१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

निर्माण सामग्री नआउँदा रोकिन थाले काम

गौशाला–चाबहिल सडक कालोपत्रको काम रोकियो
स्थानीय तहसँग सहकार्य गरेर निर्माण सामग्री ल्याइँदै
विमल खतिवडा

काठमाडौँ — निर्माण सामग्री नआउँदा गौशाला–चाबहिल सडक कालोपत्रको काम रोकिएको छ । लकडाउनका बेला एक हप्ताभित्र कालोपत्र सक्ने गरी तयारी थालिए काभ्रेबाट ल्याउने भनिएको निर्माण सामग्री नजुट्दा समस्या भएको हो ।

निर्माण सामग्री नआउँदा रोकिन थाले काम

निर्माण सामग्री अभावकै कारण उपत्यकाका प्रायः सडकका काम प्रभावित बनेको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ । सबै तयारी पूरा गरेर निर्माण सामग्री लिन काभ्रे पठाइए पनि त्यहाँका स्थानीयले अवरोध गरेको सडक डिभिजन प्रमुख कुवेर नेपालीले बताए ।

‘लकडाउनले गर्दा सडक खाली थियो, त्यही भएर धेरैतिर काम थालियो,’ उनले भने, ‘धेरै काम सकिने पनि थियो । काभ्रेमा निर्माण सामग्री तयारी अवस्थामा छ । तर ल्याउन नदिएपछि कसको केला लाग्यो ?’ गाउँपालिकालाई पत्र लेखेर पठाइएको र पालिकाले वडा कार्यालयलाई सहजीकरण गर्न भन्दै पत्र लेखिदिएको उनले बताए । गृह मन्त्रालयले जिल्ला प्रशासन काभ्रेलाई पनि सहजीकरण गरिदिन भन्दै पत्र लेखेर पठाइसकेको छ ।

‘सबै प्रक्रिया पूरा गरिएको छ,’ नेपालीले भने, ‘काभ्रेको भुम्लु र रोशी गाउँपालिकाबाट निर्माण सामग्री आउनुपर्ने भए पनि ल्याउन सकिएको छैन ।’ सामान नभएपछि उपत्यकामा विकास निर्माणका काम प्रभावित बन्न पुगेका छन् । मौज्दात सामग्रीको भरमा काम थालिएको उनको भनाइ छ ।

गोपीकृष्ण–चाबहिल र रातोपुलबाट बागबजारतर्फ जाने सडक ओभर–ले गर्न बाँकी थियो । अरू एप्रोच सडक बनाउने ठेक्का थिए, तिनको पनि काम हुन सकेको छैन । ‘दुई दिन मात्र ओभर–ले गर्न पाइयो, त्यसपछि सबै काम रोकिएका छन्,’ नेपालीले भने, ‘न्युरोड गेटमा काम गर्दागर्दै निर्माण सामग्री सकिएपछि त्यसलाई बीचमै रोक्नुपरेको छ ।’ गिटी, बालुवा नहुँदा मुख्य समस्या भएको हो । केही परिमाणमा मौज्दात रहेको ठाउँमा काम भइरहे पनि धेरैतिर रोकिएको उनको भनाइ छ ।

पुतलीसडकमा अहिले ह्युम पाइप लगाएर ढल व्यवस्थापन गर्ने काम सुरु भएको छ । यो ठाउँ बर्खामा सधैं डुबानमा पर्छ । ‘त्यसैले ढल र सडक एकैचोटि बनाउन लागिएको हो,’ नेपालीले भने, ‘ह्युम पाइप राखेर माथिबाट कालोपत्र गर्नुपर्छ । अहिले ह्युम पाइप हाल्ने काम मात्र भएको छ ।’

निर्माण सामग्री ल्याउन भनेर १५ वटा टिपरको पास लिइएको छ । यी सबै टिपर एकै पटक जाँदैनन् । ‘अरू नयाँ मान्छे पनि जाने पनि होइनन्,’ उनले भने, ‘तयारी अवस्थामा रहेको सामान बोकेर ल्याउने, जुन काम गर्न स्वास्थ्य सावधानी पनि अपनाइएको छ, तर पनि सामान ल्याउन दिइएन ।’

निर्माणस्थलमै भएका कामदार काममा खटिने गरेको नेपालीले बताए । जति पनि काम भएका छन्, सबैतिर स्वास्थ्य सावधानी अपनाइएको उनको भनाइ छ । ‘यस्तो कठिन समयमा काम गर्नु छ, समयमै काम गरिएन भने बर्खा सुरु हुन्छ, जसले गर्दा समस्या हुन सक्छ,’ उनले भने । निर्माण सामग्री ल्याउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अझै पहल भइरहेको उनले जानकारी दिए ।

गौशाला–चाबहिल सडकमा खाल्डाखुल्डी धेरै छन् । बर्खाका बेला पानी जमेर यात्रुले आवतजावतमा सास्ती खेप्नुपरेको छ । पशुपतिनाथ मन्दिर यहीँ नजिकै रहेकाले सडक कालोपत्र नहुँदा भक्तजनले हिलो र धूलोको सामना गरिरहनुपरेको छ ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पनि निर्माण सामग्री अभावमा उपत्यकाका सबैजसो निर्माणका काम प्रभावित बनेको स्विकारे । ‘जहाँजहाँ मौज्दात थियो, त्यहाँ पनि सकिएको छ,’ उनले भने । काभ्रे प्रशासनसँग समन्वय गरेर ल्याउन निर्माण सामग्री ल्याउनेबारे पहल जारी रहेको उनको भनाइ छ ।

यता भुम्लु गाउँपालिकाका प्रमुख गुमानध्वज कुँवरले स्थानीयको विरोधले गर्दा निर्माण सामग्री काठमाडौं पठाउन नसकिएको प्रस्ट्याए । ‘सल्लाह नै नगरी एकै चोटि टिपर पठाउँदा राम्रो भएन,’ उनले भने, ‘दिउँसै पास देखाएर टिपर आएपछि स्थानीयले विरोध गरेका हुन्, यसबारे हामीले स्थानीय वडा र प्रहरीसँग समन्वय गर्न भनेका थियौं, यसमा स्थानीयको विरोध छ ।’

स्थानीयले विरोध गर्दै वडा कार्यालयसमेत घेराउ गरेका थिए । गाउँपालिकाको १० नम्बर वडास्थित दोलालघाटबाट निर्माण सामग्री ल्याउन लागिएको उनले जानकारी दिए ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पनि निर्माण सामग्री अभावमा उपत्यकाका सबैजसो निर्माणका काम प्रभावित बनेको स्विकारे । ‘जहाँजहाँ मौज्दात थियो, त्यहाँ पनि सकिएको छ,’ उनले भने । काभ्रे प्रशासनसँग समन्वय गरेर ल्याउन निर्माण सामग्री ल्याउनेबारे पहल जारी रहेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख १२, २०७७ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?