पार्टी प्यालेसमा अस्थायी तरकारी बजार

वैशाख ५, २०७७

विमल खतिवडा

काठमाडौँ — काठमाडौं महानगरपालिकाले महानगरका पार्टी प्यालेसलाई अस्थायी तरकारी बजार बनाउने भएको छ । कालिमाटीका व्यापारीहरूले खुला चोकमा पसल नराखेपछि पार्टी प्यालेसलाई अस्थायी बजार बनाउन महानगरसँग छलफल गरिरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले बताए ।

‘खुला ठाउँ हुँदा व्यापारीहरूलाई तरकारी पसल राख्न समस्या भएकाले उनीहरू फर्केका थिए,’ उनले भने, ‘चोकहरूमा सामान्य पूर्वाधार पनि छैन, ससाना कुराको पनि समस्या छ ।’ प्रयोगविहीन रहेका पार्टी प्यालेसलाई अस्थायी तरकारी बजारका रूपमा प्रयोग गर्न छलफल गरिरहेको उनले बताए । महानगरले तोकेकै ठाउँमा पायक पर्ने गरी पार्टी प्यालेसको खोजी गरिरहेको उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कालिमाटी र बल्खुको तरकारी तथा फलफूल बजारमा भीड कम गर्न चैत २४ गते अन्य ११ स्थानमा बिक्री केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सुरक्षा, स्वास्थ्य, कृषि र महानगरपालिकाका अधिकारी तथा तरकारी र फलफूल बिक्रेता संघका पदाधिकारी सम्मिलित बैठकले यस्तो निर्णय गरेको थियो । त्यसका लागि महानगरपालिकाले बल्खु र कालिमाटीबाहेक कलंकी, बाफल, स्वयम्भू, वनस्थली, गोंगबु, वसुन्धरा, गोपीकृष्ण, तीनकुने, लैनचौर, रत्नपार्क र कोटेश्वरचोकमा फलफूल र तरकारीका थोक बिक्री केन्द्र खोल्न ठाउँ उपलब्ध गराउने जनाएको थियो । 

महानगरपालिकाका कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले बुधबारदेखि तरकारी बिक्री केन्द्र सञ्चालन हुने दाबी गरेका थिए । तर कलंकी र स्वयम्भूमा मात्र सञ्चालनमा आए । अन्य स्थानमा आउन सकेनन् । कालिमाटी तरकारी बजार बन्द भएपछि तरकारी किन्नेहरूको भीड बल्खु बजारमा हुन थालेको थियो ।

शनिबारदेखि ११ ठाउँबाट खुद्रा बिक्री

महानगरपालिकाको समन्वयमा उपत्यकाका ११ स्थानबाट तरकारीको थोक बिक्री गरिने भएको छ । बन्द पार्टी प्यालेस र आसपासका खाली ठाउँमा शनिबारबाट खुद्रा तरकारी पसल सञ्चालनमा ल्याउन लागिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए । 

सामाजिक दूरी कायम हुने गरी तरकारी बिक्री गर्ने ठाउँको व्यवस्थापन गर्न खोजिएको उनको भनाइ छ । अनुगमनका लागि महानगरका कृषि प्रमुख हरिबहादुर भण्डारीको संयोजकत्वमा ७ जनाको समिति बनाइएको छ । समितिले उपभोक्तालाई तरकारी पसलबाट सुविधा दिइएको छ/छैन, सामाजिक दूरी कायम भएको छ/छैनलगायत अनुगमन गर्नेछ । 

अहिले कोरोनाले गर्दा देशभरका पार्टी प्यालेस बन्द छन् । लकडाउन हुनुअघिबाटै सबै पार्टी प्यालेस बन्द गरेको नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले बताए । ‘महानगरले बन्द रहेका पार्टी प्यालेसबाट तरकारी बिक्री गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘यसमा हाम्रो पनि सहमति छ ।’ देशभर महासंघमा आबद्ध ७ सय पार्टी प्यालेस तथा क्याटरिङ छन् । 

लकडाउन

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully