लुभुका केही कपडा उद्योग निरन्तर

वैशाख ५, २०७७

प्रशान्त माली

काठमाडौँ — ललितपुरको लुभुका करिब एक दर्जन कपडा उद्योगले सुरक्षाका मापदण्ड अपनाएर कपडा उत्पादन गरिरहेका छन् । कामदारलाई मास्क दिएर, शारीरिक दूरी कायम राखेर र उद्योगभित्र प्रवेश गर्दा साबुनपानीले हातगोडा धुनेलगायत व्यवस्थासहित उद्योग सञ्चालनमा ल्याइएको उद्योग सञ्चालकहरू बताउँछन् ।

अपरिचित व्यक्तिलाई उद्योग प्रवेशमा रोकसमेत लगाइएको छ । सरसफाइमा लागि पनि छुट्टै जनशक्ति तयार गरेर काम अघि बढाइएको छ । एउटा उद्योगमा बढीमा पाँच जना कामदार खटिएका छन् । 

बारा कोहलपुरका २२ वर्षीय रुपेश चौधरी, रौतहटका मोहन चौधरी, अनिश अधिकारीलगायत मिलेर एउटा उद्योगबाट प्रतिदिन डेढ सय मिटर कपडा उत्पादन गरिरहेका छन् । कोहलपुरका चौधरीका श्रीमान्/श्रीमती नै काममा खटिएका छन् । उनका दुई छोरा छन् । रुपेश भन्छन्, ‘अहिले आफ्नो घर जान सकिँदैन । कोठामा त्यसै बस्नुभन्दा सुरक्षित भएर काम गरिरहेका छौं ।’ उद्योगमा धागो सकिने हो कि भन्नेमा भने उनलाई चिन्ता छ । रौटहटको भवानीपुरकी २१ वर्षीया बितुकुमारी चौधरी पनि केआर कपडा उद्योगमा काम गरिरहेकी छन् । उनका श्रीमान् पनि उद्योगमा कपडा बुन्ने काम गर्छन् । उनी भन्छिन्, ‘उद्योगबाट कोठा र कोठाबाट उद्योगबाहेक कहीँ गएका छैनौं ।’ 

बस्तीमा लकडाउन गरेर एक साता अघिदेखि उद्योग चलाइरहेको ललितपुर उद्योग वाणिज्य संघ क्षेत्र नम्बर २ लुभु शाखा प्रमुख केशवकृष्ण श्रेष्ठले जानकारी दिए । ‘पहिला बिहान ६ देखि बेलुका ६ बजेसम्म उद्योग सञ्चालन हुन्थे । अहिले बिहान १० देखि ५ बजेसम्म मात्र चलाएका छौं,’ उनले भने, ‘कच्चापदार्थ स्टकमा रहेसम्म चलाउने योजना छ ।’

ललितपुरको पूर्वी भेगमा अवस्थित लुभु कपडाका लागि परिचित छ । यहाँ एक सयभन्दा बढी कपडा उद्योग छन् । तिनमा एक हजारभन्दा बढी कालिगडले रोजगारी पाएका छन् । सुती कपडा, पस्मिना सल, ढाका, ऊनी, बुटे सल, मफलर, हाकुपटासी, कोरा र धर्के कपडा, तन्ना तथा साडीलगायत विभिन्न कपडा यहाँ उत्पादन हुन्छन् । यहाँ उत्पादित कपडा अमेरिका, फ्रान्स, जर्मनीलगायत देशमा समेत निर्यात हुँदै आएका छन् । 

लकडाउन

प्रशान्त

Link copied successfully