काठमाडौँ — सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग चलाउने निर्णय गरे पनि साना र मझौलाबाहेक ठूला उद्योग सञ्चालन हुन सकेका छैनन् । कच्चापदार्थको अभाव, सवारी सञ्चालनमा अवरोध, श्रमिक समस्यालगायत कारण केही ठूला उद्योगमा काम हुन नसकेको हो ।
‘सरकारले सम्बन्धित व्यावसायिक संगठनबाट तथ्यांक लिने गरेको छ । तथ्यांक हेर्दा साना र घरेलु उद्योग प्रदेशमा सञ्चालित छन्,’ उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले भने, ‘तर ठूला उद्योग चलेका छैनन् ।’
विदेशी लगानीसहित विभागमा ८ हजार २ सय १६ उद्योग (साना, मझौला र ठूला) दर्ता भएका छन् । साना र घरेलु उद्योग घरेलु र प्रदेशमा पनि दर्ता हुन्छन् । प्रदेशहरूमा दाल, चामल, तेललगायतका साना र मझौला उद्योग सञ्चालनमा समस्या नभएको सिटौलाले बताए । हुन त खाद्यान्नका केही ठूला उद्योग पनि सञ्चालनमा छन् । तर क्षमताअनुसार नभएको उनको भनाइ छ ।
‘विराटनगरस्थित केही चाउचाउ र तेल उद्योग चलेका छन् । स्टिल तथा सिमेन्ट, चिनी उद्योग बन्द छन्,’ उनले भने, ‘औषधि उद्योग पनि सञ्चालन भएका छन् ।’ प्रायः औषधि उद्योग सञ्चालनमा रहेको र उनीहरूले करिब तीन महिनालाई पुग्ने कच्चापदार्थ पनि रहेको बताएका छन् ।
सरकारले अत्यावश्यक उद्योग सञ्चालन गर्नेका लागि उद्योग परिसरमै श्रमिकका लागि आवासको व्यवस्था, खानाको व्यवस्था मिलाउन भनेको छ । श्रमिकहरू काम गर्ने क्रममा एक मिटरको दूरी हुनुपर्छ । तर सबै व्यवस्था गर्न कठिनाइ भएको उद्योगीहरूको भनाइ छ । ‘परिस्थिति सहज छैन । औषधि उत्पादनका लागि टिम नै चाहिन्छ ।
सबै डिर्पाटमेन्ट चल्नुपर्छ । सुरक्षाका सबै उपकरण किन्न सक्ने अवस्था पनि भएन,’ उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले भने, ‘अहिलेको अवस्थामा औषधि उद्योग सञ्चालन गर्न सम्भव छैन ।’
देउराली जनता फर्मास्युटिकल्स प्रालिका सञ्चालकसमेत रहेका शर्माले सबै व्यवस्थित गर्न हम्मेहम्मे परेको बताए । तराईका केही उद्योग सञ्चालन भए पनि उपत्यकामा गाह्रो भएको उनको भनाइ छ । ‘कर्मचारी विभिन्न ठाउँमा बस्छन् । सवारीसाधन छैनन् । त्यसैले कर्मचारीलाई एकै ठाउँमा राखेर सञ्चालन गर्न सकिएन,’ उनले भने, ‘मौज्दात औषधिबाट काम चलाइराखेका छौं ।’
कर्मचारीसँगै कच्चापदार्थ आयातमा पनि समस्या भएको उद्योगीहरू बताउँछन् । औषधिका लागि केही कच्चापदार्थ तेस्रो मुलुकबाट ल्याउनुपर्छ । केही कन्टेनर कोलकातामा रोकिएको शर्माले जानकारी दिए । यही बेला बैंक त्यति खेलेका छैनन् । ‘सरकारले प्रयास गरिरहेको छ, तर यतिले मात्रै उद्योग चल्ने सम्भावना छैन,’ उनले भने ।
आफ्नै कच्चापदार्थ भएका उद्योग करिब २०/२५ प्रतिशत क्षमतामा मात्रै सञ्चालन भइरहेको उनको दाबी छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले पनि श्रमिक समस्याका कारण खाद्यान्न उद्योग करिब ४० प्रतिशत मात्रै सञ्चालन भएको स्विकारे । औषधि उद्योगहरू करिब ७० प्रतिशत सञ्चालन भइरहेको उनले बताए । ‘तीन सिफ्ट चल्ने उद्योग एक/दुई सिफ्ट मात्रै सञ्चालन भइरहेका छन्,’ उनले भने ।
मन्त्रालयका अनुसार चामल, दाल र आटा उद्योग ५१ र खाने तेल उद्योग ४१ प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन् । दुग्ध उद्योग ५०, खानेपानी जार, प्लास्टिकका बोतल र ट्यांकरमा पानी ढुवानी गर्ने उद्योग ९० र दाना उद्योगले क्षमताको ३३ प्रतिशत मात्र उत्पादन गरिरहेका छन् । लकडाउनयता ६९ करोड १ लाख रुपैयाँको औषधि र १२ करोड ७७ लाख रुपैयाँको औषधिका लागि कच्चापदार्थ आयात भएको मन्त्रालयले जनाएको छ ।
‘कच्चापदार्थ आयातमा बाधा छैन । चालकले पनि सुरक्षाका मापदण्ड अपनाएर सामान आयात गरिरहेका छन्,’ राज्यमन्त्री दुगडले भने, ‘चामल, तेल, दाललगायत उद्योग सञ्चालन गरिदिन निजी क्षेत्रलाई आह्वान गरेका छौं ।’
बारा र पर्सा औद्योगिक करिडोरमा करिब एक हजार उद्योग रहेको नेपाल चामल, तेल, दाल उद्योग संघको तथ्यांक छ । जसमध्ये ३ सय ५० वटा खाद्यान्नका उद्योग हुन् । तीमध्ये करिब ४० प्रतिशत मात्रै चलिरहेको संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए ।
‘उद्योग बन्द हुनुको कारण कच्चापदार्थ आयात नहुनु हो । भन्सारबाट जुन रफ्तारमा आउनुपर्थ्यो, त्यो भएन,’ उनले भने, ‘५ सय ट्रक छुट्नेमा करिब २५ प्रतिशत मात्रै भित्रिएका छन् ।’
कर्मचारी पनि काम गर्न डराएको उनको भनाइ छ । खाद्य उद्योगमा करिब २० प्रतिशत कर्मचारीले मात्रै काम गरिरहेको उनले बताए । उद्योग परिसंघका अध्यक्ष सतीश मोरले पनि त्रासका कारण कामदार उद्योगमा आउन नचाहेको दाबी गरे । ‘औषधि, पोल्ट्रीलगायत उद्योगमा पनि समस्या उस्तै छ,’ उनले भने । आपूर्तिको अवस्थालाई ध्यान दिए पनि कोभिड–१९ का कारण राजस्व कम उठ्ने र रेमिट्यान्स पनि धेरै घट्ने उनको भनाइ छ ।
उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पनि अर्थतन्त्र शिथिल अवस्थामा पुगेको बताइन् । नाफाभन्दा व्यवसायलाई कसरी निरन्तरता दिने भन्नेतर्फ सोच्नुपर्ने उनको भनाइ छ । ‘कामदारलाई हिँडडुल गर्न समस्या भएको छ । यस्तो अवस्थामा पनि अत्यावश्यक उद्योग चलिरहेका छन्,’ उनले भनिन्, ‘निजी क्षेत्रलाई ब्याज तिर्न समस्या छ । यस्तो अवस्थामा सरकारले पनि राहत प्याकेज दिन जरुरी छ ।’
चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि उद्योग सञ्चालन र श्रमिक ढुवानीका लागि सरकारले व्यवस्था गरिदिनुपर्ने बताए । ‘अहिले खाद्यान्नमा कुनै समस्या देखिएको छैन । ढुवानी सहज भइरहेको छ,’ उनले भने, ‘तर अवस्था यस्तै रहे वैशाखपछि केही गाह्रो हुन्छ । त्यसका लागि सरकारले गृहकार्य गर्नुपर्छ ।’
आपूर्ति व्यवस्था सहज बनाउन स्थानीय सरकारसँग पहल गरिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताए । औषधि उद्योगका लागि चाहिने प्याकेजिङ सामग्री बोकेका सवारी पनि चल्न दिइने उनको भनाइ छ । अत्यावश्यकबाहेकका उद्योग सञ्चालन पनि केही खुकुलो बनाइने उनले बताए । ‘सहजीकरणका लागि स्थानीय तहले पास नखोज्ने, उद्योगका सवारी सञ्चालन गर्न दिने विषयमा छलफल गरिरहेका छौं,’ दाहालले भने ।
विराटनगर– मजदुर र कच्चापदार्थको अभावले सुनसरी मोरङ औद्योगिक करिडोरका अत्यावश्यक उद्योग सञ्चालनमा समस्या भएको उद्योगीहरूले बताएका छन् । सरकारले लकडाउन अवधिको डेढी पारिश्रमिक दिने बताए पनि मजदुर नपाएको उनीहरूको भनाइ छ ।
करिडोरमा खाद्य, औषधि, पानी, तेल, चाउचाउलगायत गरी झन्डै डेढ सय हाराहारी उद्योग छन् । तीमध्ये प्रायः मजदुर र कच्चापदार्थ अभावमा बन्द छन् । ‘चलेका उद्योगले पनि क्षमताअनुसार तयारी वस्तु उत्पादन गर्न सकेका छैनन्,’ उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भने ।
सञ्चालनमा भएका उद्योगले पनि मुस्किलले क्षमताको ४० प्रतिशत मात्र उत्पादन गर्दै आएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले बताए । सामान्य अवस्थामा दैनिक १५–१६ टन चामल उत्पादन गर्दै आएको चन्द्रशिव राइस मिलले अहिले मजदुर समस्याले दैनिक सरदर सात–आठ टन मात्र चामल उत्पादन र प्याकिङ गर्दै आएको छ ।
सामान्य अवस्थाको भन्दा डेढी पारिश्रमिक दिँदा पनि मजदुर काममा नआउँदा मागअनुसार चामल उत्पादन गर्न नसकिएको मिल सञ्चालक नरेश राठीको भनाइ छ । सामान्य अवस्थामा उनको मिलमा दैनिक ४५ जना मजदुर काम गर्थे । अहिले मुस्किलले १० जना मजदुर मात्र काममा आउने गरेका छन् । ‘काममा खटिने मजदुरको उचित स्वास्थ्य सुरक्षा गरिएको छ,’ उनले भने ।
दैनिक २५ टन चामल उत्पादन गर्दै आएको राधाकृष्ण खाद्य उद्योग मजदुर अभावकै कारण बन्द छ । उद्योगका अपरेटर सबै भारतीय थिए । उनीहरू घर फर्किए । ‘स्थानीय मजदुर पनि काममा नआउँदा तीन सातादेखि मिल बन्द छ,’ मिल सञ्चालक सुशील अग्रवालले भने, ‘मिलमा स्टक चामल पनि सकियो ।’
वीरगन्ज– लकडाउनका बेला वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरका अधिकांश उद्योग बन्द रहे पनि खाद्यान्न र औषधिका केही उद्योग सञ्चालनमा छन् । खाद्यान्न र औषधि उद्योगमध्ये ५० प्रतिशत मात्र सञ्चालनमा रहेको वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
आपूर्तिमा समस्या नआउन दिन खाद्यान्न र औषधिका उद्योग सञ्चालन गरिएको संघले बताएको छ । कुखुराको दाना उत्पादन गर्ने उद्योग पनि सञ्चालनमा छन् । सञ्चालनमा रहेका उद्योगले कर्मचारी/कामदारलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको भनाइ छ ।
‘आपूर्तिमा समस्या नहोस् भनेर खाद्यान्न उद्योग क्षमताको ५०/६० प्रतिशत मात्र सञ्चालनमा छन्,’ केडियाले भने, ‘केही अरू उद्योग पनि चलिरहेका छन् ।’ लकडाउन लम्बिएपछि उद्योगमा कार्यरत अधिकांश भारतीय कामदार घर फर्किएकाले उद्योग सञ्चालनमा समस्या आएको उनको भनाइ छ ।
खाद्यान्न र औषधिका उद्योग पूर्ण क्षमतामा सञ्चालनमा नआए पनि केही महिनासम्म खाद्यान्न र औषधिको मौज्दात अभाव नहुने वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता बताउँछन् । उनका अनुसार कच्चापदार्थ, कामदार अभाव र बैंकको कारोबारका कारण उद्योग सञ्चालनमा कठिनाइ छ । कोरिडोरमा करिब एक हजार उद्योगमध्ये खाद्यान्न र औषधिका तीन सय उद्योग छन् ।
