वैशाखमा अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब १ करोडले बचतमा छ । अघिल्लो वर्षको १० महिनासम्म यो ६० करोड २ लाख डलरले घाटामा थियो ।
काठमाडौँ — कोभिड–१९ को जोखिमबाट बच्न सरकारले गरेको लकडाउनले शोधनान्तर स्थितिमा उल्लेख्य सुधार भएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत वैशाखमा मुलुकको शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोड रुपैयाँले घाटामा थियो ।
गत चैतको तुलनामा वैशाखको शोधनान्तर बचत करिब ८४ अर्ब रुपैयाँ बढी हो । गत चैतमा शोधनान्तर ३६ अर्ब ६१ करोड रुपैयाँले बचतमा थियो । ‘वैशाखमा अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब १ करोडले बचतमा छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘अघिल्लो वर्षको १० महिनासम्म यो ६० करोड २ लाख डलरले घाटामा थियो ।’
गत चैतको तुलनामा वैशाखमा आयात घटेको, रेमिट्यान्स आप्रवाह बढेको, सरकारको बाह्य ऋण बढेकोलगायत कारण शोधनान्तरमा सुधार देखिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । ‘सरकारको विदेशी ऋण करिब २७ अर्ब रुपैयाँले थपिएको छ,’ उनले भने, ‘चैतको तुलनामा वैशाखमा आयातमा संकुचन आउनुका साथै रेमिट्यान्स पनि बढेको छ ।’
लकडाउन अवधिमा निर्यातमा केही सुधार हुनु, विदेशमा अध्ययन तथा पर्यटन खर्च घट्नु, बिजुलीको आयात घटनुलगायत कारण शोधनान्तर स्थिति सुधारमा सहयोग पुगेको राष्ट्र बैंकले औंल्याएको छ । अघिल्लो आर्थिक वर्षका प्राय: सबै महिना ऋणात्मक रहेको शोधनान्तर चालु आवदेखि नै बचतमा थियो । लकडाउनअघि सामान्य बचतमा रहेको शोधनान्तर वैशाखमा एक खर्बभन्दा माथि पुगेको हो ।
गत वैशाखसम्म नेपालको विदेशी विनिमय सञ्चिति १२ खर्ब ३५ अर्ब २५ करोड रुपैयाँ छ । गत असारको तुलनामा यो करिब १९ प्रतिशत वृद्धि हो । ०७६ असारमा यो १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ थियो । वैशाखमा अमेरिकी डलरमा पनि यस्तो सञ्चिति बढेको छ । ०७६ असारमा ९ अर्ब ५० करोड रहेको सञ्चिति गत वैशाखमा १० अर्ब २५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
वैशाखको विदेशी विनिमय सञ्चितिले मुलुकका लागि १०.८ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात गर्न पर्याप्त हुने राष्ट्र बैंकले दाबी गरेको छ । यो राष्ट्र बैंकको चालु आवको लक्ष्यभन्दा करिब चार महिना बढी हो । चालु आवमा कम्तीमा ७ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात गर्न पर्याप्त हुने विदेशी मुद्रा सञ्चित गर्ने लक्ष्य राष्ट्र बैंकले तय गरेको थियो ।
बजारमा उपभोक्ताले सस्तोमा वस्तु किन्न नपाए पनि राष्ट्र बैंकको प्रतिवेदनले गत वैशाखमा मूल्य वृद्धिदर घटेको देखाएको छ । प्रतिवेदनका अनुसार गत वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ५.८३ प्रतिशत छ । गत आवको सोही अवधिको तुलनामा यो ०.५४ प्रतिशत बिन्दुले बढी हो । अघिल्लो आवको सोही महिनामा मूल्य वृद्धिदर ५.२९ प्रतिशत थियो ।
राष्ट्र बैंकले चालु आवमा मूल्यवृद्धि दर ६ प्रतिशतको सीमाभित्रै राख्ने लक्ष्य तय गरेको छ । तर गत साउनदेखि नै मूल्य वृद्धिदर ६ प्रतिशतभन्दा बढी छ । लकडाउनको अवधिमा तरकारीलगायत वस्तुको मूल्य घटेकाले समग्र मूल्य वृद्धिदरमा कमी आएको राष्ट्र बैंकका प्रवक्ता भट्टले बताए ।
वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ८.६६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ३.६७ प्रतिशत छ । ‘सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल, तरकारी, दाल तथा गेडागुडी र मसला उपसमूहको मूल्य वृद्धि उच्च छ,’ प्रतिवेदनमा उल्लेख छ ।
तरकारीको मूल्य घटेकाले गत वैशाखमा मूल्य वृद्धिदरमा कमी आएको बताए पनि वास्तविकता त्यसो नभएको जानकारहरू बताउँछन् ।
वैशाखमा मूल्य वृद्धिदर घट्नुका कारण उच्च आधार (हाई बेस) भएको उनीहरूको भनाइ छ । अघिल्लो वर्षको वैशाखदेखि मूल्य वृद्धिदर उच्च हुन थालेको हो । त्यसअघि यस्तो वृद्धिदर कम थियो । राष्ट्र बैंकले गत वर्षका महिनाहरूको तुलनामा यो वर्षका सोही महिनाको मूल्यवृद्धि गणना गर्ने हो । यसकारण गत वर्ष ती महिनाहरूमा मूल्यवृद्धि उच्च भएकाले त्यसको तुलनामा यो वर्ष कम देखिएको विज्ञहरू बताउँछन् ।
गत वैशाखमा नेपाल भित्रिने रेमिट्यान्स ६.१ प्रतिशतले घटेको छ । गत वर्षको वैशाखको तुलनामा चालु आवको सोही अवधिमा रेमिट्यान्स घटे पनि गत चैतको तुलनामा भने बढेको छ । गत वैशाखमा ६ खर्ब ८० अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्समार्फत मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिमा यो साढे १९ प्रतिशतले बढेको थियो ।
केही वर्षयता रेमिट्यान्स उच्च अंकले घटेको यो पहिलो घटना हो । गत फागुनमा १.८ प्रतिशतले बढेको रेमिट्यान्स चैतमा ४ प्रतिशतले घटेको थियो । उच्च दरले रेमिट्यान्स घटे पनि जेठमा थप सुधार आउने राष्ट बैंकको प्रक्षेपण छ । प्रक्षेपणअनुसार जेठमा ६२ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिने छ । ०७५ जेठमा ७३.७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
नेपालमा चैत ११ देखि लकडाउन छ । लकडाउनको अवधि चैत र वैशाख गरी दुई महिनामा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । गत आवको चैत र वैशाखको तुलनामा यो आवको सोही अवधिमा ४७ प्रतिशतले रेमिट्यान्स घटेको छ ।
चालु आवमा करिब १० प्रतिशतले रेमिट्यान्स घट्ने प्रक्षेपण राष्ट्र बैंकका उच्च अधिकारीहरूले बताउँदै आएका थिए । गत आवको तुलनामा यो वर्ष रेमिट्यान्स करिब १ खर्बले घट्ने उनीहरूको अनुमान छ । लकडाउनका कारण चैतमा आर्थिक गतिविधि हुन नपाए पनि औपचारिक प्रणालीबाट भित्रिने रेमिट्यान्स बढेको जानकारहरू बताउँछन् ।
नेपाल भित्रिने रेमिट्यान्स आप्रवाहमा गत साउनदेखि नै उतारचढाव देखिँदै आएको छ । सोही क्रममा गत माघमा रेमिट्यान्स वृद्धिदर ०.५ प्रतिशतले ऋणात्मक छ । चालु आवका १० महिनामध्ये ६ वटामा रेमिट्यान्स घटेको छ भने बाँकी ४ महिनामा सामान्य अंकले बढेको छ ।
यसअघि आव ०७४/७५ कात्तिकमा रेमिट्यान्स वृद्धिदर १.४ प्रतिशत ऋणात्मक थियो । गत वर्ष भने सुरुका महिनामा रेमिट्यान्स वृद्धिदर ३७ प्रतिशतसम्म पुगेको थियो ।
चालु आवको १० महिनामा १७ अर्ब ४२ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) नेपाल भित्रियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो करिब १ सय ३२ प्रतिशत बढी हो । ०७५ वैशाखमा ९ अर्ब ४७ करोड रुपैयाँ विदेशी लगानी आएको थियो । कोरोनाको कारण चालु वर्षको बाँकी महिना एफडीआई पनि घट्ने प्रक्षेपण गरिएका थिए । तर चालु आवको सुरुदेखि नै विदेशी लगानी उच्च दरले बढी छ । गत वर्षका सबै महिना यस्तो लगानी उच्च दरले घटेको थियो ।
