो । उनका हजुरबुबाका दुइटी श्रीमती र तिनका छ जना सन्तान । अनि भान्जा–भान्जीलगायत थुप्रै हुन्थे मामाघरमा । मुना स्कुल त गइन् तर मन लागेजत्ति पढ्न पाइनन्, यद्यपि पढ्नमा तीक्ष्ण थिइन् । मामाघरमा भएका ‘महाभारत’ र ‘रामायण’ अनि अनेक उपनिषद्, वेद र पुराणका किताबका बडेमानका ठेली किशोरावयमै सिनित्तै पारिदिएकी थिइन् । आज पनि उनी एउटा किताब लिएर सुबिनको कोठाबाट निस्किन्छिन् र दुई दिनमै पढिभ्याउँछिन् । बडो रुचिले अखबारका पन्ना पल्टाउँछिन् । 

An epitome of energy and courage

हाईस्कुल पनि नपुग्दै खोटाङ बजारमा (एक घण्टाको दूरीमा) मुनाको बिहे भयो । उनको मामाघर र घरका हजुरबुबा दुवै प्रधानपञ्च भइसकेका थिए । मित्रता र दुश्मनीका अनेकन उहापोह पार गरिसकेका यी दुई पिताले अन्ततः आफू–आफूबीचको सम्बन्धलाई बलियो बनाए, आपसका सन्तानलाई विवाह सूत्रमा बाँधिदिएर । र, यसरी मुना बाँधिइन्, उमेर नपुग्दै छिप्पिइन् । एउटा निस्फिक्री, चञ्चल अनि जोस र जाँगरसहितको जीवनलाई सम्बन्धहरू र जिम्मेवारीको दाम्लोमा बाँधिदिइन्, जहाँ स्कुल जानु, पढ्नु धेरै परको कुरा थियो, एउटा किताब फिँजाउन पनि हजार ठाउँमा खुम्चिनुपर्ने माहोल थियो । उनले परम्परागत बुहारी बनेर एकनाशको जीवन व्यतीत गरिन् र तीन सन्तानलाई जन्म दिइन् । बिहान तीनै बजे उठेर गाग्री लिएर पँधेरा पुग्नुदेखि, भात–भान्सा, वन, घाँस–दाउरा, लिप्नु–पोत्नु सबै काम उनले गर्नुपर्‍यो । उमेर जतिसुकै कान्छी देखिए पनि ‘जेठी बुहारी’ बनेर भित्रिएपछि कर्तव्य र दायित्वका बडेबडे बोझ यस्सै थुप्रिन्छन् । कहीं पनि चुक्ने छुट थिएन । 

सुबिनका बुबा शिवप्रसाद भट्टराई (७०) खोटाङकै भगवती माविका शिक्षक थिए, पूरै परिवारमा रोजगार उनी मात्रै । तर, तलब सिधै सुबिनको हजुरबुबाको हातमा जान्थ्यो । तीन सन्तान जन्मिएपछि मुना सुबिनलाई लिएर मधेश झरिन् । सुबिनका दिदी र दाजु भने केही समय गाउँमा बुबासँगै बसे । विराटनगर नर्सिङ क्याम्पसमा पनि शिवप्रसादले काम गरे । केही समय विराटनगरमै बसेपछि सुबिनका बुबा–आमा छोराछोरी लिएर काठमाडौं पसे । पञ्चायत निभ्नुभन्दा केही सालअघि आपूर्ति राज्यमन्त्रीले उनका बुबालाई पीए बन्न काठमाडौं बोलाएको सम्झना छ सुबिनसँग । सुरुआती समयदेखि नै जागिरे भएकाले उनका बुबा घरमा कमै बस्थे । समयको यस्तै रस्साकसीबीच बुबाको समय छोराछोरीलाई बटुका भरिने गरी चाहिएको हुन्थ्यो तर त्यो एउटा चम्चामा भरिएर आउँथ्यो । आँत भिज्नु धेरै परको कुरो, खाली ओठसम्म भिज्थ्यो र छोराछोरीमा एउटा अतृप्तता सधैं कायम रहन्थ्यो । शिवप्रसाद रिटायर्ड नहुन्जेलसम्मै यो क्रम चलिरह्यो । 

जागिरका सिलसिलामा सुबिनका बुबा दिपायल, अमेलखगन्ज, धनगढी, पोखरा, बिर्तामोड, भैरहवालगायत धेरै ठाउँ चहारे । यसर्थ छोराछोरीलाई सम्पूर्ण रूपमा मुनाले नै हुर्काइन् । काठमाडौंमा धेरै वर्ष भाडाको घरमा बित्यो– आधा दर्जनभन्दा बढी ठाउँमा डेरा सर्नुपर्‍यो । यसरी तीन छोराछोरी च्यापेर, भइराखेका हाँडाचिन्डा उठाएर ठाउँ–ठाउँ डेरा सरी हिँड्ने आँट सुबिनकी आमासित थियो । सुबिन ठान्छन्– सन्तानप्रतिको ममता र जीवनका अनेक आरोह–अवरोहले हो सायद, आमाभित्र तीव्र हिम्मत थियो । अभावसित कुस्ती कसरी खेल्न सकिन्छ ? थोरै आयमा पनि घर कसरी चलाउन सकिन्छ ? आमासँग ती सबैमा राम्रै अभ्यास भएको सम्झन्छन् सुबिन । उनलाई लाग्छ, बुबाको एक्लो सुब्बास्तरको कमाइले तीन छोराछोरी हुर्काउने, घर धान्ने काम वास्तवमै कष्टप्रद थियो आमाका निम्ति । त्यही कष्टमा ‘भरथेग हुन्छ’ सोचेर डेरा बस्दाखेरि मुना तान बुन्ने र सिलाइ–बुनाइको काम पनि गर्थिन् । 

सुबिनको यादमा आर्थिक अभाव र बुबाको अनुपस्थितिमा आमाले उनीहरूलाई आमा मात्रै भएर होइन, बुबा भएर पनि हुर्काइन् । भन्छन्, ‘त्यसैले आमा आमाहरूझैं नरम हुनुभयो, बुबाहरूझैं हल्का कठोर पनि । छोराछोरीले बाटो बिराउलान् भन्नेमा संवेदनशील हुँदै चौतर्फी चासो पनि राख्नुभयो ।’ सुबिन ९ कक्षामा पढ्दै गर्दा काठमाडौं कपनमा घर बनेपछि उनीहरू डेरा जीवनबाट मुक्त भए । घर बन्दा बुबा बिर्तामोडमा थिए । सिंगै घर मुनाको अगुवाइ र पहलमा बनेको थियो । बानेश्वरको डेराबाट हरेक दिन कपन जान्थिन् मुना । जग उठाउन पुग्ने पैसा नहुँदा पनि मुनाले घरै बनाउने आँट गरिन् । उनको आँट देखेर सुबिनका बुबा तर्सिएका थिए । जसोतसो एकतले घर त बन्यो, तर घरले धेरै वर्ष ऋणमा पार्‍यो । अवस्था कति नाजुक भयो भने तरकारी खान पनि धौधौ थियो । ‘तर, त्यही अभावबीच घर नबनेको भए कहिले बन्थ्यो थाहा थिएन,’ सुबिन भन्छन् ।


सुबिन मानसपटलमा बसेको एउटा घटनाको साविती बयान दिन्छन् । त्यसबेला सायद उनी दुई कक्षा पढ्थे । आमाले घर खर्चका लागि केही पैसा एउटा टिनको ट्यांकामा जतनले राखेकी हुन्थिन् । सय रुपैयाँका दुई वटा नोट हुँदा हुन् । त्यसबाट सुबिनले सयको एउटा सिंगै नोट चोरे र स्कुल पुगेर अनेक–अनेक मिठाईहरू खाए, साथीहरूलाई पनि ख्वाए । डिल्लीबजारको एउटा स्टेसनरी र खेलकुद सामग्री पाइने पसल पुगेर खेलाउने बन्दुक किने, मःम खाए । त्यति धेरै खर्च गरेपछि अझै बचेको पचास रुपैयाँ गोजीमै थियो । बेलुका घर पुग्दा पैसा चोरी भएको घटनाले ठूलो हल्लीखल्ली मच्चिएको थियो । सुबिनले स्कुलको झोलामा बोकेर लगेको बन्दुक सबैले देखिहाले । त्यसपछि ‘कहाँबाट आयो’ को निरन्तर केरकारमा ‘साथीले उपहार दिएको,’ भन्ने सफाइ असाध्यै कमजोर साबित भयो र उनको राम्रै रामधुलाई भयो । 

An epitome of energy and courage

यो चोरीको घटना स्कुलसम्मै फैलियो । साथीहरूले उनलाई ‘चोर’ भन्न थाले । बाल्यकालमा सुबिन असाध्यै उद्दण्ड प्रवृत्तिका थिए– पैसा चोर्ने, जाँचका बेला भागेर हलमा फिलिम हेर्न जाने, आमाले भर्खर किनेर ल्याएको कपडामा आगो लगाइदिने, बोतलबाट मट्टीतेल सबै मिल्काएर बोतल मात्रै बेच्ने र मिठाई खाने, बुबाले खाटमुनि सुटुक्क लुकाएर राखेको मदिरा घुट्याइदिएर घरमा आएका पाहुनामाथि खुकुरी नै उज्याइदिने, बुबाको अफिस पुगेर कहिलेकाहीं कुर्सीमा उँघिरहेका कर्मचारीलाई ‘काम चोर’ भन्दै थर्काउने ! 

सुबिनका हर्कतबाट सबै आजित थिए । आमा स्निग्ध बनाएर स्कुल पठाउँथिन्, फर्कंदा सेतो कमिज मैलोले खैरो भइसकेको हुन्थ्यो, दुई–तीन वटा टाँक उक्किएका हुन्थे, खल्ती उध्रेर आधी लत्रेको हुन्थ्यो, अनुहारमा केही खत हुन्थे, जुत्ताको तुना खुस्केर भुइँमा घिस्सिएको हुन्थ्यो । समग्रमा बडो विद्रुप हुलियामा घर पुग्थे । आमा हरदिन छोराको व्यवहारबाट विरक्तै हुन्थिन् । छ/सात वर्षकै उमेरमा सुबिन काठमाडौं, भक्तपुर र ललितपुर सबैतिर एक्लै डुलिहिँड्थे । बसमा केटाकेटीलाई पैसा पर्दैनथ्यो । ‘कत्ति पटक त छोरा हरायो भनेर रेडियो नेपालमा बालक हराएको सूचनामा झन्डै मेरो नाउँ प्रसारित नभएको,’ सुबिन भन्छन् ।

अहिले सम्झिँदा सुबिनलाई लाग्छ, आमासित उनीमाथि धेरै अपेक्षा थिए । आमाका अधिकांश अपेक्षा अपूरै रहेको महसुस छ उनलाई । ‘आमाका ती सबै अपेक्षा–सपना पूरा गर्न सकेको भए हुन्थ्यो’ लाग्छ सुबिनलाई, तर अब बितेको समयमा पुगेर पूरा गर्छु भन्न सकिन्न । आम नेपाली आमाहरूझैं छोरा डाक्टर, इन्जिनियर बनिदिए हुन्थ्यो भन्ने इच्छा सुबिनकी आमाको पनि थियो । त्यो पनि बन्न नसकेपछि कम्तीमा सरकारी अफिसर भइदिए हुन्थ्यो भन्ने अपेक्षा थियो । पैंतीस नकटुन्जेलसम्म पनि उनकी आमा ‘छोरा लोक सेवा लडिदिए हुन्थ्यो’ भन्ने आस गर्थिन् । त्यो पनि नगरेपछि ‘कतै कुनै राम्रो जागिर खाइदिए हुन्थ्यो’ भन्ने आशा थियो । त्यति पनि सुबिनले पूरा गर्न सकेनन् । सायद उनी अलिक अराजक थिए, आफ्नै लयमा बग्न चाहन्थे । त्यसैले उनले आमा–बुबाका धेरै कुरा सुनेनन् । उनीहरूका सपनाहरूलाई आफ्नो बहावमा, आफ्नै उडानमा साथै लिएर हिँड्न सकेनन् ।


आमा र छोराछोरीबीच ‘व्यक्तभन्दा अव्यक्त प्रेम हुन्छ’ भन्ने सुबिनको बुझाइ छ । त्यो स्नेह–प्रेम औपचारिक र लोकाचारभन्दा पनि प्राकृतिक र साधारण हुनुपर्छ भन्ने सोच्छन् उनी । आमाप्रति कुनै सन्तान अति अनुशासित र आज्ञाकारी हुनुभन्दा पनि स्वाभाविक हुनुपर्छ भन्ने लाग्छ । ‘त्याग, समर्पण र बलिदानकी प्रतिमूर्ति बनाइदिएर मानौं आमालाई गल्ती गर्ने, बाटो बिराउने कुनै छुट दिइएको छैन । अनेक सर्त, आशा र महानताका बिम्बहरूले आमालाई यति धेरै सिँगारिएको छ कि ती टाउको अलिकति पनि बंग्याएर छड्के हेर्ने हिम्मतसमेत गर्न सक्दैनन्,’ सुबिन भन्छन् । 

सुबिनको बुझाइमा आमा र छोराछोरीबीचको सम्बन्ध व्याख्या–विश्लेषणभन्दा धेरै परको हो । ‘बाटो सधैं सन्तानले मात्रै बिराउँदैनन्, अभिभावकले पनि बिराउन सक्छन् । तर, त्यो बाटो बिराइमा आत्मस्वीकृति हुनुपर्छ, सुधारका बाटो खोजिनुपर्छ र बकाइदा माफी पनि हुनुपर्छ,’ सुबिन भन्छन्, ‘सम्बन्धको सुन्दरता भनेकै यही हो । यसको महानतालाई जबर्जस्ती पुष्टि गरिराख्नु आवश्यक पनि छैन । यसको अर्थ खोज्न भौंतारिनु पनि जरुरी छैन ।’


टेलिभिजनमा छोरोको अन्तर्वार्ता प्रसारण हुँदा असाध्यै उत्सुक भएर हेर्छिन् मुना । प्रेसबाट भर्खर छापिएर एडभान्स्ड कपी आइपुग्नासाथ सुबिनका सबै किताब उतिबेलै पढिसक्छिन् । पत्रिकामा छापिएका हरेक अन्तर्वार्ता, लेख नछुटाई पढ्छिन्, एक–दुई वाक्यका टिप्पणी दिन्छिन् । सुरु–सुरुमा सुबिनले प्रेमकथाहरू लेखिरहँदा ‘युवा वर्गले मात्रै पढ्ने विषय नलेखेर सबैले पढ्ने खालको लेखिदिए हुन्थ्यो’ भन्ने मुनाको अपेक्षा हुन्थ्यो । सामाजिक विषयमा पनि लेख्न थालेपछि लेखक छोरोलाई आमाको अर्ती हुन्थ्यो– धर्मकर्मका, बूढाबूढीले पढ्ने खालका पनि लेख्नू ! 

An epitome of energy and courage

आमा मुनासँग सुबिनका सबै रङका स्मृतिहरू छन् । उनी आमासित आक्रोशित पनि भएका छन् । धेरै विषयमा झिँझो–झर्को मानेका छन् । प्रशस्तै अटेर गरेका छन् । ‘रुवाएको धेरै छु, रोएको पनि छु । मायाले कुटुक्क पनि भएको छु । धेरै पटक ग्लानिले छटपटिएको पनि छु,’ सुबिन भन्छन्, ‘धेरै स्मृतिसँग गल्ती–भाव पनि मिसिएर मानसपटलमा आइरहन्छन् ।’ उनलाई लाग्छ, मानिसहरू हरेक उमेरमा विभिन्न भावहरूको वशमा पर्छन् तर पछि सम्हालिन्छन् । 

आमासितको सम्बन्धमा यस्ता गल्तीहरू, झर्कोफर्को, रिस र घुर्कीहरू स्वाभाविक र प्रेमिल लाग्छन् उनलाई । खासमा भावविहीन सम्बन्धहरू त असाध्यै बनावटी भइदिन्छन् । सृष्टिको आदिदेखि नै आमा र सन्तानको सम्बन्ध भावुक छ, कोमल पनि । यसमा अनेकौं चित्त दुखाइ हुन सक्छन्, चित्त बुझाइ पनि हुन सक्छ । गल्ती र क्षमा, आशा र अपेक्षा, निराशा र उपेक्षा, घुर्क्याइ र याचना, समझदारी र आलोचना, सम्मान र विश्वास हुन्छन् । आमाप्रति सुबिनको दृष्टिकोण स्पष्ट छ, ‘आमा सधैं भावुकताको मात्रै बिम्ब हुनु पर्दैन र हुँदैनन् पनि, त्योभन्दा बढी ऊर्जा र हिम्मतको बिम्ब हुन् । आमा हरकोहीको सिकाइको पहिलो पाठशाला हुन्– साथी, गुरु र द्रष्टा हुन् ।’

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

म्यागेजिन

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully