हेलिकप्टर उडान दैनिक ७० प्रतिशतले कटौती

दैनिक १ करोड २५ लाखले चार्टर आम्दानी घट्दो : संघ

फाल्गुन २६, २०७६

सुरज कुँवर

काठमाडौँ — कोरोनाको प्रभावका कारण पर्यटन बजार सुस्ताउँदा उद्धारलगायत पर्यटकीय गतिविधिमा अत्याधिक प्रयोग हुने हेलिकप्टर उडान ७० प्रतिशतले घटेको छ । आर्थिक रूपमा व्यवसायीहरूले दैनिक १ करोड २५ लाख रुपैयाँले कारोबारमा कमी आइरहेको बताएका छन्।

आन्तरिक उडानमा रहेका निजी हेलिकप्टर, वायुसेवा संचालकहरूको संगठन आवनका प्रवक्ता योगराज कँडेलले गत वर्षको यही सिजन (मार्च) महिनाको दाजोमा यसपटक हेलिकप्टर चार्टर उडान ७० प्रतिशतले घटेका बताए । उनका अनुसार यो दर अझै बढ्ने क्रममा छ । ‘खास पर्यटकीय सिजन सुरु भइसकेको छैन,’ हेलि एभरेष्ट एयरका सीईओ समेत रहेका कँडेलले भने, ‘अहिले सिजन सुरु नहुँदै हेलिकप्टर जति घन्टा उड्‍नुपर्ने हो त्यती उड्‍न पाएका छैनन् ।’


नेपालमा अप्रिल (चैत–वैशाख) मा उच्च हिमाली भेगमा पर्यटक पदयात्रा तथा हिमाल आरोहण जाने मुख्य सिजन हो । यो सिजनमा हेलिकप्टर चार्टर अत्याधिक हुन्छ ।


नागरिक उड्डयन प्राधिकरणका अनुसार, नेपालमा हाल १० वटा निजी हेलिकप्टर कम्पनी उडानमा छन् । यीसँग ३३ वटा हेलिकप्टर छन् । ‘गत वर्ष हामीले यसैबेला एउटा हेलिकप्टर दिनमा ३ घन्टासम्म उडायौं,’ कँडेलले भने, ‘अहिले दिनमा १ घन्टा उडाउन पनि मुस्किल छ, त्यसमा पनि ३० मध्ये दिनमा १० वटा हेलिकप्टरमात्रैले काम पाएका छन् ।’


हेलिकप्टर कम्पनीले प्रतिघन्टा कम्तीमा डेढ लाख रुपैयाँ भाडा लिने गरेका छन् । कँडेलले यो दर अनुसार, अहिले दैनिक हेलिकप्टरले चार्टर उडानबाट १५ लाख रुपैयाँ आम्दानी गरीरहेको बताए जुन गत वर्षको दाजोमा १ करोड २५ लाख रुपैयाँ दैनिक कम हो ।

सिमिकोट मानसरोवर तीर्थयात्राको सिजनमा नेपाली हेलिकप्टर बिहान ६ बजेदेखी बेलुकी ६ बजेसम्म उडानमा सक्रिय रहन्थे । नेपालको नागरिक उड्‍डयन नियममा एउटा पाइलटले ८ घन्टाभन्दा बढी हेलिकप्टर उडाउन निषेध गरेको छ । तर हेलिकप्टरलाई भने उडानको समय सिमा छैन । पर्यटकीय सिजन सुरु हुँदा एउटा पाइलटको समय सकिएपछि अर्को पाइलटले हेलिकप्टर उडाउने गर्छन्।


संघको तथ्यांक अनुसार, नेपालमा निजी हेलिकप्टर कम्पनीमा कम्तीमा १ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रको लगानी छ । हेलिकप्टर क्षेत्रमा मात्रै ७ सय २३ जना प्रत्यक्ष रोजगारीमा जोडिएका छन् । व्यापारमा कमी भएसँगै हेलिकप्टरले कर्मचारी कटौती गर्न थालिसकेका छैनन् ।


निजी वायुसेवाहरुमा कम्तीमा साढे ९ खर्ब लगानी छ । यी दुवैको कुल लगानी ११ खर्ब रहेको छ । पर्यटन क्षेत्रमा एयरलायन्सपछि धेरै लगानी हुने होटल क्षेत्र रहेको छ । जसमा १० खर्ब हाराहारी लगानी रहेको अनुमान छ ।



पर्यटन श्रमिक कटौती नगर्न माग


यसैबीच कोरोनाका कारण एयरलाइन्सलगायत पर्यटन श्रमिक कटौती नगर्न पर्यटन क्षेत्रको सबभन्दा ठूलो श्रमिक संगठन युनिट्राभले निजी क्षेत्रसित माग गरेको छ । उसले विज्ञप्ति जारी गर्दै चीनबाट फैलिएको कोरोना भाइरसको कारण देखाई पर्यटन श्रमिकको कटौती गर्न एयरलायन्सलगायत पर्यटन क्षेत्रमा रहेका कम्पनीहरुले सरकारसँग अनुमति मागेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

‘एयरलाइन्सदेखि अन्य क्षेत्रमा कर्मचारी कटौती, पारिश्रमिक कटौती, सेवा सुविधामा कटौतीदेखि बेतलबी बिदा दिनेसम्मका विषय सार्वजनिक भएका छन् । हाम्रो युनियन यूनिट्राभले यस विषयलाई नजिकबाट नियालिरहेको छ । सतर्कता अपनाउनुभन्दा पनि बढीभन्दा बढी हौवा फिँजाएर पर्यटन क्षेत्रका ट्रेकिङ, ट्राभल्स, एयरलाइन्स, संस्कृतिलगायत अन्य क्षेत्रका संघसंस्थाले सामाजिक सुरक्षा र श्रम ऐनले लागु गरेको व्यवस्था विपरित श्रमिक कटौती, बेतलबी बिदा, पारिश्रमिक कटौती र अन्य सेवा सुविधा कटौती गर्ने एकतर्फी भनाई आएकाले यसमा हाम्रो संगठन यूनिट्राभलाई मान्य हुने छैन,’ संगठनले सोमबार जारी गरेको विज्ञप्तिमा भनेको छ ।

पर्यटन क्षेत्रमा रहेका होटल, ट्राभल, ट्रेकिङ, राफ्टीङलगायतका ९ वटा संस्थाले पर्यटन बोर्डमार्फत सरकारलाई कामदार कटौतीका लागि शुक्रबार ज्ञापन बुझाएका थिए ।

कोरोना भाइरस

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully