३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

रेमिट्यान्स १४ प्रतिशत घट्छ : विश्व बैंक

राष्ट्र बैंकले पनि चालु आवमा रेमिट्यान्स ८ खर्ब ननाघ्ने प्रक्षेपण गरिसकेको छ

काठमाडौँ — विश्वभर रेमिट्यान्सको प्रवाहमा २० प्रतिशत कमी आउँदा नेपाल भित्रिने रेमिट्यान्स भने १४ प्रतिशत घट्न सक्ने विश्व बैंकको आकलन छ । कोभिड–१९ को महामारीका कारण सिर्जित लकडाउन र व्यवसाय बन्दको असरस्वरूप यो वर्ष विश्वभरका रेमिट्यान्स प्रवाहमा कमी आउने र यसले रेमिट्यान्समा निर्भर परिवारलाई प्रत्यक्ष प्रभाव पार्ने विश्व बैंकको विश्लेषण छ ।

रेमिट्यान्स १४ प्रतिशत घट्छ : विश्व बैंक

गत आर्थिक वर्ष नेपालमा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । विश्व बैंकले भनेजस्तै रेमिट्यान्समा १४ प्रतिशत कमी आए यो वर्ष रेमिट्यान्स प्रवाह साढे ७ अर्बमा सीमित हुनेछ । खाडीमा कार्यरत धेरै नेपालीको रोजगारी गुमेको र लकडाउनका कारण विदेशमा पनि व्यापार व्यवसाय ठप्प हुँदा कामदारको आयमा कमी आउने भन्दै राष्ट्र बैंकले पनि यो वर्ष रेमिट्यान्स ८ खर्ब ननाघ्ने प्रक्षेपण गरिसकेको छ । गत वर्षको तथ्यांक हेर्दा कूल गार्हस्थ उत्पादनमा जीडीपीको अनुपात २५.४ प्रतिशत छ ।

भारतमा रेमिट्यान्स प्रवाह २३ प्रतिशत कमी आउने विश्व बैंकको अनुमान छ । गत वर्ष ८३ अर्ब डलर रेमिट्यान्स भित्र्याएको भारतमा यो वर्ष ६४ अर्ब मात्रै रेमिट्यान्स प्रवाह हुने आकलन बैंकले गरेको हो । पाकिस्तानले पनि २३ र बंगलादेशले २२ र श्रीलंकाले २२ प्रतिशत रेमिट्यान्सले गुमाउने विश्व बैंकको विश्लेषण छ ।

कोभिड–१९ का कारण सिर्जित समस्याका कारण आप्रवासी कामदारको रोजगारी र आय जोखिममा रहेको विश्व बैंकले जनाएको छ । निम्न र मध्यम आय भएका देशले औसतमा १९ दशमलव ७ प्रतिशतका दरले रेमिट्यास गुमाउन सक्ने विश्व बैंकको विश्लेषण छ ।

तल्लो र मध्यम आय भएका देशमा गरिबी निवारण, सुदृढ पोषण, शिक्षामा हुने खर्च र बाल श्रम न्यूनीकरणका लागि रेमिट्यान्सको भूमिका भएको विभन्न अध्ययनले देखाएको छ । रेमिट्यान्समा हुने कमीले यसमा आश्रित परिवारको यी क्षेत्रमा खर्च गर्न सक्ने क्षमता घट्ने र जीविकोपार्जनमा समेत समस्या आउन सक्ने विश्व बैंकको दाबी छ ।

‘विकासोन्मुख मुलुकका लागि रेमिट्यान्स आयको महत्त्वपूर्ण स्रोत हो । कोभिड–१९ का कारण सिर्जित जारी आर्थिक संकटले घरमा पैसा पठाउन समस्या सिर्जना गरेको छ,’ विश्व बैंक समूहका अध्यक्ष डेभिड मल्पासलाई उद्धृत गर्दै बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘रेमिट्यान्सका कारण परिवारलाई खाद्यान्न किन्न, स्वास्थ्य सेवा र आधारभूत आवश्यकता पूरा गर्न सहयोग मिल्छ ।’

रेमिट्यास प्रवाहको नियमनका लागि विश्व बैंकले आफ्ना सदस्य राष्ट्रलाई सहायता गरिरहेको विज्ञप्तिमा जनाइएको छ । बैंकले जी ट्वान्टी राष्ट्रसहितका देशसँग रेमिट्यान्स प्रवाहको खर्च घटाउन र गरिबहरूको वित्तीय समावेशिता सुधारका लागि काम गरिरहेको पनि उल्लेख छ ।

युरोप र मध्य एसियामा २७.५, अफ्रिकामा २३ र दक्षिण एसियामा २२.१ प्रतिशत रेमिट्यान्स घट्ने बैंकको आकलन छ । मध्यपूर्व र क्यारिबियन राष्ट्रमा १९.३ प्रतिशतका साथै पूर्वी एसिया र महाद्वीपमा १३ प्रतिशत घट्ने विश्व बैंकले जनाएको छ । कम र मध्यम आय भएका मुलुकमा रेमिट्यान्स प्रवाह घट्ने मात्रै नभई प्रत्यक्ष वैदेशिक लगानीमा आउने कमीका कारण बाह्य वित्तमा समस्या पर्ने विश्व बैंकले जनाएको छ । यस्ता राष्ट्रमा प्रत्यक्ष वैदेशिक लगानी ३५ प्रतिशतसम्म घट्न सक्ने अनुमान गर्दै बैंकले रेमिट्यान्स प्रवाह नै उनीहरूको बाह्य आम्दानीको प्रमुख स्रोत रहने आकलन गरेको छ ।

सन् २०२१ मा कम र मध्यम आय भएका मुलुकमा रेमिट्यान्स प्रवाह ५.६ प्रतिशत बढेर ४ खर्ब ७० अर्ब पुग्ने विश्व बैंकको अनुमान छ । संकटका अन्य अवस्थामा कामदारले घरमा बढी रकम पठाउने गर्दा एक देशबाट अर्को देशमा रकमको कारोबार बढी हुने गरे पनि अहिले सबै देश प्रभावित हुँदा रेमिट्यान्स प्रवाहमा कमी आउने विश्व बैंकको विश्लेषण छ ।

प्रकाशित : वैशाख १२, २०७७ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?