लकडाउनका कारण ढुवानी समस्या हुँदा केही पालिकामा भने खाद्यसंकट हुने चिन्ता
काठमाडौँ — दुर्गम क्षेत्रमा खाद्यान्नको मौज्दात पर्याप्त रहे पनि तराईमा भने समस्या हुने अनुमान गर्न थालिएको छ । दुर्गममा पर्ने २४ जिल्लामा प्रत्येक वर्ष औसतमा करिब ३३/३४ हजार क्विन्टल खाद्यान्न मौज्दात हुने गरेकामा गत चैत १८ सम्म ३९ हजार २ सय ६३ क्विन्टल मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी दिएको छ । ढुवानी निरन्तर भइरहेकाले दुगर्ममा अभाव नहुने कम्पनीका बिक्रीवितरण विभाग प्रमुख लालमोहन ठाकुरले बताए ।
‘ढुवानी निरन्तर छ । लकडाउनमा थप मौज्दात बढाएका छौं,’ उनले भने, ‘दुर्गममा समस्या छैन ।’ तराई क्षेत्रको आपूर्ति प्रणाली भने बिग्रेकाले केही समस्या हुन सक्ने कम्पनीले जनाएको छ । ठाकुरका अनुसार केही व्यापारीले चामल लुकाएका छन् । कम्पनीको चामल भने राहतका लागि बिक्री भइरहेको छ । यसले अभाव हुन सक्ने उनी बताउँछन् । ‘तराईमा करिब ८१ हजार क्विन्टल चामल मौज्दात छ । यो काठमाडौं उपत्यकासहितको तथ्यांक हो । लकडाउनका कारण आपूर्ति प्रणालीमै समस्या देखिएको छ,’ ठाकुरले भने, ‘तराईमा केही अभाव हुने आकलन गरेका छौं ।’
कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले पनि तराई क्षेत्रमा केही समस्या हुन सक्ने बताइन् । यसअघि तराई क्षेत्रमा कारागारका लागि मात्रै कम्पनीले खाद्यान्न बिक्री गर्थ्यो । लकडाउनका कारण सबै स्थानीय तहबाट चामलको माग भइरहेको केही समस्या हुन सक्ने उनको भनाइ छ ।
तर खाद्यान्न अभाव हुन नदिन तराई क्षेत्रमा आवश्यकताअनुसार ढुवानी भइरहेको उनले बताइन् । धानबाट प्राप्त हुने ९२ हजार ६ सय ३६ सहित खाद्य कम्पनीसँग २ लाख २१ हजार ५ सय ८९ हजार क्विन्टल चामल मौज्दात छ । बिर्तामोड कार्यालयमा ६ हजार ६ सय २१, विराटनगरमा २ हजार ३ सय ५५, लहानमा २ हजार ८ सय, जनकपुरमा १ सय ७ र वीरगन्जमा ८ हजार ८ सय ८६ क्विन्टल चामल छ । भैरहवामा ३ हजार २ सय २, पोखरामा १५ सय २४, सुर्खेतमा ९ हजार ७ सय, तुलसीपुरमा ८ सय ८८, नेपालगन्जमा २५ हजार ५ सय ८०, धनगढीमा १ हजार १० र काठमाडौंमा २२ हजार १७ क्विन्टल चामल मौज्दात छ । यसले करिब तीन महिना धान्ने कम्पनीले जनाएको छ । कर्णालीमा समस्या नभएको शाखा कार्यालय सुर्खेतका प्रबन्धक भीम थापाले बताए । ‘सुर्खेतमा मौज्दात पर्याप्त छ । लकडाउनका समयमा पनि त्यहाँ ढुवानी भइरहेको छ,’ उनले भने ।
ठेकेदार फरार हुँदा हुम्लाको ताजाकोट गाउँपालिकामा चामल ढुवानी हुन सकेको छैन । उक्त पालिकामा एलबी सप्लायर्सका सञ्चालक लोकेन्द्र भण्डारीले खाद्यान्न ढुवानी गर्दै आएको प्रबन्धक थापाले जानकारी दिए । तर लकडाउनका बेला ठेकेदार कम्पनीको सम्पर्कमा आएका छैनन् । ‘आठ सय क्विन्टल ढुवानी गर्नुपर्नेमा १ सय ३५ क्विन्टल मात्रै ढुवानी गरेका छन् । अहिले सम्पर्कमा आएका छैनन्,’ थापाले भने, ‘ढुवानी नगरे कालोसूचीमा राख्ने भनेर चिठी पठाइसकेका छौं ।’
सुदूरपश्चिमको बैतडी, डडेलधुरालगायत क्षेत्रमा पनि केही समस्या भएको कम्पनीले जनाएको छ । बैतडीको कुलाउ गाउँपालिकामा चामल ढुवानी हुन सकेको छैन । कम्पनीका अनुसार ढुवानी गर्ने ठेकेदारले चामलको मूल्य घटाउन माग गरिरहेको छ । उक्त क्षेत्रमा कम्पनीले मोटा चामल करिब ४५ रुपैयाँमा बिक्री गर्दै आएको छ । तर ठेकेदारले प्रतिकिलो ४० रुपैयाँ हुनुपर्ने भनेको छ । जसले गर्दा ढुवानीमा केही समस्या भएको ठाकुरले बताए ।
लकडाउनका कारण केही पालिकाले चामल ढुवानीमा अवरोध गरेका छन् । जुम्लादेखि काइगाई डोल्पामा स्थानीय प्रशासनले ढुवानीमा रोक लगाएको थापाले बताए । जिल्ला प्रशासन कार्यालयको अनुरोधपछि मात्र अहिले ढुवानी पुनः सुरु भएको उनको भनाइ छ ।
‘हुम्लामा करिब चार हजार क्विन्टल चामल मौज्दात हुने गरेकामा ६ हजार क्विन्टल छ,’ उनले भने । बझाङको माथिल्लो उत्तरी सीमाको साइपाल गाउँपालिकामा पनि चामलको समस्या देखिएको थियो । उक्त पालिका सबैभन्दा दुर्गम क्षेत्र हो । उक्त क्षेत्रमा फोनसमेत नलाग्ने बिक्रीवितरण विभाग प्रमुख ठाकुरले जानकारी दिए । ‘उक्त गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ मा चामलको समस्या थियो । १ हजार ६ सय ५६ क्विन्टल चामल पठाएका थियौं,’ ठाकुरले भने । डिपोमा कर्मचारी नहुँदा बैतडीमा चालम वितरणमा समस्या भइरहेको उनले बताए ।
कर्मचारी नभएकै कारण ठेकेदारहरूले ढुवानी गरेर चामल बिक्री गर्दै आएका छन् । राहत बाँड्न बैतडीका केही पालिकाले ठेकेदारबाट चामल खरिद गरी राहत दिन चाहेको कम्पनीले जनाएको छ । ‘बैतडी र दार्चुलाको खण्डेश्वरीलगायत केही डिपोमा कर्मचारी छैनन् । ठेकेदारले लगेर आफैंले बेच्ने गरेका छन्,’ ठाकुरले भने, ‘अहिले केही पालिकाले ठेकेदारबाट चामल सबै किनेर उपभोक्तालाई निःशुल्क वितरण गर्ने बताएका छन् । गलत प्रयोजनमा उपयोग नहोस् भन्ने उद्देश्य हो । सीडीओबाट पत्र आएपछि अनुमति दिन्छौं ।’
कम्पनीले चैत २८ सम्म राहतका लागि ११ हजार ८ सय ९४ क्विन्टल चामल बिक्री गरेको छ । विराटनगर कार्यालयबाट सबैभन्दा बढी ३ हजार ५ सय ५, लहानबाट २ हजार ९ सय र सुर्खेतबाट २ हजार २ सय ८१ क्विन्टल चामल बिक्री भएको कम्पनीले जनाएको छ । तुलसीपुर कार्यालयबाट १ हजार १ सय ५७, जुम्लाबाट ४ सय ३१, नेपालगन्जबाट ३ सय ७४, बाजुराको कोल्टीबाट १ सय ५०, बाजुराको मार्तडीबाट एक सय, दैलेखबाट एक सय, खोटाङको ऐंसेलुखर्कबाट ८४ र सोलुखुम्बुबाट १२ क्विन्टल चामल बिक्री भएको कम्पनीले बताएको छ ।
ताप्लेजुङ, सखुवासभा, भोजपुर, सोलुखुम्बु, ओलखढुंगा, खोटाङ, गोरखा, मनाङ, मुस्ताङ, रोल्पा, पूर्वी रुकुम, पश्चिम रुकुम, दैलेख, हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, जाजरकोट, बझाङ, बाजुरा, अछाम, दार्चुला र बैतडी
