औषधि उद्योगका कच्चा पदार्थ सीमामा रोकिए

उद्योगले रकम तिरिसकेका रसायन भारतीय बजार, ट्रान्सपोर्ट र सीमा क्षेत्रबाट पास भएनन्
अमृता अनमोल

बुटवल — महामारीका बेला सबैभन्दा अत्यावश्यक वस्तु हो, औषधि । तर लकडाउनले यही औषधि उत्पादनको कामसमेत रोकिएको छ । केहीले आंशिक रूपमा उद्योग चलाए पनि अधिकांश उद्योग ठप्प छन् । औषधि बनाउन कच्चा पदार्थ र रसायन चाहिन्छ । युरोप, चीन र छिमेकी देश भारतबाट ल्याउनुपर्छ । भारत हुँदै आउने औषधिका कच्चा पदार्थ र रसायन अहिले अड्किएका छन् ।

औषधि उद्योगका कच्चा पदार्थ सीमामा रोकिए

रकम बुझाइसकेका सामान केही ट्रान्सपोर्टमा र केही सीमा क्षेत्रमा रोकिएको उद्योगीले बताए । कच्चा पदार्थ र रसायनबिना औषधि उत्पादन गर्न नसकिएको उद्योगीको गुनासो छ । एसियन फर्मास्युटिकल्स प्रालिले झन्डै डेढ महिनाअघि २० करोडको कच्चा पदार्थ ल्याउन रकम बुझाएको थियो । चिनियाँ र भारतीय बजारबाट कच्चा पदार्थ आउँदै थियो । लकडाउन सुरु भयो । अहिले उक्त सामान कहाँ छ भन्नेबारे पनि थाहा नभएको प्रबन्ध निर्देशक हुतानन्द खनालले बताए ।

‘उद्योगमा रहेको स्टक सकिन लागेको छ । रकम तिरेर झिकाएको सामान कहिले र कसरी आउने हो, टुंगो छैन,’ उनले भने, ‘यस्तोमा उद्योग कसरी चलाउने भन्ने समस्या छ ।’ उनको उद्योगमा २ सय २७ मजदुर छन् । यसअघि दुई सिफ्टमा चल्ने उद्योग अहिले एक सिफ्ट चलेको छ । मजदुरहरू ५० प्रतिशत कटौती गरिएको छ । आधालाई एक दिन र आधालाई अर्को दिन बोलाइएको छ । ‘बिग्रिहाल्ने खालका काम मात्रै गरेका छौं,’ उनले भने, ‘ठूलो र महत्त्वपूर्ण उत्पादन गरेका छैनौं ।’

लकडाउनले मुलुकका धेरै उद्योग तथा कलकारखाना ठप्प छन् । अत्यावश्यक वस्तुका रूपमा औषधि उद्योग सञ्चालन गर्न भने सरकारले आग्रह गरेको छ । तर भारतीय बजार र सीमा क्षेत्रका ट्रान्सपोर्टमा अड्किएका कच्चा पदार्थ र रसायन ल्याउन सहजीकरण गरेको छैन । यसले कसरी कच्चा पदार्थ ल्याउने र उद्योग सञ्चालन गर्ने भन्नेमा उद्योगी अन्योलमा छन् ।

औषधि उत्पादक संघका अनुसार नेपालमा उत्पादन हुने औषधिका लागि ८० प्रतिशत कच्चा पदार्थ भारतबाट आउँछ । २० प्रतिशत चीन तथा युरोपबाट आयात हुन्छ । तर सबै आउने बाटो भारतीय बजार हो । औषधि अरू खाद्य पदार्थजस्तो एक ठाउँबाट ट्रक भरी ल्याउन मिल्दैन । १०/१५ किलो कच्चा पदार्थ, ५/१० किलो रसायनका दरले धेरै ठाउँबाट ल्याउनुपर्छ । त्यस्तो झन्झट बेहोरेर भारतीय ट्रान्सपोर्टसमेत सामान उपलब्ध गराउन सहमत नभएको रूपन्देहीको सिद्धार्थ फर्मास्युटिकल्स प्रालिका प्रबन्धक गणेश पाठकले बताए ।

‘सरकारले उद्योग सञ्चालन गर भनेर मात्र पुग्दैन,’ उनले भने, ‘कच्चा पदार्थबिना उद्योग चल्दैनन् ।’ फरकफरक बजारबाट थोरै थोरै कच्चा पदार्थ उद्योगीहरूले ल्याउन सम्भव छैन । यस्तोमा सरकारको भूमिका सहजीकरण गर्ने खालको हुनुपर्ने उनको भनाइ छ । ‘मजदुरलाई उद्योगमा लैजान ल्याउन, सामाजिक दूरी राखेर काम गर्न र उत्पादित औषधि बजारसम्म पुर्‍याउन पनि समस्या छ,’ उनले भने ।

रूपन्देहीमा १४ औषधि उद्योग छन् । देशभरमा ६२ एलोपेथिकसहित ८० औषधि उद्योग सञ्चालनमा छन् । यहाँ प्रयोग हुने ४८ प्रतिशत तयारी औषधि भारतबाट आउँछ । ५२ प्रतिशत स्वदेशी कम्पनीले नै उत्पादन गर्छन् । लकडाउनका कारण उत्पादित औषधिको पनि माग छैन । सबै उत्पादन मौज्दातमा छ । औषधि उत्पादक संघका अनुसार करिब दुई महिनालाई पुग्ने औषधि मौज्दात छ । धेरै औषधि उत्पादन गर्दै र मौज्दात गर्दै गर्दा प्रयोग मिति सकिने डर पनि उद्योगीलाई छ । यसले पनि उद्योग खोल्न हच्किएका हुन् । ‘मौज्दात रहेका सबै कच्चा पदार्थ सकेर औषधि उत्पादन गर्न पनि जोखिम छ,’ एसियन फर्मास्युटिकल्सकी प्रबन्धक सविता खनालले भनिन्, ‘प्रयोग मिति सकिए हामी डुब्छौं । यसले भएका सबै कच्चा पदार्थ सकेर औषधि उत्पादन गर्न सकिएको छैन ।’

लकडाउनका कारण आयुर्वेदतर्फका औषधिको माग शून्य जस्तै छ । तसर्थ सबैजसो उद्योग बन्द छन् । एलोपेथिकतर्फका उद्योगको अवस्था पनि उस्तै भएको छ । एलोपेथिक एवं आयुर्वेद दुवै औषधि उत्पादक ग्रेस फर्मास्युटिकल्सका सञ्चालक तथा आयुर्वेद औषधि उत्पादक संघका सल्लाहकार सुरज भट्टराईले सरकारले भारतीय बजारबाट रसायन र कच्चा पदार्थ नल्याइदिएसम्म औषधि उत्पादन गर्न नसकिने बताए । ‘करोडौं रकम पर्ने भएकाले दुई चार उद्योगीले ट्रकभरि औषधिका कच्चा पदार्थ र रसायन ल्याउन सकिँदैन । यस्तो बेलामा थोरै सामान ल्याउन भारतीय ट्रान्सपोर्टले मान्दैनन्,’ उनले भने, ‘सरकार आफैंले धेरै सामान ल्याएर देशभरका उद्योगीलाई उपलब्ध गराए मात्र औषधि उद्योग चल्ने अवस्था छ ।’ व्यवसायीले रकम तिरिसकेका कच्चा पदार्थ भारतीय बजार, सीमा क्षेत्र र ट्रान्सपोर्टबाट ल्याउन पनि सरकारले सघाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : वैशाख १२, २०७७ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?